काठमाडौं । दशैं भन्नेबित्तिकै टीका, जमरा, आशीर्वाद र दक्षिणाको सम्झना आउँछ । मान्यजनबाट टीका थापेपछि पाइने दक्षिणा बालबालिकाका लागि खुसीको विषय हो भने युवायुवती र वयस्कका लागि चाडपर्वको अतिरिक्त आम्दानी पनि बन्न सक्छ । तर, दक्षिणा पाएपछि त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुराले नै यसको वास्तविक महत्त्व निर्धारण गर्छ ।
कतिपयले दशैंको दक्षिणा नयाँ लुगा, मिठाई, घुमफिर, मनोरञ्जन वा अन्य उपभोग्य वस्तुमा खर्च गर्छन् । खर्च गर्नु गलत होइन, तर प्राप्त रकमको केही हिस्सा बचत गर्ने र केही हिस्सा भविष्यका लागि लगानी गर्ने बानी बसाल्न सके सानो रकमले पनि ठूलो अर्थ राख्न सक्छ ।
दक्षिणालाई तत्कालको खुसीसँगै दीर्घकालीन आर्थिक सुरक्षाको आधार बनाउने केही उपाय छन् ।
बचत
दक्षिणा प्राप्त भएपछि सबैभन्दा पहिले त्यसको केही हिस्सा छुट्याएर बचत गर्नु उपयोगी हुन्छ । बाँकी रकम खर्च गरेर अन्त्यमा बाँकी रहेको पैसा बचत गर्नेभन्दा सुरुमा नै बचतको रकम छुट्याउने बानी प्रभावकारी हुन्छ ।
उदाहरणका लागि, दशैंमा ५ हजार रुपैयाँ दक्षिणा प्राप्त भयो भने २ हजार रुपैयाँ बचत गर्न सकिन्छ । बाँकी रकममध्ये केही आफ्नो आवश्यकताका लागि र केही मनोरञ्जन वा परिवारसँगको रमाइलोमा खर्च गर्न सकिन्छ ।
बचतको रकम बैंक तथा वित्तीय संस्थामा खाता खोलेर जम्मा गर्न सकिन्छ । बालबालिकाका हकमा अभिभावकको सहयोगमा उपयुक्त बचत खाता प्रयोग गर्न सकिन्छ । यसले पैसा सुरक्षित राख्नुका साथै बचत गर्ने बानी पनि विकास गर्छ ।
शिक्षामा लगानी
दशैंमा बालबालिकाले दक्षिणाका रूपमा पाएको रकम उनीहरूको भविष्य निर्माणमा प्रयोग गर्न सकिन्छ । रकमअनुसार पुस्तक, शैक्षिक सामग्री, शब्दकोश, चित्रकथा वा अध्ययनमा सहयोग पुग्ने सामग्री किन्न सकिन्छ ।
त्यस्तै, अभिभावकले बालबालिकाको नाममा छुट्टै बचत गर्ने व्यवस्था मिलाउन सक्छन् । हरेक वर्ष दशैंमा प्राप्त हुने रकम जम्मा गर्दै जाने हो भने भविष्यमा शैक्षिक सामग्री, अतिरिक्त कक्षा वा अन्य आवश्यकताका लागि उपयोगी रकम तयार हुन सक्छ ।
यसले बालबालिकालाई पैसा पाउनु मात्रै ठूलो कुरा होइन, त्यसको सही उपयोग गर्नु पनि महत्त्वपूर्ण छ भन्ने सिकाउँछ ।
सीप सिक्न खर्च
पैसाको सबैभन्दा उपयोगी लगानीमध्ये एक सीप विकास पनि हो । दक्षिणाको केही हिस्सा आफूलाई उपयोगी हुने सीप सिक्न खर्च गर्न सकिन्छ । कम्प्युटर, भाषा, डिजाइन, डिजिटल मार्केटिङ, लेखन, भिडियो सम्पादन, लेखा व्यवस्थापन वा आफूले रोजेको पेसासँग सम्बन्धित तालिम लिन रकम उपयोग गर्न सकिन्छ ।
