एनपीएलबाट खेलकुद पर्यटनको ढोका खोल्न सकिन्छ : अध्यक्ष शाह

काठमाडौं । अहिले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण राजधानीमा चलिरहेको छ । एनपीएल जारी रहँदा यसको प्रत्यक्ष लाभ पर्यटन क्षेत्रले समेत लिइरहेको छ । एनपीएलअन्तर्गतका खेल खेल्न विभिन्न देशका दर्जनौँ खेलाडी नेपाल आएका छन् । उनीहरूको बसाइँ ठूला होटलमा भइरहेको छ । यसले होटल तथा पर्यटन क्षेत्रलाई माथि उठाउन सघाउ पुगेको होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाह बताउँछन् ।

शाहका अनुसार एनपीएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकारात्मक भूमिका खेलेको छ । प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइज टिम ठूला होटलसँग आबद्ध हुनु र खेलाडी, प्रशिक्षक तथा अन्य सदस्यले लामो समयसम्म होटलमा सेवा लिनुले आतिथ्य उद्योगमा प्रत्यक्ष प्रभाव पारेको छ । एनपीएलमा सहभागी सुदूरपश्चिम, विराटनगर, लुम्बिनी र चितवनलगायतका फ्रेन्चाइज टिमका समर्थकहरू आफ्ना टिमको खेल हेर्न विभिन्न ठाउँबाट आएर होटलमै बसिरहेका छन् । यसले होटल तथा आवास, खानपान र यातायातलगायतका क्षेत्रमा आर्थिक गतिविधि बढाउन सहयोग पुर्याएको शाहको भनाइ छ । प्रतियोगिताका क्रममा स्वदेशी तथा विदेशी खेलाडी र प्रशिक्षकले महिनादिनसम्म होटलमा सेवा लिने भएकाले होटल व्यवसायलाई समेत लाभ पुगेको उनले बताए ।

शाहले एनपीएललाई केवल क्रिकेट प्रतियोगिताका रूपमा मात्र नहेरी पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । नेपालमा खेलिने प्रतियोगितालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउन सके दक्षिण एसियाका क्रिकेटप्रेमीलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न सकिने उनको भनाइ छ । उनका अनुसार अब एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एनपीएलले मान्यता पाउनु पनि नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अवसर हो । यसलाई उपयोग गर्दै विदेशी खेलाडी तथा टिमको सहभागिता बढाउन र नेपालमा थप अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सके खेलकुद पर्यटनको दायरा विस्तार गर्न सकिन्छ । विशेषगरी दक्षिण एसियाका ठूला क्रिकेट राष्ट्रका फ्रेन्चाइज टिमलाई नेपालमा ल्याएर खेलाउने सम्भावनामा ध्यान दिनुपर्ने शाहको भनाइ छ । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिसँगै नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने सम्भावना बढेको उल्लेख गर्दै उनले यसलाई पर्यटनसँग जोडेर अगाडि बढाउनुपर्ने बताए ।

स्पोर्ट्स टुरिजम प्रवर्द्धनका लागि विभिन्न क्षेत्रबीच सहकार्य भइरहेको भए पनि त्यसलाई ठोस योजना र व्यवस्थित कार्यक्रममार्फत अगाडि बढाउन आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) र क्रिकेटलाई आधार बनाएर स्पोर्ट्स टुरिजम प्रवर्द्धन गर्नुपर्छ ।

अध्यक्ष शाहले भने, ‘एनपीएलले एउटा राम्रो सकारात्मक सन्देश दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा नेपालले क्रिकेटमार्फत राम्रो प्रदर्शन गरिरहेको छ । यसले पर्यटनमा पनि प्रत्यक्ष प्रभाव पार्ने र फाइदा पुर्याउने देखिन्छ । अहिले एनपीएलका आठवटा फ्रेन्चाइज टिम छन् । तीमध्ये प्रत्येक टिम कुनै न कुनै ठूला होटलसँग आबद्ध छ । यो आफैँमा राम्रो कुरा हो । देशभरिका फ्रेन्चाइज टिमहरू छन् । सुदूरपश्चिम, विराटनगर, लुम्बिनी, चितवनलगायतका टिमका समर्थकहरू आफ्नो टिमको खेल हेर्न आउँछन् । त्यसले नेपालको आतिथ्य उद्योग, आवास, खानपान र यातायातलगायतका क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्छ ।' 

अध्यक्ष शाहले अहिले नेपालमा पर्यटक भित्र्याउन अनुकूल मौसम रहेको पनि बताए । उनका अनुसार दसैँ सकिएर तिहार नजिकिएको यस समयमा विदेशी पर्यटकको रुचि विशेषगरी पदयात्रा तथा साहसिक पर्यटनमा रहने गरेको छ । मौसम अनुकूल भएकाले यस अवधिमा धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न सकिन्छ । तर, रसुवा र भोटेकोशी क्षेत्रमा बाढीका कारण उत्पन्न परिस्थितिले पर्यटक आगमनमा केही असर पारेको छ ।

उक्त घटनापछि नेपाल भ्रमण गर्न सुरक्षित छ कि छैन भन्ने विषयमा विदेशी पर्यटकले बढी सोधपुछ गरिरहेका छन् । मौसमसम्बन्धी अनिश्चितताले पनि पर्यटकको निर्णयमा प्रभाव पार्न सक्ने भएकाले नेपालका पर्यटन गन्तव्यको अवस्था, सुरक्षा र उपलब्ध सेवाबारे अन्तर्राष्ट्रिय बजारमा स्पष्ट सूचना प्रवाह गर्नुपर्ने उनको बुझाइ छ । कुनै एउटा क्षेत्रमा समस्या देखिँदैमा समग्र नेपालकै पर्यटन प्रभावित हुने गरी सन्देश जान नदिन सरकारी निकायले समन्वय गर्न आवश्यक रहेको शाहले बताए ।

शाहका अनुसार नेपालमा पर्यटनको सम्भावना र सेवा दिन सक्ने क्षमता बढे पनि अपेक्षाअनुसार पर्यटक भित्र्याउन सकिएको छैन । यसको मुख्य कारण अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटीको सीमितता हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले करिब एक महिनाअघि उडान सुरु गरेको बताउँदै उनले अन्य अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सके पर्यटक आगमन बढाउन सहयोग पुग्ने बताए । उनका अनुसार अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुन नसक्दा नेपालले पर्यटनको सम्भावनाअनुसार लाभ लिन सकेको छैन ।

नेपालका होटलहरूले वार्षिक ३५ देखि ४० लाखसम्म पर्यटकलाई सेवा दिन सक्ने क्षमता बनाइसकेका छन् । तर, नेपाल आउने पर्यटकको संख्या भने वार्षिक ११ देखि १२ लाखको हाराहारीमा रहेको छ । होटल तथा पर्यटन क्षेत्रमा भएको लगानीको प्रतिफल प्राप्त गर्न पर्यटकको संख्या बढाउनु आवश्यक रहेको उनको भनाइ छ । त्यसका लागि अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन गन्तव्यको प्रभावकारी प्रचारप्रसार र अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितालाई पर्यटनसँग जोड्ने रणनीति एकसाथ अघि बढाउनुपर्ने उनले बताए । 

Share News