एनपीएलमा डीआरएस लागू हुने, रनआउटदेखि नो बलसम्म रिभ्यू गर्न मिल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत यसपटकको एनपीएलमा डीआरएस प्रयोग गरिने जानकारी दिएको हो ।

क्यानका सचिव पारस खड्काले यसअघि नै एनपीएलमा पहिलोपटक डीआरएस भित्र्याउने तयारी भइरहेको बताएका थिए । त्यसका लागि दुई कम्पनीको प्रविधि परीक्षण गरिएको र त्यसको तथ्यपरकता मूल्यांकनपछि अन्तिम निर्णय गरिने उनले बताएका थिए ।

डीआरएस क्रिकेटमा अम्पायरको निर्णयमाथि पुनरावलोकन गर्न प्रयोग गरिने प्रविधि हो । अम्पायरको निर्णय गलत भएको आशंका लागेमा खेलाडीले रिभ्यू माग्न सक्छन् । यसले खेलको निर्णयलाई थप तथ्यपरक बनाउन सहयोग गर्छ ।

क्यानका अनुसार एनपीएलमा एलबीडब्लु (लेग बिफोर विकेट) को निर्णय पुनरावलोकन गर्न थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग हुनेछ। त्यसैगरी रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णय पनि रिभ्यू गर्न सकिनेछ ।

यसपटक ब्याटमा बल लागेको छ वा छैन भन्ने पत्ता लगाउन कृत्रिम बुद्धिमत्ता (एआई) आधारित एज डिटेक्सन प्रविधिसमेत प्रयोग गरिनेछ । साथै बलको उचाइका आधारमा वाइडको निर्णय जाँच्ने, छक्काको दूरी र उचाइ मापन गर्ने तथा बलिङसम्बन्धी अन्य विश्लेषणात्मक विवरण पनि उपलब्ध हुने क्यानले जनाएको छ ।

डीआरएस र अन्य प्रविधिको प्रयोगले एनपीएलमा अम्पायरका निर्णयलाई थप विश्वसनीय बनाउन र खेलको गुणस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

Share News