रुसमा प्लेग फैलिएको हो ? यस्तो छ वास्तविकता

डब्ल्यूएचओले मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

काठमाडौं । रुसको साइबेरियास्थित इर्कुत्स्क क्षेत्रमा प्लेग फैलिएको भन्दै सामाजिक सञ्जालमा विभिन्न दाबी भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सहितका अन्तर्राष्ट्रिय स्वास्थ्य निकायले घटनालाई नजिकबाट निगरानी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

तर अहिलेसम्म उपलब्ध आधिकारिक विवरणले रुसमा प्लेगको प्रकोप फैलिएको पुष्टि भने गरेको छैन ।

घटनाको केन्द्रमा इर्कुत्स्कस्थित एन्टी–प्लेग रिसर्च इन्स्टिच्युट अफ साइबेरिया एन्ड द फार इस्टमा कार्यरत २८ वर्षीया प्रयोगशाला कर्मचारी दार्या शिपिलोभाको मृत्यु भएको छ । 

उनको गत अक्टोबर २ मा मृत्यु भएको हो । रुसी अधिकारीहरूले उनको मृत्युको कारण अहिलेसम्म स्पष्ट नभएको ‘अज्ञात निमोनिया’ भएको बताएका छन् । तर शिपिलोभा प्लेगजस्ता खतरनाक रोगका जीवाणुमाथि अनुसन्धान गर्ने संस्थामा काम गर्ने भएकाले उनको मृत्युले अन्तर्राष्ट्रियस्तरमै चासो बढाएको हो ।

के साँच्चै प्लेगबाट उनको मृत्यु भएको हो ?

रुसी स्वास्थ्य निगरानी निकाय (रोस्पोत्रेब्नादजोर)ले शिपिलोभाको मृत्यु प्लेगका कारण भएको पुष्टि गरेको छैन । निकायका अनुसार उनको शरीरमा उनको कामसँग सम्बन्धित कुनै खतरनाक सूक्ष्मजीव फेला परेको छैन । उनीसँग सम्पर्कमा आएका व्यक्तिहरूमा समेत प्लेग संक्रमण भेटिएको छैन ।

यद्यपि, डब्ल्यूएचओले भने उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ । डब्लूएचओका अनुसार रुसी अधिकारीहरूले आफूलाई दिएको जानकारीमा इर्कुत्स्कमा प्लेगको कुनै पुष्टि भएको केस नरहेको बताएका छन् । तर शिपिलोभाको मृत्युको वास्तविक कारणबारे थप परीक्षण भइरहेको छ ।

यसको अर्थ अहिलेको अवस्थामा ‘उनी प्लेगबाट मरिन्’ भन्न पनि मिल्दैन र ‘प्लेगको सम्भावना पूर्ण रूपमा खारेज भइसक्यो’ भन्न पनि मिल्दैन ।

प्रयोगशालामा प्लेगको ट्युब फुटेकै हो त ? यही विषयले घटनालाई थप रहस्यमय बनाएको हो । केही रुसी तथा स्वतन्त्र सञ्चारमाध्यममा शिपिलोभा प्रयोगशालामा काम गर्ने क्रममा ‘यर्सिनिया पेस्टिस’ नामक प्लेग गराउने जीवाणु भएको ट्युब फुटेको र त्यसपछि उनी बिरामी परेको दाबी गरिएको छ ।

तर यो घटना भने स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।

रुसको रोस्पोत्रेब्नादजोरले प्रयोगशालामा त्यस्तो दुर्घटना भएको कुरा अस्वीकार गरेको छ । त्यस्तै, उनको मृत्यु र प्रयोगशालामा काम गरेको अवस्थाबीच प्रत्यक्ष सम्बन्ध रहेको प्रमाण सार्वजनिक गरिएको छैन ।

त्यसैले अहिले सामाजिक सञ्जालमा देखिएका ‘ल्याबबाट प्लेग लिक भयो’ वा ‘प्लेगको ट्युब फुटेपछि संक्रमण भयो’ भन्ने दाबीलाई तथ्यका रूपमा प्रस्तुत गर्नु हतार हुनेछ । शिपिलोभाको मृत्यु भएपछि उनीसँग सम्पर्कमा आएका करिब २०० जनालाई स्वास्थ्य निगरानीमा राखिएको थियो । उनीहरूको परीक्षणसमेत गरिएको थियो ।

यसले प्लेग पुष्टि भएको भन्ने अर्थ दिँदैन । तर यदि मृतकलाई न्यूमोनिक प्लेग भएको भए नजिकको सम्पर्कबाट अरू व्यक्तिमा संक्रमण फैलिन सक्ने भएकाले अधिकारीहरूले सम्भावित जोखिमलाई ध्यानमा राखेर सावधानी अपनाएका हुन् ।

रुसका अधिकारीहरूका अनुसार अहिलेसम्म ती सम्पर्कमा आएका व्यक्तिहरूमा प्लेग वा अन्य खतरनाक संक्रमण भेटिएको छैन । करिब ६० प्रतिशत व्यक्तिलाई निगरानीबाट मुक्तसमेत गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इर्कुत्स्कको अस्पताल र सम्बन्धित संस्थामा पनि सावधानीका उपाय अपनाइएको थियो । अनुसन्धान संस्थाका ६० भन्दा बढी कर्मचारीलाई समेत निगरानीमा राखिएको रिपोर्ट आएको थियो ।

के भन्छ डब्लूएचओ ?

