मनाङबाट मुस्ताङ आउने विदेशी पर्यटक बढे, होटलमा चहलपहल

मुस्ताङ । भारी हिमपातका कारण अवरुद्ध बनेको थोरङ्ला पास पदमार्ग खुलाइएपछि पछिल्लो दुई सातामा ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मुस्ताङको जोमसोमस्थित चेकपोस्टका अनुसार मुस्ताङ आउनेमा ४३ जना सार्क राष्ट्रका र ७२९ जना अन्य देशका पर्यटक छन् ।

समुद्री सतहबाट पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोरङ्ला पास अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख आकर्षण हो । यही पास पार गर्दै विदेशी पर्यटक मनाङबाट मुस्ताङको मुक्तिनाथसम्म पुग्ने गर्छन् । साहसिक र चुनौतीपूर्ण मानिने यस पदमार्गमा पदयात्रा गर्न स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुने गरेका छन् ।

गत असोज ११ गतेको भारी वर्षा र हिमपातका कारण अवरुद्ध भएको थोरङ्ला पास पदमार्गमा जमेको हिउँ पन्छाएपछि पर्यटकको आवागमन पुनः सुरु भएको हो । मुस्ताङतर्फ पर्यटन व्यवसायीले थोरङ फेदीमाथिको पदमार्गमा जमेको हिउँ हटाएका थिए । मनाङतर्फ पनि सुरक्षाकर्मी र स्थानीय पर्यटन व्यवसायीको सहकार्यमा हिउँ पन्छाएर पदमार्ग सञ्चालनयोग्य बनाइएको थियो ।

एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक सञ्जोग थकालीका अनुसार पदमार्ग खुलाइएपछि बिहीबारसम्म ७७२ जना विदेशी पर्यटक थोरङ्ला पास हुँदै मुस्ताङ आइपुगेका छन् ।

मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले थोरङ्ला पास हुँदै पदयात्रा गर्ने याम सुरु भएसँगै मनाङबाट मुस्ताङ आउने विदेशी पर्यटकको सङ्ख्या बढिरहेको बताए । पर्यटकीय यामको सुरुआतमै भारी हिमपात हुँदा पदमार्ग अवरुद्ध भए पनि दुवैतर्फको हिउँ हटाएपछि पर्यटकको आवागमन सहज बनेको उनको भनाइ छ ।

गुरुङका अनुसार थोरङ्ला पास हुँदै दैनिक एक सयभन्दा बढी पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन् । बेनी–जोमसोम सडकमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या घटे पनि पदयात्रामार्फत आउने विदेशी पर्यटक बढ्दा मुक्तिनाथ क्षेत्रका अधिकांश होटलमा पर्यटकको चाप बढ्न थालेको उनले बताए ।

अन्नपूर्ण चक्रीय पदमार्गमा विदेशी पर्यटकको मुख्य याम वसन्त र शरद ऋतुमा पर्ने गर्छ। विशेषगरी मे, जुन र जुलाई तथा अक्टोबर र नोभेम्बरमा यस क्षेत्रमा पदयात्रा गर्ने पर्यटकको सङ्ख्या उल्लेख्य हुने गरेको छ । अध्यक्ष गुरुङका अनुसार यस वर्ष नोभेम्बरको अन्त्यसम्म मनाङबाट थोरङ्ला पास हुँदै विदेशी पर्यटक मुस्ताङ आउने क्रम जारी रहनेछ ।

थोरङ्ला पास पदमार्ग सञ्चालनमा आएसँगै मुक्तिनाथ क्षेत्रको पर्यटन गतिविधि बढ्नुका साथै स्थानीय होटल तथा पर्यटन व्यवसायमा समेत चहलपहल बढ्ने अपेक्षा गरिएको छ । 

Share News