काठमाडौं । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतलगायत विभिन्न जिल्लामा आयोजना हुने भएको छ ।
प्रतियोगिता आयोजना गर्ने नेपाल सरकारको निर्णयलाई मूल आयोजक समितिले स्वागत गर्दै सरकारलाई धन्यवाद दिएको छ । प्रत्येक दुई वर्षमा चक्रीय प्रणालीअनुसार आयोजना हुँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिताको यसपटकको जिम्मेवारी कर्णाली प्रदेशले पाएको हो ।
स्थानीय तहदेखि खेल प्रतिभाको खोजी, पहिचान र उत्पादन गर्दै नेपाली खेलकुदको विकास तथा विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो । प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सञ्चालन गर्न पूर्वतयारी, व्यवस्थापन तथा सञ्चालनका लागि कार्यसम्पादन समितिलाई आवश्यक निर्देशन दिइएको छ ।
दसौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ गरी ११ टोली सहभागी हुनेछन् । प्रतियोगितामा ३२ खेल विधा समावेश गरिनेछ ।
नेपाल सरकारबाट स्वीकृत बजेट तथा खर्चसम्बन्धी मापदण्डअनुसार प्रतियोगिताको खर्च व्यवस्थापन गरिनेछ । साथै, पहिलो पटक आयोजना हुन लागेको प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक काम अघि बढाइने भएको छ ।
बैठकलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुनेमा ढुक्क हुन आग्रह गरे । उनले प्रतियोगिताको उत्सव आजैदेखि सुरु भएको उल्लेख गर्दै मंसिर १६ गतेदेखि भने प्रतियोगिता औपचारिक रूपमा सञ्चालन हुने बताए ।
मन्त्री पोखरेलले अघिल्ला राष्ट्रिय खेलकुदभन्दा यसपटकको प्रतियोगिता प्रभावकारी रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरे । प्रतियोगिता सफल बनाउन तीन तहका सरकार, सरोकारवाला तथा सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले मूल आयोजक समितिको बैठकले दसौँ राष्ट्रिय खेलकुद आयोजना हुने सुनिश्चितता गरेको बताए । प्रतियोगिता सफलतापूर्वक आयोजना गरेपछि कर्णाली प्रदेश सक्षम छ भन्ने सन्देश जाने उनको भनाइ छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले दसौँ राष्ट्रिय खेलकुद निर्धारित समयमै भव्य र सभ्य रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी भइरहेको बताए ।
प्रतियोगितालाई प्रभावकारी र व्यवस्थित बनाउन निजी क्षेत्र, संघसंस्था तथा अन्य सरोकारवाला निकायको सहभागिता बढाइने भएको छ । यसका लागि सार्वजनिक-निजी साझेदारीको अवधारणा अपनाउँदै सम्भावित प्रायोजकसँग समझदारी गरी कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।
प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ बमोजिम विभिन्न विषयगत उपसमिति गठन गरिनेछ । दसौँ राष्ट्रिय खेलकुद तथा प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक काम गर्न कार्यसम्पादन समितिलाई अधिकारसमेत दिइएको छ ।