काठमाडौं । दशैं भन्नेबित्तिकै धेरै नेपालीको मनमा गाउँघर, परिवार, आफन्त र टीकाको सम्झना आउँछ । सहरमा बसोबास गर्नेहरू दशैं मनाउन जन्मथलो फर्किन्छन् भने विदेशमा रहेका नेपाली पनि परिवारसँग चाडपर्व मनाउन स्वदेश आउँछन् । यसले काठमाडौं उपत्यकासहित ठूला सहरको चहलपहल घटाउँछ । तर, यही समयमा पर्यटकीय गन्तव्यका होटलमा भने पाहुना आउने क्रम जारी रहन्छ ।
दशैं–तिहारको समय नेपालमा पर्यटकीय गतिविधिका हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । अनुकूल मौसमका कारण विदेशी पर्यटक पदयात्रा र हिमाल आरोहणका लागि नेपाल आउँछन् । अर्कोतर्फ, चाडपर्वमा परिवारसँग भेटघाट गर्न आएका नेपाली पनि समय मिलाएर घुमफिरमा निस्कन्छन् । यसले काठमाडौं, पोखरा, चितवन र नगरकोटजस्ता गन्तव्यका होटलमा पाहुना आउने सम्भावना बढाउँछ ।
तर, यस वर्ष पर्यटकीय सिजन सुरु भए पनि सबै गन्तव्यका होटलले समान रूपमा पाहुना पाउन सकेका छैनन् । कतै पर्यटकको आगमनले व्यवसायलाई गति दिएको छ भने कतै बाढीपहिरो, सडक अवरोध र बुकिङ रद्द हुने क्रमले व्यवसायीलाई चिन्तित बनाएको छ ।
विदेशी पर्यटकको भरमा होटल व्यवसाय
होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार दशैं–तिहारको समय मौसम अनुकूल हुने र पर्यटकीय गतिविधि बढ्ने भएकाले होटल व्यवसायमा सामान्यतः राम्रो चहलपहल देखिन्छ । यस अवधिमा विदेशी पर्यटकको आगमन हुने भएकाले पनि होटल व्यवसायलाई सहयोग पुग्ने उनी बताउँछन् ।
दशैंका बेला विदेशमा बसोबास गर्ने गैरआवासीय नेपाली ९एनआरएन० पनि होटल व्यवसायका पाहुना बन्ने गर्छन् । विदेशबाट स्वदेश फर्किने कतिपय नेपाली काठमाडौंका होटलमा एक–दुई रात बसेर आफ्नो गृहजिल्लातर्फ जाने भएकाले यसले पनि होटलको अकुपेन्सीमा योगदान पुर्याउने शाहको भनाइ छ ।
‘विदेशबाट आउने धेरै नेपाली होटलमा एक रात बसेर भोलिपल्ट आफ्नो जिल्लातर्फ जाने प्रचलन छ,’ शाह भन्छन् ।
हानका महासचिव एवं होटल व्यवसायी साजन शाक्य पनि दशैंको समय पर्यटकीय गतिविधिका लागि अनुकूल हुने बताउँछन् । नेपालीहरू चाडपर्व मनाउन गाउँघर फर्किए पनि विदेशी पर्यटकको आगमन भने जारी रहने भएकाले पर्यटकीय गन्तव्यका होटलमा पाहुना पाउने सम्भावना राम्रो हुने उनको भनाइ छ ।
‘नेपालीहरू दशैं मनाउन गाउँघर फर्किए पनि विदेशी पर्यटकको आगमन राम्रो हुने समय हो,’ शाक्यले भने ।
उनका अनुसार काठमाडौंसहित पोखरा, चितवन र नगरकोटजस्ता गन्तव्यमा यस समयमा पर्यटकीय गतिविधि बढ्न सक्छन् । हिमाल आरोहण र पदयात्राका लागि नेपाल आउने पर्यटकको संख्या पनि उल्लेख्य हुने भएकाले होटल व्यवसायले लाभ लिन सक्छ ।
‘कुनै प्रतिकूल प्रभाव नपरेमा यस सिजनमा होटलहरूको अकुपेन्सी ९० प्रतिशतसम्म पुग्ने गर्छ,’ शाक्यले भने ।
चितवनमा आन्तरिक पर्यटकको भर
