काठमाडौं । बतास एमएडब्लु कमर्सियल भेहिकल्सले नेपालमा बीएस–६ (बीएसभीआई) उत्सर्जन मापदण्डअनुरूपका आइसर ब्रान्डका नयाँ ट्रक तथा बस सार्वजनिक गरेको छ ।
कम्पनीले बुधबार इटहरीमा आयोजित कार्यक्रममा अत्याधुनिक प्रविधिमा आधारित ट्रक तथा बसका विभिन्न मोडल सार्वजनिक गरेको हो ।
सोही अवसरमा ग्राहकहरूलाई १६ वटा सवारीसाधन हस्तान्तरण गरिएको छ भने थप ३४ वटा बुकिङ भएका छन् ।
कम्पनीका अनुसार बुकिङ भएका सवारीसाधनमध्ये १७ वटा हलुका तथा मध्यम क्षमताका ट्रक, चारवटा स्कुल बस, चारवटा ठूला यात्रुवाहक बस र नौवटा हेभी ड्युटी ट्रक छन् ।
नयाँ ट्रक तथा बसमा आइसरको अत्याधुनिक ‘युटेक–६’ प्रविधि प्रयोग गरिएको छ । यो प्रविधिले इन्धन खपत कम गर्नुका साथै इन्जिनको कार्यक्षमता बढाउने कम्पनीको दाबी छ ।
यसमा इन्धन किफायती इन्जिन र धुवाँबाट निस्कने हानिकारक पदार्थ कम गर्ने आधुनिक प्रणाली जडान गरिएको छ । यसले वातावरणीय प्रदूषण घटाउनुका साथै सवारीसाधनको सञ्चालन खर्च कम गर्न सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
आइसरले नेपालमा प्रो २०००, प्रो ३००० र प्रो ६००० सिरिजका ट्रक ल्याएको छ । यी ट्रक ५ टनदेखि ५५ टनसम्मको कुल भारवहन क्षमतामा उपलब्ध छन् ।
त्यस्तै, यात्रुवाहक बसतर्फ स्टारलाइन र स्काइलाइन सिरिजका २५ देखि ७० यात्रु क्षमताका बस उपलब्ध गराइएको छ ।
नयाँ सवारीसाधनमा चालकको सहजता र इन्धन बचतलाई ध्यानमा राखेर विभिन्न सुविधा थपिएका छन् । एमबुस्टर प्लस प्रविधिले गाडीको भारअनुसार तीनवटा पावर मोड उपलब्ध गराउँछ ।
त्यस्तै, फ्युल कोचिङ प्रणालीले गाडी चलाइरहेकै बेला चालकलाई इन्धन बचत गर्ने तरिकाबारे सुझाव दिन्छ ।
लामो दूरीको यात्रामा चालकलाई सहज बनाउन क्रुज कन्ट्रोल सुविधासमेत उपलब्ध गराइएको छ । यसले निश्चित गति कायम राखेर सवारी चलाउन सहयोग गर्छ ।
कार्यक्रममा बतास एमएडब्लु कमर्सियल भेहिकल्सका प्रबन्ध निर्देशक शान्ताराज बतासले नयाँ सवारीसाधनप्रति ग्राहकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताए ।
उनले भने, ‘नयाँ ट्रक तथा बस सार्वजनिक गरेलगत्तै प्राप्त बुकिङले आइसरप्रति ग्राहकको विश्वास देखाएको छ। यसले हामीलाई गुणस्तरीय उत्पादनसँगै प्रभावकारी बिक्रीपछिको सेवा उपलब्ध गराउन थप प्रोत्साहित गरेको छ ।’
उनले ग्राहकका सवारीसाधन नियमित सञ्चालनमा रहने वातावरण बनाउन समयमै मर्मतसम्भार तथा भरपर्दो सेवा उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाए ।
बतास एमएडब्लु कमर्सियल भेहिकल्स नेपालका लागि आइसर ट्रक तथा बसको आधिकारिक वितरक हो । कम्पनीले देशभर १४ शाखा, पाँच डिलर, १३२ खुद्रा बिक्रेता र १६ सेवा केन्द्रमार्फत बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ ।
आइसर ट्रक्स एन्ड बस भोल्भो ग्रुप र आइसर मोटर्स लिमिटेडको संयुक्त लगानीमा स्थापित भीई कमर्सियल भेहिकल्स लिमिटेडअन्तर्गतको ब्रान्ड हो ।
सन् २००८ देखि सञ्चालनमा रहेको उक्त कम्पनीले ट्रक, बस, इन्जिन तथा अन्य व्यावसायिक सवारीसाधनसम्बन्धी उत्पादन गर्दै आएको छ ।