एनपीएलमा विश्व क्रिकेटका ४८ स्टारको जमघट

विदेशी खेलाडीमध्ये कुन टोलीमा को कति बलियो ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा यसपटक विश्व क्रिकेटका चर्चित खेलाडीहरूको उपस्थितिले प्रतियोगितालाई थप आकर्षक बनाउने भएको छ । यो समाचार पार्दासम्म यस पटककको एनपीएलमा ४८ जना विदेशी खेलाडी अनुबन्ध भएका छन् । 

अस्ट्रेलियाका विश्वकप विजेता ओपनर डेभिड वार्नरदेखि वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल, दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलर र बंगलादेशका चर्चित अलराउन्डर शकिब अल हसनसम्मका खेलाडीले नेपाली मैदानमा आफ्नो क्षमता देखाउँदैछन् । 

कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगितामा आठ टोली प्रतिस्पर्धा गर्दैछन् । यसपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता प्राप्त हुनु र निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रयोग गरिनुले पनि प्रतियोगिताको महत्व बढाएको छ । 

विदेशी खेलाडीको अनुभवले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा नजिकबाट बुझ्ने अवसरसमेत दिने अपेक्षा गरिएको छ । 

विदेशी खेलाडीको नाम र अनुभव हेर्दा कुनै टोली ब्याटिङमा, कुनै अलराउन्ड क्षमतामा र कुनै बलिङमा बलियो देखिन्छ । यद्यपि चर्चित खेलाडी टोलीमा हुनु मात्रै उपाधिको ग्यारेन्टी होइन । उनीहरूको उपलब्धता, नेपाली खेलाडीसँगको तालमेल, कीर्तिपुरको पिच र खेलको दबाब सम्हाल्ने क्षमताले नतिजा निर्धारण गर्नेछ । 

काठमाडौं गोर्खाजको वार्नरमाथि विश्वास 

डेभिड वार्नर काठमाडौं गोर्खाजका सबैभन्दा चर्चित विदेशी खेलाडी हुन् ।  उनी अस्ट्रेलियाले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप तथा सन् २०२१ मा टी–२० विश्वकप जित्दा टोलीका महत्वपूर्ण सदस्य थिए । सन् २०२१ को टी–२० विश्वकपमा उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । 

पावरप्लेमा आक्रामक सुरुआत, तीव्र गतिमा रन बनाउने क्षमता र ठूला प्रतियोगिताको अनुभव उनीसँग छ । वार्नरले राम्रो सुरुआत दिलाएमा गोर्खाजको मध्यक्रममाथिको दबाब घट्न सक्छ । काठमाडौंको गोर्खाजले चार जना विदेशी खेलाडी भित्र्याएको छ । 

कर्णाली याक्स : मिलरको विस्फोटक ब्याटिङ र फरहानको रन बनाउने क्षमता


डेभिड मिलर यस पटकको एनपीएलमा कर्णाली याक्सबाट खेल्दैछन् । मिलर टी-२० क्रिकेटका अनुभवी मध्यक्रमका ब्याटर हुन् । उनले ५८४ टी-२० खेलमा १२ हजारभन्दा बढी रन बनाएका छन् । दक्षिण अफ्रिकाका लागि उनले १८० एकदिवसीय र १४० टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । 

दबाबमा रन बनाउने, स्पिन र तीव्र गतिका बलरविरुद्ध आक्रामक खेल्ने तथा अन्तिम ओभरमा खेलको दिशा बदल्ने क्षमता उनीसँग छ । कर्णालीले पाकिस्तानका साहिबजादा फरहान र हुसेन तलतलाई पनि अनुबन्ध गरेको छ । फरहानले १८६ टी–२० खेलमा ५ हजार ७७५ रन बनाएको विवरण छ। उनको स्ट्राइक रेट १४० भन्दा माथि छ । उनी रन बनाउने क्षमताका कारण टोलीका महत्वपूर्ण ब्याटर हुन सक्छन् । 

हुसेन तलत पाकिस्तानका अलराउन्डर हुन् ।  उनले ब्याटिङ र बलिङ दुवैतर्फ योगदान दिन सक्छन् । मिलरको अनुभव, फरहानको रन बनाउने क्षमता र तलतको अलराउन्ड भूमिकाले कर्णालीको ब्याटिङलाई बलियो बनाउने सम्भावना छ । कर्णालीले ६ जना विदेशी खेलाडी अनुबन्ध गरेको छ । 