विदेशी पर्यटकको आगमनसँगै आन्तरिक पर्यटनले पनि दशैंको समयमा होटल व्यवसायलाई सहयोग पुर्याउने गरेको छ । चितवनका होटल व्यवसायी दिनेश कुमार चुकेका अनुसार दशैंमा आफन्त भेटघाट गर्न आएका र परिवारसँग घुमफिर गर्ने योजना बनाएका नेपाली होटलमा बस्ने गर्छन् ।
‘दशैंको बेला आफन्त भेट्न आएका पाहुना पनि एक–दुई दिन घुमौँ भनेर होटलमा बस्ने गर्छन्,’ चुकेले भने ।
उनका अनुसार चितवनमा दशैंका बेला होटलको अकुपेन्सी ५० प्रतिशतभन्दा माथि पुग्ने गरेको छ । नारायणी किनारमा आरती अवलोकन गर्ने, सौराहा घुम्ने र परिवारसँग समय बिताउने उद्देश्यले आउने आन्तरिक पर्यटकले होटल व्यवसायलाई सहयोग पुर्याउँछन् । मौसम अनुकूल हुँदा घुमफिरका लागि पनि सहज हुने उनको भनाइ छ ।
शुक्रबार र शनिबार लगातार बिदा हुने व्यवस्थाले पनि आन्तरिक पर्यटनलाई टेवा पुर्याएको चुके बताउँछन् । दुई दिन बिदा हुँदा मानिसहरू घुम्न जाने, बाहिर खाना खाने र एक रात होटलमा बिताउने योजनासहित निस्कने क्रम बढेको उनको अनुभव छ ।
यसले चाडपर्वमा गाउँ फर्किने नेपालीको संख्या बढे पनि सबै आन्तरिक पर्यटन गतिविधि ठप्प नहुने देखाउँछ । परिवारसँग भेटघाट र चाडपर्व मनाउने क्रममा छोटो घुमफिर गर्ने प्रवृत्तिले केही गन्तव्यका होटललाई राहत दिन सक्छ ।
सबै होटलमा दशैंको रौनक उस्तै छैन
दशैंको समयमा होटल व्यवसायको अवस्था स्थान, लक्षित ग्राहक र पर्यटकीय गतिविधिअनुसार फरक हुने व्यवसायीहरू बताउँछन् । विदेशी पर्यटकमा निर्भर होटलले पर्यटकीय सिजनबाट लाभ लिन सक्ने भए पनि आन्तरिक पर्यटकलाई मुख्य ग्राहक बनाएका होटलमा चहलपहल घट्न सक्छ ।
होटल व्यवसायी महासंघ नेपालका उपाध्यक्ष सन्तोष उप्रेतीका अनुसार दशैंमा अधिकांश नेपाली आफ्नो गृहजिल्ला फर्किने भएकाले धेरै होटलको अकुपेन्सी घट्ने गर्छ । होटलका कर्मचारीसमेत चाडपर्व मनाउन बिदामा जाने हुँदा व्यवसाय सञ्चालनमा थप चुनौती उत्पन्न हुन सक्छ ।
‘वर्षमा एकपटक आउने महान् चाड भएकाले सबैलाई परिवारसँग बसेर रमाइलो गर्ने र आफन्तसँग भेटघाट गर्ने इच्छा हुन्छ,’ उप्रेती भन्छन्, ‘यो समयमा सबै होटलको अकुपेन्सी बढ्छ भन्ने छैन ।’
चाडपर्वमा पनि होटल सञ्चालन गर्नुपर्ने भएकाले कतिपय व्यवसायीले कर्मचारीलाई अतिरिक्त भत्ता दिएर काममा लगाउने गरेका छन् । यसले सेवा निरन्तर राख्न सहयोग गरे पनि सञ्चालन खर्च बढाउन सक्छ ।
यसरी दशैंको प्रभाव होटल व्यवसायमा एकै प्रकारको हुँदैन । पर्यटकीय गन्तव्यमा विदेशी पाहुनाको आगमनले व्यवसायलाई गति दिन सक्छ भने स्थानीय ग्राहकमा निर्भर होटलले चाडपर्वको समयमा माग घटेको अनुभव गर्न सक्छन् ।
बाढीपहिरोले बिगार्यो पर्यटकीय सिजन
पर्यटन व्यवसाय मौसमी मागमा निर्भर हुने भएकाले प्राकृतिक विपद्, सडक अवरोध र सुरक्षासम्बन्धी धारणाले होटलको व्यवसायमा प्रत्यक्ष प्रभाव पार्न सक्छ । पर्यटकीय सिजन सुरु हुने समयमा हुने यस्ता घटनाले पर्यटकको यात्रा योजना र होटल बुकिङ प्रभावित पार्ने जोखिम हुन्छ ।
