एम्बाप्पेको अभिव्यक्तिले ला–लिगाको ४० करोड युरोको कारोबार जोखिममा

ला–लिगाका लागि चीन महत्त्वपूर्ण अन्तर्राष्ट्रिय बजारमध्ये एक हो ।

किलियन एम्बाप्पे । फाइल तस्बिर ।

काठमाडौं । फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेको विवादास्पद अभिव्यक्तिका कारण स्पेनको शीर्ष फुटबल लिग ला–लिगाले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने जोखिम बढेको छ । 

चीनका पूर्वनेता माओ त्सेतुङबारे एम्बाप्पेले गरेको टिप्पणीपछि उत्पन्न विवादले चीनमा ला–लिगाको करिब ४० करोड युरो बराबरको व्यावसायिक कारोबार जोखिममा परेको हो ।

स्पेनिस पत्रिका ‘ला राजोन’का अनुसार चीनसँगको प्रसारण अधिकारसम्बन्धी सम्झौता र अन्य व्यावसायिक सम्बन्ध प्रभावित भए ला लिगाले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने हुनसक्छ । 

यद्यपि, ४० करोड युरो वास्तविक घाटा नभई चीनमा रहेको व्यावसायिक कारोबारको अनुमानित मूल्य हो ।

विवाद बढ्दै गएपछि चीनको सरकारी सञ्चारमाध्यम चाइना मिडिया ग्रुपले ला–लिगाका खेलको प्रसारण स्थगित गरेको छ । चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले पनि प्रतियोगिताको प्रसारण रोकेको छ । यससँगै एम्बाप्पे अभिनीत विज्ञापन र प्रचार सामग्रीसमेत हटाउन थालिएको छ ।

विवादको सुरुवात एम्बाप्पेले फ्रान्सेली कार्यक्रम ‘द ब्रिज’मा दिएको अन्तर्वार्ताबाट भएको हो । अन्तर्वार्तामा उनलाई आफूसँग सम्बन्धित सबैभन्दा रमाइलो लाग्ने इन्टरनेटमा प्रचलित व्यंग्यात्मक तस्बिरबारे सोधिएको थियो ।

जवाफमा उनले आफ्नो अनुहार चीनका एक तानाशाहको अनुहारमा जोडिएको तस्बिर रमाइलो लाग्ने गरेको बताएका थिए । उक्त तस्बिर चीनका पूर्वनेता माओ त्सेतुङसँग सम्बन्धित थियो । एम्बाप्पेले साथीहरूसँग भिडियो गेम खेल्दा पनि उक्त तस्बिर प्रयोग गर्ने गरेको बताएका थिए ।

उनको यही अभिव्यक्तिलाई चीनमा अपमानजनक मानिएको हो । चिनियाँ विदेश मन्त्रालयले चिनियाँ जनताको भावनामा चोट पुर्याउने अभिव्यक्ति र गतिविधि समाजका सबै क्षेत्रबाट अस्वीकार गरिने प्रतिक्रिया दिएको छ ।

विवाद चर्किएसँगै चिनियाँ कम्पनीहरूले पनि एम्बाप्पेसँगको व्यावसायिक सम्बन्ध तोड्न थालेका छन् । पेय पदार्थ उत्पादक डोङपेङ बेभरेज ग्रुप तथा दुग्ध उत्पादनसम्बन्धी कम्पनी मेङनिउ र मिल्कग्राउन्डले उनीसँगको सहकार्य अन्त्य गर्ने घोषणा गरेका छन् ।

डोङपेङले चिनियाँ सामाजिक सञ्जाल विइबोमार्फत एम्बाप्पेसँगको सम्बन्ध तत्काल अन्त्य गरिएको जनाएको छ । कम्पनीले राष्ट्रिय भावनामा चोट पुर्याउने गतिविधिप्रति कुनै सहनशीलता नराख्ने स्पष्ट पारेको छ ।

एम्बाप्पे डोङपेङको ‘बु शुई ला’ पेय पदार्थका प्रचारक थिए । सन् २०२६ को विश्वकपका क्रममा चीनका विभिन्न सहरका बस, सार्वजनिक स्थान र भवनहरूमा उनका तस्बिरसहितका विज्ञापन व्यापक रूपमा राखिएका थिए ।

यसैगरी, अन्तर्राष्ट्रिय खेलकुद प्रायोजनमा सक्रिय मेङनिउ र मिल्कग्राउन्डले पनि एम्बाप्पेसँगको सम्झौता तोडेका छन् ।

चीनमा कति छ ला–लिगाको कारोबार ?