विराटनगर किंग्स : रसेलको शक्ति र असलंकाको ब्याटिङ

वेस्ट इन्डिजका आन्द्रे रसेल विराटनगरबाट खेल्दैछन् । रसेल विश्व क्रिकेटका चर्चित टी–२० अलराउन्डर हुन् । उनले वेस्ट इन्डिजलाई सन् २०१२ र २०१६ को टी–२० विश्वकप जिताउन योगदान दिएका थिए । उनले ६११ टी–२० खेलमा ९ हजार ९३३ रन बनाएका छन् र उनको स्ट्राइक रेट १६६ भन्दा माथि छ । 

छक्का प्रहार गर्ने क्षमता, तीव्र गतिका बलिङ, अन्तिम ओभरमा रन बनाउने र बलिङबाट विकेट लिने क्षमता उनीसँग छ । विराटनगरले श्रीलंकाका चरिथ असलंकालाई पनि टोलीमा भित्र्याएको छ । असलंका ब्याटिङमा भरपर्दा खेलाडी हुन् र आवश्यक पर्दा अलराउन्ड भूमिका पनि निभाउन सक्छन् । 

श्रीलंकाका पूर्व कप्तान एन्जेलो म्याथ्युजको अनुभव तथा अमेरिकी अलराउन्डर शुभम रञ्जने र श्रीलंकाली मूलका अमेरिकी ब्याटर शेहान जयसूर्याको उपस्थितिले टोलीमा विविधता थप्ने देखिन्छ ।  
 
विराटनगरको मुख्य शक्ति ब्याटिङमा देखिन्छ। रसेलले मध्यक्रममा विस्फोटक रन बनाउन सके र असलंकाले इनिङ सम्हाले भने टोलीले ठूलो योगफल बनाउन सक्छ । तर, तीव्र गतिका बलर र स्पिनरविरुद्धको प्रदर्शनले यसको वास्तविक सन्तुलन निर्धारण गर्नेछ । विराटनगरले ८ जना विदेशी खेलाडी भित्र्याएको छ । 

शकिबको अलराउन्ड अनुभवमा पोखरा एभेन्जर्स

बंगलादेशका शकिब अल हसन अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी अलराउन्डर हुन् । उनले ४८३ टी-२० खेलमा ७ हजार ८८४ रन बनाउनुका साथै ५२१ विकेट लिएका छन् । ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने भएकाले उनी टोलीका बहुउपयोगी खेलाडी हुन् । 

स्पिन बलिङ, मध्यक्रममा रन बनाउने क्षमता, खेलको गति नियन्त्रण र अनुभवका आधारमा रणनीति लागू गर्ने खुबी उनीमा छ । पोखराले बंगलादेशकै महेदी हसन र मोहम्मद सैफुद्दिन तथा श्रीलंकाका धनञ्जय लक्षान र चमिका करुणारत्नेलाई पनि अनुबन्ध गरेको छ । 

महेदी स्पिन बलिङका विकल्प हुन् भने सैफुद्दिन तीव्र गतिका बलिङ र ब्याटिङ दुवैमा योगदान दिन सक्ने खेलाडी हुन् । लक्षान र करुणारत्नेले अलराउन्ड क्षमता थप्छन् । यसले पोखरालाई ब्याटिङ र बलिङ दुवैमा खेलको परिस्थितिअनुसार टोली संयोजन बदल्ने अवसर दिन्छ ।

विदेशी खेलाडीले भरियो जनकपुर बोल्ट्स 

जनकपुर बोल्ट्सले ११ जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा सबैभन्दा प्रभावशाली खेलाडी हुन् इंग्ल्यान्डका मोइन अली । उनी इंग्ल्यान्डका अनुभवी अलराउन्डर हुन् । उनी सन् २०१९ को एकदिवसीय विश्वकप र सन् २०२२ को टी-२० विश्वकप जित्ने इंग्ल्यान्ड टोलीका सदस्य थिए ।

बायाँहाते ब्याटिङ, अफ स्पिन, मध्यक्रममा रन बनाउने क्षमता र खेलको अवस्थाअनुसार भूमिका बदल्न सक्ने अनुभव उनीसँग छ । जनकपुरले न्युजिल्यान्डका जिमी निशम, पाकिस्तानका इफ्तिखार अहमद, अमेरिकी अलराउन्डर हरमित सिंह र पाकिस्तानका तीव्र गतिका बलर हुनेन शाहलाई पनि अनुबन्ध गरेको छ । 

निशम जनकपुरका लागि अपरिचित खेलाडी होइनन् । पहिलो संस्करणमा उनले नौ खेलमा २४७ रन बनाएका थिए र उनको स्ट्राइक रेट प्रतियोगिताकै उच्चमध्ये एक, करिब १९६ रहेको थियो । यसले उनलाई तीव्र गतिमा रन बनाउने क्षमताका लागि परिचित गराउँछ । 

