काठमाडौं । फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ । भाटभटेनीले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा प्रयोग गर्न ती सवारीसाधन लिएको हो ।
एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिअन्तर्गत सञ्चालित फोटोन मोटर्स नेपालले व्यावसायिक ढुवानीमा विद्युतीय सवारीको प्रयोग विस्तार गर्ने उद्देश्यसहित सहकार्य गरिएको जनाएको छ ।
कम्पनीका अनुसार विद्युतीय सवारीले इन्धनमा आधारित ढुवानीको विकल्प दिनुका साथै सञ्चालन खर्च न्यूनीकरणमा सहयोग पुर्याउनेछन् ।
हस्तान्तरण कार्यक्रममा एमएडब्लु वृद्धि कमर्सियल भेइकल्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिलकुमार बरालले भाटभटेनीसँगको सहकार्यले नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको प्रयोग विस्तार गर्न योगदान दिने बताए ।
उनले एकैपटक १४ वटा सवारी हस्तान्तरण हुनुलाई दिगो यातायातप्रतिको व्यावसायिक क्षेत्रको बढ्दो विश्वासका रूपमा व्याख्या गरे । नेपाली व्यवसायको आवश्यकताअनुसार विश्वसनीय र आधुनिक विद्युतीय सवारी उपलब्ध गराउनु कम्पनीको प्राथमिकता रहेको उनको भनाइ छ ।
भाटभटेनी सुपरमार्केटका निर्देशक पहलमान गुरुङले वातावरणमैत्री व्यवसाय सञ्चालनलाई संस्थाले प्राथमिकता दिँदै आएको बताए । फोटोनसँगको सहकार्यले दिगो ढुवानी प्रणाली विकासमा सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । उनका अनुसार ढुवानी तथा वितरणमा विद्युतीय सवारी समावेश गर्ने पहलले अन्य व्यवसायलाई पनि यस्ता सवारी प्रयोग गर्न प्रोत्साहित गर्न सक्छ ।
कम्पनीले वातावरणमैत्री प्रविधि, सञ्चालन खर्चमा बचत र कार्यक्षमताका आधारमा आफ्ना विद्युतीय सवारी व्यावसायिक ढुवानीका लागि उपयोगी हुने दाबी गरेको छ । भाटभटेनीसँगको सहकार्यबाट विद्युतीय व्यावसायिक सवारी बजारमा आफ्नो उपस्थिति विस्तार हुने अपेक्षा फोटोन मोटर्स नेपालले गरेको छ ।