विद्यार्थीले आफ्नो अध्ययनलाई सहयोग पुग्ने सीप सिक्न सक्छन् भने रोजगारी खोजिरहेका युवाले रोजगारमुखी तालिममा लगानी गर्न सक्छन् । सीपमा गरिएको लगानीले भविष्यमा आम्दानीको अवसर बढाउन सक्छ । त्यसैले सानो रकम भए पनि आफ्नो क्षमता र अवसर विस्तार गर्ने काममा खर्च गर्नु उपयोगी हुन्छ ।
लगानीका विकल्प
दक्षिणाको रकम केही ठूलो छ र तत्काल आवश्यकतामा खर्च गर्नुपर्ने अवस्था छैन भने विभिन्न लगानीका विकल्पबारे बुझ्न सकिन्छ । तर, लगानी गर्दा प्रतिफलको सम्भावनासँगै जोखिम पनि विचार गर्नुपर्छ ।
बैंकको मुद्दती निक्षेप
निश्चित अवधिका लागि रकम राखेर ब्याज प्राप्त गर्न सकिन्छ । ब्याजदर, अवधि, समयअघि रकम झिक्दा लाग्ने सर्त र लागू हुने कर बुझेर निर्णय लिनुपर्छ ।
म्युचुअल फन्ड
सेयर बजारबारे पर्याप्त जानकारी नभएका व्यक्तिले सामूहिक लगानी कोषबारे अध्ययन गर्न सक्छन् । यस्ता कोषको प्रतिफल सुनिश्चित हुँदैन र लगानीको मूल्य घट्न पनि सक्छ । दशैंको दक्षिणा म्युचुअल फण्डमा लगाी गर्न सकिन्छ ।
प्रतिइकाइ अंकित मूल्य १० रुपैयाँ हुने म्युचुअल फन्ड कम्तीमा १ सय इकाइ किनेर लगानी सुरुवात गर्न सकिन्छ । हाल बजारमा १० रुपैयाँभन्दा कम मूल्यमा पनि म्युचुअल फन्डका इकाइ खरिद गर्न सकिन्छ । घरमै बसेर ट्रेड म्यानेजमेन्ट सिस्टम ९टीएमएस० बाट म्युचुअल फन्ड आफै खरिद गर्न सकिन्छ ।
सेयर बजार
दीर्घकालीन सोचका साथ लगानी गर्न चाहनेले सूचीकृत कम्पनीको वित्तीय अवस्था, व्यवसाय, मूल्य र जोखिमबारे अध्ययन गर्नुपर्छ । अरूको हल्ला वा छिट्टै धेरै पैसा कमाउने आशामा लगानी गर्नु उचित हुँदैन ।
सेयर बजारमा सूचीकृत विभिन्न कम्पनीमध्ये आफ्नो रुचि, लगानी गर्ने क्षमता र जोखिम वहन गर्न सक्ने अवस्थाअनुसार कम्पनी छनोट गर्न सकिन्छ । विद्युत् उत्पादन, बैंक तथा वित्तीय संस्था, जीवन तथा निर्जीवन बीमा, पुनर्बिमा, सिमेन्ट, अन्य उत्पादनमूलक उद्योग, होटल, केबलकार, दूरसञ्चार र लगानी कोषलगायत क्षेत्रका कम्पनीमा लगानीका अवसर उपलब्ध छन् ।
तर, सेयर खरिद गर्नुअघि कम्पनीको व्यवसाय, आम्दानी, नाफा, वित्तीय अवस्था, सञ्चालकको पृष्ठभूमि र विगतमा वितरण गरेको लाभांशको विवरण अध्ययन गर्नु आवश्यक हुन्छ । कम्पनीको विगतको लाभांशलाई मात्रै आधार बनाएर लगानीको निर्णय गर्नु उचित हुँदैन । भविष्यमा कम्पनीको आम्दानी र सेयर मूल्यमा उतारचढाव आउन सक्ने भएकाले सम्भावित जोखिम पनि मूल्याङ्कन गर्नुपर्छ ।
नियमित लाभांश वितरण गर्दै आएका केही वाणिज्य बैंक पनि लगानीकर्ताको रोजाइमा पर्न सक्छन् । प्रतिकित्ता सेयर मूल्य तुलनात्मक रूपमा कम भएका कम्पनीमा लगानी गर्दा पनि तिनको वित्तीय अवस्था, लाभांश वितरण गर्ने क्षमता र भविष्यको व्यावसायिक सम्भावना हेर्नुपर्छ । कम मूल्यको सेयर सधैँ सस्तो वा राम्रो लगानी हुन्छ भन्ने हुँदैन ।