ला–लिगाका लागि चीन अमेरिकासँगै सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय बजारमध्ये एक हो । चिनियाँ बजारमा प्रसारण अधिकार, विज्ञापन, प्रायोजन तथा अन्य व्यावसायिक गतिविधिबाट ला–लिगाले ठूलो आम्दानी गर्दै आएको छ ।

ला राजोनका अनुसार सन् २०१५ देखि २०२० सम्म ला–लिगाले पीपीटीभीसँग गरेको पाँच सिजनको प्रसारण सम्झौताबाट २५ करोड युरो प्राप्त गरेको थियो । 

उक्त सम्झौताअन्तर्गत चीन, ताइवान र मकाउमा खेल प्रसारण गर्ने अधिकार समावेश थियो । यसबाट वार्षिक औसत ५ करोड युरो आम्दानी भएको थियो ।

त्यसपछि चिनियाँ बजारमा ला लिगाको व्यावसायिक कारोबार थप विस्तार भएको थियो । सन् २०१८ देखि २०२३ को अवधिमा चीनबाट हुने वार्षिक कारोबार १० करोड युरोभन्दा बढी पुगेको ला–लिगाकै विवरणमा उल्लेख छ ।

ला–लिगाका अध्यक्ष हाभियर तेबासले त्यसबेला चीनमा प्रसारण अधिकारबाट हुने वार्षिक आम्दानी १० करोड युरो पुगेको र आगामी वर्षमा अझ बढ्ने अपेक्षा रहेको बताएका थिए ।

यसै वर्षको अगस्टमा ला लिगाले चाइना मोबाइलको डिजिटल प्रसारण सेवा ‘मिगु’सँग चार सिजनका लागि नयाँ सम्झौता गरेको थियो । सन् २०२६/२७ देखि २०२९/३० सम्म लागू हुने सम्झौताअनुसार मिगुले प्रत्येक सिजन ला .–लिगाका ३८० खेल प्रसारण गर्ने अधिकार पाएको छ ।

सम्झौतामा केही सामग्री निःशुल्क र अन्य सामग्री सशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था छ । खेलका मुख्य दृश्य, संक्षिप्त भिडियो तथा अन्य डिजिटल सामग्री पनि सम्झौतामा समेटिएका छन् ।

ला लिगा र मिगुले सम्झौताको वास्तविक रकम सार्वजनिक गरेका छैनन् । तर, खेलकुद व्यवसायसम्बन्धी सञ्चारमाध्यमहरूले यसको वार्षिक मूल्य आठ करोडदेखि १२ करोड युरोसम्म हुन सक्ने अनुमान गरेका छन् । यस आधारमा चार सिजनको कारोबार ४० करोड युरो हाराहारी वा त्यसभन्दा बढी पुग्न सक्ने आकलन गरिएको छ ।

चिनियाँ सरकारी टेलिभिजनले प्रसारण रोकेपछि यी सम्झौताहरूको भविष्यलाई लिएर चिन्ता बढेको छ । यद्यपि, मिगुसँगको डिजिटल प्रसारण सम्झौता रद्द भएको पुष्टि भएको छैन । 

विवाद समाधान गर्न रियल म्याड्रिडसँग सम्पर्क

विवादले ठूलो आर्थिक असर पार्न सक्ने देखिएपछि ला–लिगाले एम्बाप्पे आबद्ध क्लब रियल म्याड्रिडसँग सम्पर्क गरेको छ ।

ला–लिगाका अध्यक्ष हाभियर तेबासले चिनियाँ बजारमा उत्पन्न संकट समाधान गर्न पहल थालेका छन् । उनले एक खेलाडीको व्यक्तिगत अभिव्यक्तिका कारण लामो समयदेखि निर्माण भएको व्यावसायिक सम्बन्ध बिग्रन दिन नहुने बताएका छन् ।