डब्लूएचओका प्रवक्ता क्रिस्टियन लिन्डमायरले अक्टोबर ६ मा घटनाबारे जानकारी दिँदै मृत्युको कारण अहिलेसम्म आधिकारिक रूपमा पुष्टि नभएको जानकारी दिए ।

उनका अनुसार मृतकसँग सम्पर्कमा आएका सबै व्यक्तिको पहिचान गरिएको र उनीहरूलाई निगरानीमा राखिएको छ । अहिलेसम्म ती व्यक्तिहरूमा रोगका लक्षण देखिएका छैनन् । रुसी अधिकारीहरूबाट प्राप्त जानकारीअनुसार सम्पर्कमा आएका व्यक्तिहरूको परीक्षण गर्दा खतरनाक संक्रामक रोगका जीवाणु पनि भेटिएका छैनन् ।

डब्लूएचओको प्रारम्भिक जोखिम मूल्यांकनअनुसार इर्कुत्स्कमा जोखिम मध्यमदेखि न्यून, रुसभर न्यून तथा युरोपेली क्षेत्रमा अत्यन्त न्यून रहेको छ ।

अर्थात, डब्लूएचओको अहिलेको मूल्यांकनले यो घटना कोरोनाभाइरस महामारीजस्तो विश्वव्यापी संकटको अवस्थामा पुगिसकेको छैन भन्ने देखाउँछ ।

निगरानीमा युरोप पनि 

युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल (ईसीडीसी)ले पनि घटनालाई नजिकबाट निगरानी गरिरहेको छ ।

ईसीडीसीका अनुसार अहिले उपलब्ध सीमित जानकारीमा दोस्रो संक्रमित व्यक्ति भेटिएको छैन र मानिसबाट मानिसमा निरन्तर संक्रमण फैलिरहेको प्रमाण पनि छैन ।

यदि निमोनिक प्लेग पुष्टि भएमा बिरामीलाई अलग राखेर उपचार गर्नुपर्ने हुन्छ । तर यो रोग समयमै पहिचान भएमा एन्टिबायोटिकबाट उपचार गर्न सकिन्छ । ईसीडीसीले समेत प्लेगको उपचारका लागि प्रभावकारी एन्टिबायोटिक उपलब्ध रहेको जनाएको छ ।

कस्तो खाले रोग हो प्लेग ?

प्लेग ‘यर्सिनिया पेस्टिस’ नामक ब्याक्टेरियाबाट हुने संक्रामक रोग हो । इतिहासमा लाखौं मानिसको ज्यान लिएको ‘ब्ल्याक डेथ’ पनि यही ब्याक्टेरियासँग सम्बन्धित थियो ।

प्लेगका मुख्य तीन प्रकार हुन्छन्, ब्युबोनिक प्लेग, सेप्टिसेमिक प्लेग र न्युमोनिक प्लेग ।

ब्युबोनिक प्लेग सामान्यतः संक्रमित मुसा वा अन्य जनावरमा रहेका संक्रमित उपियाँको टोकाइबाट मानिसमा सर्छ । तर न्युमोनिक प्लेग फोक्सोमा संक्रमण गर्ने सबैभन्दा गम्भीर रूप हो । संक्रमित व्यक्तिले खोक्दा वा श्वास फेर्दा निस्कने श्वासप्रश्वासबाट नजिकको व्यक्तिमा संक्रमण फैलिन सक्छ ।

यसका सुरुवाती लक्षण ज्वरो, चिसो लाग्ने, टाउको तथा शरीर दुख्ने, कमजोरी, खोकीलगायत हुन सक्छन् । उपचार नगरेमा न्युमोनिक प्लेग घातक हुन सक्छ । तर समयमै पहिचान गरी एन्टिबायोटिक उपचार सुरु गरेमा निको पार्न सकिन्छ ।

रुसमा प्लेग पूर्ण रूपमा नयाँ रोग पनि होइन

यहाँ अर्को महत्त्वपूर्ण कुरा के हो भने साइबेरियामा प्लेग गराउने जीवाणु प्राकृतिक रूपमा पाइन्छ ।

यर्सिनिया पेस्टिस केही जंगली साना स्तनधारी जनावर तथा तिनमा रहेका उपियाँमा प्राकृतिक रूपमा रहन सक्छ । त्यसैले प्लेग संसारबाट समाप्त भइसकेको रोग होइन । रुसमा भने मानिसमा यसको संक्रमण दुर्लभ छ ।

यसै कारण इर्कुत्स्कस्थित संस्थाको स्थापना पनि प्लेग नियन्त्रण र अनुसन्धानका लागि भएको हो । यो संस्था सन् १९३४ मा स्थापना भएको र पछि हैजा तथा एन्थ्राक्सलगायत अन्य खतरनाक रोगमाथि समेत काम गर्दै आएको छ।

अमेरिकाको चासो किन ?

घटनाप्रति अमेरिकाले समेत चासो देखाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुसलाई घटनाबारे थप जानकारी पारदर्शी रूपमा सार्वजनिक गर्न आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत रुसलाई आवश्यक सहयोग गर्न आफू तयार रहेको बताएका छन् । यसले गर्दा पनि यो घटना अन्तर्राष्ट्रिय तहमा थप चर्चामा आएको हो । तर अमेरिकाले चासो देखाएको वा थप जानकारी मागेको अर्थ रुसमा प्लेग फैलिएको पुष्टि भयो भन्ने होइन ।

Share News