सेयर बजारमा पहिलोपटक प्रवेश गर्न चाहनेले सुरुमा बैंक खाता खोल्नुपर्छ । त्यसपछि निक्षेप सदस्यका रूपमा कार्य गर्ने बैंक, क्यापिटल वा अन्य अनुमतिप्राप्त संस्थामार्फत डिम्याट खाता खोल्न सकिन्छ । सेयर खरिदबिक्री गर्न भने धितोपत्र दलाल कम्पनीमा कारोबार खाता खोल्नुपर्छ ।
आवश्यक खाता खोलेपछि ब्रोकरले उपलब्ध गराएको अनलाइन कारोबार प्रणालीमार्फत घरमै बसेर सेयर खरिद तथा बिक्री गर्न सकिन्छ । खरिद गरेको सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा हुन्छ भने बिक्री भएको सेयर खाताबाट घट्छ । कारोबारका लागि आवश्यक रकम, शुल्क तथा सेयर हस्तान्तरणसम्बन्धी प्रक्रिया भने निर्धारित नियमअनुसार पूरा गर्नुपर्छ ।
सुनचाँदीमा लगानी
सुनचाँदीलाई सम्पत्ति सञ्चय र लगानीको विकल्पका रूपमा लिन सकिन्छ । दशैंकको दक्षिणालाई सुनचाँदीमा पनि लगानी गर्न सकिन्छ । तर, यसमा पैसा लगाउनुअघि खरिद लागत, बिक्री गर्दा प्राप्त हुने मूल्य र सुरक्षित भण्डारणको खर्चसमेत हिसाब गर्नुपर्छ ।
नेपालमा सुन प्रायः गहनाका रूपमा बिक्री हुने भएकाले लगानीकै उद्देश्यले गहना खरिद गर्दा अतिरिक्त खर्च लाग्छ । गहना बनाउँदा ज्याला र जर्तीबापत थप रकम तिर्नुपर्ने हुन्छ, जुन गहनाको प्रकारअनुसार खरिद मूल्यको ५ देखि १५ प्रतिशतसम्म पर्न सक्छ । पछि गहना बिक्री गर्दा यी खर्चको रकम सामान्यतया फिर्ता प्राप्त हुँदैन । त्यसैले सुनको बजार मूल्य बढे पनि ज्याला र जर्तीको खर्चसमेत समेटेर हिसाब गर्दा अपेक्षित नाफा नहुन सक्छ ।
चाँदीमा लगानी गर्न चाहनेले गहनाको सट्टा ढिक्का वा दानाका रूपमा खरिद गर्न सक्छन् । तर, खरिद गर्नुअघि नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य र व्यापारीले लिने वास्तविक मूल्यबीच तुलना गर्नुपर्छ । खरिद तथा बिक्री गर्दा लाग्ने अतिरिक्त शुल्क र मूल्यको अन्तरले पनि लगानीको प्रतिफलमा असर पार्न सक्छ ।
सहकारीमा बचत
दशैंको दक्षिणा बचत गर्ने बानी बसाल्नका लागि सहकारीको सदस्य बनेर बचत पनि गर्न सकिन्छ । सहकारीमा रकम राख्नुअघि संस्थाको कानुनी अवस्था, वित्तीय स्वास्थ्य, कारोबारको पारदर्शिता र बचत सुरक्षासम्बन्धी व्यवस्था जाँच्नुपर्छ ।
सानो रकम भएकै कारण सबै पैसा एउटै विकल्पमा लगाउनुपर्छ भन्ने छैन । आफ्नो उमेर, आर्थिक अवस्था, रकमको आवश्यकता र जोखिम सहन सक्ने क्षमताअनुसार विकल्प छान्नु उपयुक्त हुन्छ ।
आपत्कालीन कोष बनाउन सुरु गर्नुहोस्
आर्थिक जीवनमा कहिले स्वास्थ्य उपचार, पढाइ, रोजगारी वा अन्य आकस्मिक आवश्यकताका लागि रकम चाहिन्छ भन्ने निश्चित हुँदैन । त्यसैले दक्षिणाको केही हिस्सा आपत्कालीन कोष बनाउन प्रयोग गर्न सकिन्छ ।
