दशैं मनाउन उपत्यकाबाट बाहिरिए ५ लाख ७६ हजारभन्दा बढी यात्रु

काठमाडौं । बडादशैं मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । दशैं नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक घर फर्किन थालेपछि प्रमुख नाकामा यात्रुको चाप बढेको छ ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्ने यात्रुमध्ये दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष छन् । दशैं मनाउन घर फर्किने क्रम बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढेको उनले बताए ।

उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेसँगै नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकामा सवारीसाधनको आवागमन बाक्लिएको छ । विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन् ।

चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको एसएसपी काफ्लेले बताए । यात्रुको आवागमन सहज बनाउने, सवारीसाधनको चाप व्यवस्थापन गर्ने र सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सडकमा निगरानी बढाइएको उनले जानकारी दिए ।

'यात्रुको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको छ। हाम्रो उद्देश्य सबैको यात्रा सफल र सुरक्षित होस् भन्ने हो,' उनले भने ।

लामो दूरीको यात्रा गर्ने यात्रुले सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सवारी चलाउने समयजस्ता विषयमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । यात्रु र चालक दुवैले सावधानी अपनाउँदा सम्भावित दुर्घटना न्यूनीकरण गर्न सकिने उनले बताए ।

दशैं नेपालीहरूको प्रमुख सांस्कृतिक तथा पारिवारिक पर्व भएकाले यस अवसरमा देशका विभिन्न भागमा रहेका नागरिक घर फर्किने गर्छन् । उपत्यकामा अध्ययन, रोजगारी र व्यवसायका लागि बसोबास गर्दै आएका नागरिक गाउँघर फर्किन थालेपछि राजधानीका सडक, बसपार्क तथा बाहिरी नाकामा चहलपहल बढेको छ । 

Share News