तेबासले चीनका सरकारी निकाय, खेलकुद संस्था, प्रसारण साझेदार र लाखौं फुटबल समर्थकसँग वर्षौंदेखि विश्वास तथा सहकार्यको सम्बन्ध निर्माण गरिएको उल्लेख गरेका छन् ।

उनले व्यक्तिगत घटनाका कारण स्पेनका व्यावसायिक फुटबल क्लब र चिनियाँ समर्थकहरू प्रभावित हुन नहुने भन्दै समस्या समाधानका लागि आवश्यक कदम चालिने बताएका छन् ।

ला–लिगाले पनि औपचारिक विज्ञप्ति जारी गर्दै एम्बाप्पेको अभिव्यक्तिबाट चिनियाँ समर्थकमा परेको असरप्रति दुःख व्यक्त गरेको छ ।

एम्बाप्पेको टिप्पणी व्यक्तिगत भएको र त्यसले ला–लिगाको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने संस्थाले स्पष्ट पारेको छ ।

ला–लिगाले चीन, त्यहाँका संस्था र नागरिकप्रति सम्मान व्यक्त गर्दै सांस्कृतिक विविधताप्रति संवेदनशीलता बढाउन क्लब तथा खेलाडीहरूसँग मिलेर नयाँ सचेतना र सञ्चारसम्बन्धी कार्यविधि तयार गर्ने जनाएको छ ।

एम्बाप्पेले पनि मागे माफी

विवाद बढ्दै गएपछि एम्बाप्पेले पनि आफ्नो अभिव्यक्तिप्रति माफी मागेका छन् ।

उनले हालैको अन्तर्वार्तामा एउटा तस्बिरबारे प्रतिक्रिया दिँदा आफूबाट अनुपयुक्त टिप्पणी भएको स्वीकार गरेका छन् । 

एम्बाप्पेले आफ्नो उद्देश्य कसैलाई अपमान गर्ने नभएको स्पष्ट पार्दै चिनियाँ जनता र उनीहरूको इतिहासप्रति गहिरो सम्मान रहेको पनि बताएका छन् ।

चीनसँग ला–लिगाको पुरानो सम्बन्ध

ला–लिगाले चिनियाँ बजारमा आफ्नो उपस्थिति विस्तार गर्न लामो समयदेखि लगानी गर्दै आएको छ ।

सन् २०२४ को जुलाईमा ला–लिगा र चाइना मिडिया ग्रुपबीच फुटबलको विकास तथा व्यावसायिक सहकार्य विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

त्यसै वर्षको सेप्टेम्बरमा दुवै पक्षबीच प्रसारणसम्बन्धी रणनीतिक सम्झौता पनि भएको थियो । उक्त सम्झौताले चिनियाँ सरकारी प्रसारण माध्यममा स्पेनिस फुटबलको उपस्थिति विस्तार गर्ने बाटो खोलेको थियो ।

ला–लिगाले चीनमा फुटबल प्रशिक्षण, युवा खेलाडी विकास, संस्थागत सहकार्य र व्यावसायिक विस्तारका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।

यसअघि पनि रियल म्याड्रिड चीनसँग सम्बन्धित विवादमा परेको थियो । सन् २०२५ मा खेलाडी डिन हुइसेनले सामाजिक सञ्जालमा चिनियाँ समुदायप्रति अपमानजनक मानिएको सामग्री पुनःप्रकाशन गरेपछि क्लबले माफीसम्बन्धी सन्देश सार्वजनिक गर्नुपरेको थियो ।

सन् २०२४ मा पनि रियल म्याड्रिडका एक समर्थकले चीनप्रति अपमानजनक गीत गाएको घटनालाई लिएर विवाद भएको थियो ।

पछिल्लो घटनाले भने खेलाडीको व्यक्तिगत अभिव्यक्तिको असर अन्तर्राष्ट्रिय खेलकुद व्यवसायसम्म पुग्न सक्ने देखाएको छ । विशेषगरी ठूलो प्रसारण बजार रहेको चीनसँगको सम्बन्ध बिग्रिए ला–लिगाको आम्दानी, प्रायोजन र अन्तर्राष्ट्रिय विस्तार योजनामा दीर्घकालीन प्रभाव पर्न सक्ने विश्लेषकहरू बताउँछन् ।

Share News