​​​​​​​रोहित पौडेलले फिनिक्स कलेजमा सुरु गरे व्यवस्थापन अध्ययन, कलेजले दियो पूर्ण छात्रवृत्ति

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले क्रिकेट खेलसँगै शैक्षिक यात्रालाई पनि सँगसँगै अघि बढाउने भएका छन् । क्रिकेट खेलमा शिखर चुमिरहेका कप्तान पौडेलले अब व्यवस्थापन अध्ययनमार्फत आफ्नो करियरका नयाँ आयाम खोल्न लागेको फिनिक्स कलेजले जनाएको छ । क्रिकेटको स्टारडम बीच पनि पौडेलले शैक्षिक यात्रालाई प्राथमिकता दिएका पौडेललाई स्वागत गर्दै कलेजले १०० प्रतिशत छात्रबृत्ति उपलब्ध गराएको  छ । पौडेलजस्तो सफल, अनुशासित र प्रेरणादायी व्यक्तित्व कलेज परिवारमा जोडिनुले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन र निरन्तर परिश्रमबारे थप उर्जा मिल्ने फिनिक्स कलेजले विश्वास व्यक्त छ । कलेजका नेटवर्क निर्देशक राजु टण्डनले भने, 'हामी देशका लागि योगदान पुर्याउने प्रतिभाशाली खेलाडीहरूको शैक्षिक यात्रामा साथ दिन पाउँदा निकै हर्षित छौँ । शिक्षा र खेलकुद एकसाथ अघि बढ्न सक्छन् भन्ने उदाहरण दिन हामी सधैं तत्पर छौँ ।' यसअघि पनि फिनिक्स कलेजले राष्ट्रिय टिमका अन्य खेलाडीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै खेलकुद र शिक्षा दुबै क्षेत्रको सन्तुलित विकासलाई प्रोत्साहन गर्दै आएको छ ।

आज काठमाडौं गोर्खाज र साबिक उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाडौं गोर्खाज र साबिक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौं दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद सुरुआत गर्ने लक्ष्यमा रहनेछ ।  काठमाडौंले उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । काठमाडौंको नेतृत्व करण केसीले गर्दै छन् । उनी नेतृत्वको टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर (विकेट किपर), सन्नी पटेल, जोन सिम्पसन (विकेट किपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटा समावेश छन् ।  सुदूरपश्चिम रोयल्सको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तान समेत रहेका दीपेन्द्र सिंह ऐरीले गर्दैछन् । उनी नेतृत्वको टोलीमा विनोद भण्डारी (विकेट किपर), अविनाश बोहरा, दीपक बोहरा (विकेट किपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, इशान पाण्डे, टेक रावत (विकेट किपर), नरेन साउद, हर्मित सिंह, आरिफ शेख, दीपेन्द्र थापा (विकेट किपर) र हिम्मत महरा छन् ।  काठमाडौंको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक मोन्टी देशाइ र सुदूरपश्चिमको प्रशिक्षक जगत टमाटा रहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि जारी प्रतियोगितामा ८ टोली सहभागी छन् ।

एनपीएल: विराटनगरविरुद्ध टस जितेर बलिङ गर्दै पोखरा

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिए । एनपीएल प्रतियोगिताको विजेता टिमले गतवर्ष जस्तै यस वर्ष पनि १ करोड ११ लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टिमले ५१ लाख तथा तेस्रो हुने टिमले २५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।  पोखराले पहिलो संस्करणको भेटमा विराटनगरविरुद्ध सुपर ओभरमा जित निकालेको थियो ।