काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल दिनुपर्ने नेपाल आयल निगमको निर्देशनको स्वागत गरेको छ ।
महासंघले बुधबार विज्ञप्ति जारी गर्दै निगमको निर्णयले ग्यासको कारोबार व्यवस्थित बनाउन सहयोग पुग्ने बताएको हो ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले गत कात्तिक ९ गते सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा बिल दिने व्यवस्था मिलाउन निर्देशन दिएको थियो । ग्यास बिक्रेताले उपभोक्तालाई ग्यास बिक्री गरेपछि बिल नदिएको गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो ।
महासंघले ग्यासको कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन अनिवार्य रूपमा भ्याट बिल वा बीजक जारी गर्ने व्यवस्था महत्वपूर्ण हुने जनाएको छ । यसले ग्यासको कारोबारलाई पारदर्शी बनाउन पनि सहयोग पुग्ने महासंघको भनाइ छ ।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले सबै ग्यास व्यवसायीलाई निगमको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन् । उनले उपभोक्तालाई पनि ग्यास खरिद गर्दा बिक्रेतासँग अनिवार्य रूपमा बिल माग्न र लिने बानी बसाल्न अनुरोध गरेका छन् ।