इफ्तिखारको मध्यक्रमको ब्याटिङ, हरमितको अलराउन्ड क्षमता र हुनेनको तीव्र गतिका बलिङले जनकपुरलाई फरक परिस्थितिमा विकल्प दिन सक्छ । पहिलो संस्करणको उपाधि जितेको टोली भएकाले जनकपुरको लक्ष्य यसपटक पनि आफ्नो प्रतिस्पर्धात्मक क्षमता कायम राख्नु हुनेछ । 

रदरफोर्डको म्याच फिनिसिङ भरोसमा सुदूरपश्चिम रोयल्स

रदरफोर्ड टी–२० क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले क्यारेबियन प्रिमियर लिग सन् २०२१ मा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स तथा पाकिस्तान सुपर लिगमा कराँची किंग्सको उपाधि जित्ने टोलीबाट खेलेका थिए । उनले २८३ टी–२० खेलमा ५ हजार ९० रन बनाएका छन् । 

मध्यक्रममा आक्रामक ब्याटिङ, छक्का प्रहार गर्ने क्षमता र कठिन अवस्थामा खेललाई अन्तिमसम्म पु¥याउने खुबी उनीसँग छ । सुदूरपश्चिमले न्युजिल्यान्डका स्कट कुगेलेन, इंग्ल्यान्डका सैफ जैब र स्कटल्यान्डका ब्रान्डन म्याकमुलनलाई पनि अनुबन्ध गरेको छ । 

कुगेलेन तीव्र गतिका बलर हुन् । जैब र म्याकमुलन अलराउन्डरका रूपमा ब्याटिङ तथा बलिङ दुवैमा योगदान दिन सक्छन् । पहिलो दुई संस्करणमा उपविजेता बनेको सुदूरपश्चिमका लागि यो संयोजन उपाधिको दाबेदारी बलियो बनाउने आधार हुन सक्छ । तर, लगातार तेस्रो पटक फाइनल पुग्न टोलीले नेपाली खेलाडीसँग विदेशी खेलाडीको तालमेल राम्रो बनाउनुपर्नेछ ।

लुम्बिनी लायन्स : उपाधि जोगाउने लक्ष्य, विविध बलिङ विकल्प

लुम्बिनी लायन्सको सबैभन्दा भरपर्दो र प्रभावशाली विदेशी खेलाडी हुन् नामिबियाका रुबेन ट्रम्पलम्यान । ट्रम्पलम्यान बायाँहाते तीव्र गतिका बलर हुन् । उनी अघिल्लो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीमध्ये एक थिए र लुम्बिनीले उनलाई टोलीमा निरन्तरता दिएको छ । 


नयाँ बलबाट दबाब सिर्जना गर्ने, बायाँहाते कोणबाट बलिङ गर्ने र विपक्षी ब्याटरलाई नियन्त्रणमा राख्ने क्षमता उनीसँग छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनीले श्रीलंकाका निरोशन डिकवेला, अस्ट्रेलियाका डार्सी सर्ट र नामिबियाका ट्रम्पलम्यानलाई निरन्तरता दिएको छ । टोलीमा बंगलादेशका अलराउन्डर शमिम हुसेन र अमेरिकी अलराउन्डर शेड्ली भान शाल्कविक पनि थपिएका छन् ।  

डिकवेला विकेटकिप-ब्याटर हुन् भने सर्ट आक्रामक ब्याटिङ र अलराउन्ड क्षमताका लागि परिचित छन् । शमिम र शेड्लीको उपस्थितिले लुम्बिनीलाई थप अलराउन्ड विकल्प दिन्छ । अघिल्लो संस्करणको उपाधि जितिसकेको टोली भएकाले लुम्बिनीको मुख्य चुनौती आफ्नो सफल संयोजन कायम राख्दै प्रतिस्पर्धी टोलीको नयाँ रणनीतिसँग जुध्नु हुनेछ ।

चितवन राइनोजमा देखिनेछ सिकन्दर रजाको बहुआयामिक क्षमता

जिम्बाब्वेका सिकन्दर रजा अन्तर्राष्ट्रिय क्रिकेटका स्थापित अलराउन्डर हुन् । उनी जिम्बाब्वेका लागि ब्याटिङ र बलिङ दुवैमा योगदान दिन्छन् र विश्वभरका विभिन्न टी-२० फ्रेन्चाइज प्रतियोगितामा खेलेका छन् । 

मध्यक्रमको ब्याटिङ, स्पिन बलिङ, खेलको परिस्थिति बुझेर प्रदर्शन गर्ने क्षमता र अन्तर्राष्ट्रिय अनुभव उनीसँग छ । चितवनले इंग्ल्यान्डका अनुभवी अलराउन्डर रवि बोपारा र क्यानडाका बायाँहाते तीव्र गतिका बलर कलीम सानालाई पनि टोलीमा राखेको छ । 

