जनकपुरद्वारा काठमाण्डू आठ विकेटले पराजित

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा जितको खाता खोलेको छ ।

उसले काठमाण्डू गोर्खाजविरुद्ध आठ विकेटको जित निकालेको हो ।

जनकपुरले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाण्डूले प्रस्तुत गरेको ११६ रनको लक्ष्य १७.२ ओभरमा पूरा गर्यो । 

जनकपुरका लागि मोइन अलीले ५८ रन र सैफ हसनले ४० रन बनाए । 

त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाण्डु १९.३ ओभरमा ११५ रनमै अलआउट भएको थियो ।

उसका लागि भीम सार्कीले ३३, राशिद खानले १७, स्मित पटेलले १३ तथा सुमित महर्जनले १० रन जोडे ।

काठमाडौंको इनिङ्स ध्वस्त पार्न राहुल यादव एक्लैले चार विकेट लिए । उनले अघिल्लो खेलमा पनि कर्णाली याक्सविरुद्ध २ विकेट लिएका थिए ।

त्यस्तै, सैफ हसनले दुई तथा हरमीत सिंह, मोइन अली र ललित राजवंशीले एक–एक विकेट लिए ।

खेलमा जित हासिल गरेसँगै जनकपुरले दुई अंक जोडेको छ । यसअघि जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।

Share News