नियमित आम्दानी नभएका विद्यार्थीले पनि सानो रकमबाट यस्तो कोष सुरु गर्न सक्छन् । नियमित आम्दानी हुने व्यक्तिले भने आफ्नो आवश्यक खर्च धान्न सक्ने गरी क्रमशः आपत्कालीन बचत बढाउन सक्छन् ।
आपत्कालीन कोषको मुख्य उद्देश्य धेरै प्रतिफल कमाउनु होइन, आवश्यक परेको बेला सहजै रकम प्रयोग गर्न पाउनु हो । त्यसैले यस्तो रकम सुरक्षित र सहजै झिक्न मिल्ने ठाउँमा राख्नु राम्रो हुन्छ ।
ऋण छ भने तिर्न पनि प्रयोग गर्न सकिन्छ
उच्च ब्याजदरको ऋण तिर्न बाँकी छ भने दक्षिणाको केही हिस्सा ऋण घटाउन प्रयोग गर्नु पनि आर्थिक दृष्टिले उपयोगी हुन सक्छ । ऋणमा तिरिरहेको ब्याज र सम्भावित लगानीबाट प्राप्त हुने प्रतिफल तुलना गरेर निर्णय लिन सकिन्छ ।
उदाहरणका लागि, महँगो ब्याजदरको ऋण बाँकी छ भने जोखिमयुक्त लगानीमा रकम हाल्नुभन्दा ऋण घटाउँदा आर्थिक भार कम हुन सक्छ । तर, ऋणको पूर्वभुक्तानी शुल्क, सर्त र हातमा रहने नगदको आवश्यकतालाई पनि विचार गर्नुपर्छ ।
दक्षिणा पाउनेबित्तिकै सबै रकम बचत वा लगानी गर्नुपर्छ भन्ने छैन । दशैं खुसी साटासाट गर्ने, आफन्त भेट्ने र आफ्नो इच्छाअनुसार केही खर्च गर्ने पर्व पनि हो । त्यसैले आवश्यक खर्च, मनोरञ्जन, बचत र लगानीबीच सन्तुलन मिलाउनु महत्त्वपूर्ण हुन्छ ।
उदाहरणका लागि, १० हजार रुपैयाँ दक्षिणा प्राप्त भएको अवस्थामा निम्नानुसार योजना बनाउन सकिन्छ ।
दक्षिणा लगानी गर्दा यी गल्तीबाट बच्नुहोस्
दक्षिणा रकम सानो वा ठूलो जति भए पनि निर्णय गर्दा केही सावधानी आवश्यक हुन्छ ।
– छिट्टै दोब्बर पैसा बनाइदिने वा निश्चित रूपमा उच्च प्रतिफल दिने दाबीमा विश्वास नगर्नुहोस् ।
– अरूले नाफा कमाएको सुनेर मात्रै सेयर, क्रिप्टोकरेन्सी वा अन्य जोखिमयुक्त सम्पत्तिमा रकम नहाल्नुहोस् ।
– नबुझिएको वित्तीय उत्पादनमा लगानी नगर्नुहोस् ।
– आवश्यक खर्चका लागि चाहिने पैसा लामो समयसम्म निकाल्न नमिल्ने योजनामा नराख्नुहोस् ।
– बचत तथा लगानीको रेकर्ड राख्नुहोस् र रकम कहाँ प्रयोग भयो भनेर हिसाब गर्नुहोस् ।
विशेषगरी बालबालिकालाई दक्षिणा दिने मान्यजनले पनि उनीहरूलाई पैसा सुरक्षित राख्ने, खर्चको हिसाब गर्ने र आवश्यकताअनुसार निर्णय लिने बानी सिकाउन सक्छन् ।
दशैंमा प्राप्त हुने दक्षिणा रकमले मात्रै कसैको आर्थिक भविष्य बदलिहाल्छ भन्ने हुँदैन । तर, यही रकमबाट बचत गर्ने, खर्चको योजना बनाउने, लगानी बुझ्ने र भविष्यका लागि तयारी गर्ने बानी सुरु गर्न सकिन्छ ।
आज दक्षिणाबाट बचत गरिएको केही सय वा हजार रुपैयाँ भविष्यमा ठूलो रकमको सुरुआत बन्न सक्छ । अझ महत्त्वपूर्ण कुरा, यसले पैसालाई केवल खर्च गर्ने वस्तुका रूपमा होइन, आफ्नो आवश्यकता पूरा गर्ने र भविष्यका अवसर निर्माण गर्ने साधनका रूपमा हेर्न सिकाउँछ ।