बोपराको अनुभवले मध्यक्रम र अलराउन्ड भूमिकामा विकल्प दिन सक्छ भने सानाले तीव्र गतिका बलिङमा योगदान दिन सक्छन् । रजाको ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने क्षमताले चितवनलाई खेलको परिस्थितिअनुसार रणनीति परिवर्तन गर्न मद्दत गर्नेछ ।

यसपटकको एनपीएलमा विदेशी खेलाडीको प्रभाव केवल उनीहरूले बनाउने रन वा लिने विकेटमा सीमित रहने छैन । विश्वस्तरीय खेलाडीको तयारी, दबाबमा निर्णय गर्ने शैली, बलिङमा विविधता र खेल रणनीतिबारे नेपाली खेलाडीले प्रत्यक्ष अनुभव लिन पाउनेछन् । 

यस संस्करणमा आईसीसीको आधिकारिक टी-२० मान्यता प्राप्त भएकाले खेलाडीको प्रदर्शन आधिकारिक टी–२० करिअर तथ्याङ्कमा पनि गणना हुनेछ । टोलीहरूले बढीमा आठ विदेशी खेलाडी दर्ता गर्न पाउने भए पनि एकै खेलमा प्लेइङ–११ मा बढीमा चार विदेशी खेलाडी मात्र राख्न सक्छन् । त्यसैले कुन विदेशी खेलाडीलाई कुन खेलमा उतार्ने भन्ने निर्णय पनि टोलीका लागि महत्वपूर्ण हुनेछ । 

कुन टिममा कुन खेलाडी ? 

काठमाडौं गोर्खाज    

१. डेभिड वार्नर–अस्ट्रेलिया
२. केएस भरत–भारत
३. सहान आराच्चिगे–श्रीलंका
४. साम हेजलेट–अस्ट्रेलिया

कर्णाली याक्स    

१. डेभिड मिलर–दक्षिण अफ्रिका
२. साहिबजादा फरहान–पाकिस्तान
३. हुसेन तलत–पाकिस्तान
४. मार्क वाट–स्कटल्यान्ड
५. अरिफुल इस्लाम–बंगलादेश
६. अकबर अली–बंगलादेश

विराटनगर किंग्स    

१. आन्द्रे रसेल–वेस्ट इन्डिज
२. चरिथ असलांका–श्रीलंका
३. मार्टिन गप्टिल–न्युजिल्यान्ड
४. आकिब इलियास–ओमान
५. क्रिस सोल–कटल्यान्ड
६. निकोलस किर्टन–क्यानडा
७. इस्मत आलम–अफगानिस्तान
८. शुभम रञ्जने –अमेरिका

पोखरा एभेन्जर्स

१. शकिब अल हसन–बंगलादेश
२. महेदी हसन–बंगलादेश
३. मोहम्मद सैफुद्दिन–बंगलादेश
४. धनञ्जय लक्षान–श्रीलंका
५. चमिका करुणारत्ने –श्रीलंका

जनकपुर बोल्ट्स    

१. मोइन अली–इंग्ल्यान्ड
२. जिमी निशम–न्युजिल्यान्ड
३. इफ्तिखार अहमद–पाकिस्तान
४. हरमित सिंह–अमेरिका
५. हुनेन शाह–पाकिस्तान
६. इमरान ताहिर–दक्षिण अफ्रिका
७. वेन पार्नेल–दक्षिण अफ्रिका
८. सोहैब मकसुद–पाकिस्तान
९. निकोल लोफ्टी–इटन–नामिबिया
१०. हर्ष ठाकर–क्यानडा
११. माज सदाकत–पाकिस्तान

सुदूरपश्चिम रोयल्स    

१. शेरफेन रदरफोर्ड–वेस्ट इन्डिज
२. सैफ जैब    –इंग्ल्यान्ड
३. स्कट कुगेलेन–न्युजिल्यान्ड
४. ब्रान्डन म्याकमुलन–स्कटल्यान्ड

लुम्बिनी लायन्स    

१. निरोशन डिकवेला–श्रीलंका
२. डार्सी सर्ट–अस्ट्रेलिया
३. रुबेन ट्रम्पलम्यान–नामिबिया
४. शमिम हुसेन–बंगलादेश
५. शेड्ली भान शाल्कविक–मेरिका

चितवन राइनोज    

१. सिकन्दर रजा– जिम्बाब्वे
२. रवि बोपारा– इंग्ल्यान्ड
३. कलीम साना–क्यानडा
४. चमिका करुणारत्ने –श्रीलंका
५. उसामा मिर–पाकिस्तान

Share News