आज विराटनगर र जनकपुर, सुदूरपश्चिम र कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे साबिक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छन् । अनिल साहका कप्तानीमा रहेको जनकपुर पहिलो खेलमै काठमाडौं गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो । उपाधि दावेदारी प्रस्तुत गर्न जनकपुरलाई विराटनगरविरुद्ध पुनरागमन गर्दै लय समाउने चुनौती छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार तेस्रो खेल जित्ने लक्ष्यमा छ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौं विरुद्ध जित दर्ता गरेको थियो । यी दुईबीच गत संस्करण उद्घाटन खेलमा भएको भेटमा जनकपुरले ८ विकेटको सहज जित निकालेको थियो । आज उक्त बदला दिने सोच विराटनगरको रहने छ । दोस्रो खेलमा आजै दिपेन्द्र सिंह ऐरीको कप्तानीको सुदूरपश्चिम र सोमपाल कामी नेतृत्वको कर्णाली आमनेसामने हुनेछन् । गत संस्करण उत्कृष्ट प्रदर्शनका बाबजुद फाइनलमा स्तब्ध बनेको सुदूरपश्चिम यस पटक उपाधि जित्ने दाउमा छ । यता, पहिलो खेलमा चितवन राइनोजसँगको हारबाट जारी संस्करण सुरु गरेको कर्णालीले शनिबार लुम्बिनी लायन्सलाई हराउँदै उत्कृष्ट पुनरागमन गर्यो । ९ विकेटको रबाफिलो जित निकाल्ने क्रममा कर्णालीका मार्क वाटले विष्फोटक शतकीय पारी खेल्दै जित दिलाएका थिए । गत संस्करण रनरेटमा माथि पर्दै प्लेअफ पुगेको कर्णाली यस पटक सहज यात्राको चाहनामा छ । गत संस्करणमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले स्तब्ध पारेको थियो । आज उक्त हार दोहोर्याउने पक्षमा कर्णाली हुनेछैन । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गते सुरू भएको प्रतियोगिता मङ्सिर २७ मा समापन हुनेछ ।
एनपिएलले कीर्तिपुरमा आर्थिक गतिविधि बढ्यो, व्यवसायीलाई भ्याइनभ्याइ
कीर्तिपुर । कीर्तिपुरको उमामहेशवरस्थित क्वाचो खाजा घरमा एक सातायता मानिसहरुको चहलपहल पहिले भन्दा निकै बाक्लो भएको छ । पहिले दिनमा मानिसहरुको सामान्य चहलपहल हुने गरेको भएपनि अहिले भने खाजा खाने ग्राहक बढेपछि खाजा घरका सञ्चालक माइला महर्जनलाई भ्याइनभ्याइ भएको छ । यसरी ग्राहक ह्वात्तै बढ्नुको कारण हो, नेपाल प्रिमियर लिग (एनपिएल) । यही मङ्सिर १ गतेदेखि क्रिकेटको महाकुम्भ अर्थात एनपिएल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु भएको छ । जहाँ हजारौँ दर्शक क्रिकेटको साक्षी बन्न पुग्न थालेका छन् । एनपिएलका लागि जाने दर्शकहरु कीर्तिपुरबासीका लागि आर्थिक आर्जनको माध्यम बनेका छन् । खास गरी मौलिक नेवारी खाना, कृषि उपज र हस्तकला सामग्रीको बजारीकरणका लागि एनपिएल सहयोगी बनेको उनीहरुको बुझाइ छ । कीर्तिपुरको प्रसिद्ध लहना नेवारी रेस्टुरेन्टमा पनि ग्राहकको भीड बढेको सञ्चालक राजमान महर्जनले बताए । 'पोहर साल हरेक दिन जसो जित्ने टोलीका समर्थकहरुले रेष्टुरेन्ट भरिएको हुन्थ्यो, यसपाली पनि संख्या बढ्दो छ', उनले भने । कीर्तिपुरमा रहेका ८० वटा रेस्टुरेन्टमध्ये अधिकांशमा नेवारी परिकार पाइन्छ । रेष्टरेन्टहरुले पनि ग्राहक बढाउनका लागि ठूलो स्क्रिनमा खेल देखाउन थालेका छन् । ससः नेवारी रेस्टुरेन्टका प्रवन्धक रिजन महर्जन एनपिएल कीर्तिपुरको व्यवसाय बढाउने माध्यम भएको बताए । 'हामीले बिक्री गर्ने परिकारमा सकेसम्म स्थानीय उत्पादन नै प्रयोग गर्छौ, परिकारसँगै हामीले पराल र मकैको खोस्टाबाट बनेका हस्तकलाका सामग्री पनि प्रदर्शनीका लागि राखेका छौँ,' उनले भने । उक्त रेष्टुरेन्टले एनपिएल अवधिभर खानामा १० प्रतिशत छुटको पनि व्यवस्था गरेको छ ।
एनपिएल : लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्ससामु जीतका लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५६ रन जोड्यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे । यस्तै, रुबेन ट्रम्पलमान २९ रनमा अविजित रहे । जोहानीस जोनाथन स्मितले २३ रन तथा डी’आर्की शर्टले १९ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ कर्णालीका नन्दन यादवले दुई विकेट लिए भने सोमपाल कामी, गुलशन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक/एक विकेट लिए । आजै हुने दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौं गोर्खाज र विराटनगर किङ्स खेल्दैछन् ।