सलिकोको गल्फ प्रतियोगितामा टाटा नेक्सन कार जित्ने अवसर

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार ‘सलिको गल्फ टुर्नामेन्ट २०२६’ आयोजना गर्ने भएको छ । प्रतियोगिता अक्टोबर ३१ अर्थात् कात्तिक १५ गते काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टस्थित गल्फ कोर्समा हुनेछ ।

कम्पनीका अनुसार प्रतियोगितामा करिब १०० जना एमेच्योर गल्फ खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा मुख्यतः नेपालको कर्पोरेट क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

१८ होलको गल्फ कोर्समा सञ्चालन हुने प्रतियोगितामा विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मेन्स विनर, रनरअप, बेस्ट ग्रस, लेडिज विनर, लेडिज रनरअप, सिनियर विनर, सुपर सिनियर विनर, मोस्ट बर्डिज, क्लोजेस्ट टु द पिन, लोङ्गेस्ट ड्राइभलगायतका विधामा पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको विशेष आकर्षणका रूपमा होल नम्बर १० मा ‘होल इन वन’ गर्ने पहिलो खेलाडीले टाटा नेक्सन कार जित्ने अवसर पाउनेछन् । यस पुरस्कारले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने कम्पनीको अपेक्षा छ ।

सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले प्रतियोगिताले कम्पनीका सरोकारवाला र कर्पोरेट क्षेत्रका प्रतिनिधिबीच सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने बताए । उनका अनुसार खेलकुदका यस्ता कार्यक्रमले प्रतिस्पर्धासँगै आपसी सद्भाव, सहकार्य र व्यावसायिक सम्बन्धलाई बलियो बनाउँछन् ।

कम्पनीले खेलकुदका माध्यमबाट सरोकारवालासँग विश्वास र दीर्घकालीन साझेदारी सुदृढ गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।

सलिकोले विगत तीन दशकदेखि नेपालमा निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीले व्यक्तिगत ग्राहक, व्यवसाय तथा कर्पोरेट क्षेत्रलाई लक्षित गरी विभिन्न बीमा सेवा उपलब्ध गराउँदै आएको छ । 

Share News