गत वर्षको जेनजी आन्दोलन र यस वर्षको बाढीपहिरोले पर्यटन क्षेत्रलाई थप चुनौती दिएको व्यवसायीहरूको भनाइ छ । भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको आकस्मिक बाढीले रसुवासहित धादिङ र नुवाकोटका विभिन्न क्षेत्र प्रभावित बनेका थिए । त्यसपछि असोजमा बूढीगण्डकी क्षेत्रमा आएको बाढीले पनि आसपासका क्षेत्र प्रभावित पारेको थियो ।
प्राकृतिक विपद्का घटनाले सडक तथा यातायातमा अवरोध सिर्जना गर्दा पर्यटकले यात्रा सुरक्षित हुने–नहुनेबारे पुनर्विचार गर्न सक्छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विपद्का समाचार सार्वजनिक हुँदा नेपाल घुम्न आउने विदेशी पर्यटकको धारणा र बुकिङमा समेत असर पर्न सक्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।
हान गण्डकी प्रदेशका अध्यक्ष हरिप्रसाद शर्मा गैरेका अनुसार पर्यटकीय सिजन चलिरहे पनि पोखराको होटल व्यवसाय यस वर्ष प्रभावित भएको छ । उनका अनुसार पोखराका होटलको अकुपेन्सी घटेर १५ देखि २० प्रतिशतमा सीमित भएको छ । विगतमा दशैंको समयमा अकुपेन्सी ९० प्रतिशतसम्म पुग्ने गरेको उनको भनाइ छ ।
गैरेका अनुसार यस वर्ष होटलमा बुकिङ भए पनि बाढीपहिरो र सडकको अवस्थाका कारण बुकिङ रद्द हुने क्रम बढेको छ । सडक अवरुद्ध तथा क्षतिग्रस्त हुँदा पर्यटकले यात्रा सुरक्षित महसुस गर्न नसकेको उनी बताउँछन् ।
‘अहिले विदेशी मात्रै होइन, नेपाली पर्यटकले पनि घुम्न सुरक्षित महसुस गर्न सकेका छैनन् । ठाउँठाउँमा सडक बिग्रिएका छन्,’ गैरेले भने ।
उनका अनुसार सडक मर्मत गरी यातायात सहज रूपमा सञ्चालन गर्न सकिए पर्यटन क्षेत्रमा केही सुधार आउन सक्छ । तर, सडकको अवस्था नसुध्रिए होटल व्यवसाय सञ्चालन गर्नसमेत कठिन हुने उनको भनाइ छ ।
यस वर्षको दशैंमा पोखराका होटलको अकुपेन्सी अपेक्षाअनुसार बढ्ने सम्भावना कम रहेको गैरेको आकलन छ ।
पर्यटकीय सम्भावना छ, चुनौती व्यवस्थापनमा
दशैं–तिहारको समय नेपालका लागि आन्तरिक तथा विदेशी पर्यटन प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अवसर हो । अनुकूल मौसम, पदयात्रा, हिमाल आरोहण र पारिवारिक घुमफिरले होटल व्यवसायमा माग बढाउन सक्छ । तर, प्राकृतिक विपद् र यातायात अवरोधले यही अवसरलाई चुनौतीमा बदल्न सक्छ ।
यस अवस्थामा पर्यटकीय गन्तव्यसम्मको सडक पहुँच सहज बनाउने, यात्रा सुरक्षाबारे विश्वसनीय सूचना उपलब्ध गराउने र प्रभावित क्षेत्रको अवस्थाबारे स्पष्ट जानकारी प्रवाह गर्ने काम महत्त्वपूर्ण हुन्छ । पर्यटकले यात्रा गर्नुअघि भरपर्दो सूचना पाउन सके अनावश्यक अन्योल कम हुन सक्छ ।
होटल व्यवसायमा दशैंको प्रभावलाई केवल पाहुनाको चहलपहलका आधारमा बुझ्न सकिँदैन । कुन गन्तव्यमा कस्ता पर्यटक आउँछन्, यातायातको अवस्था कस्तो छ र होटलको बुकिङ कति टिकाउ छ भन्ने पक्षले पनि व्यवसायको अवस्था निर्धारण गर्छन् ।