काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित उनीसँग निकट सम्बन्ध रहेका व्यक्तिहरूमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अघि बढाइएको छ । अनुसन्धानकै क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार जबरा, उनका आफन्त तथा उनीसँग सम्बन्ध देखिएका केही व्यक्तिको घरमा छापा मारेको हो ।
विभाग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय निकट स्रोतका अनुसार जबराको काठमाडौंस्थित निवाससहित दूरसञ्चार व्यवसायी दीपक तिमल्सिना, उच्च अदालतका पूर्वन्यायाधीश नवराज थपलिया र नारायण दाहालको घरमा विभागको टोली पुगेको हो ।
जबराका भाई प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको निवासमा समेत अनुसन्धान टोलीले खानतलासी गरेको स्रोतले जनाएको छ । जबराका घरमा काम गर्ने व्यक्तिसँग सम्बन्धित स्थानमा समेत टोली पुगेको बताइएको छ ।
अनुसन्धानका क्रममा महत्त्वपूर्ण कागजात तथा अन्य प्रमाण संकलन गर्ने काम भइरहेको स्रोतको दाबी छ । जबरा र उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरूबीचको सम्बन्ध तथा उनीहरूको आर्थिक कारोबारबारे प्राप्त सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको बताइएको छ ।
प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार अनुसन्धानको दायरालाई अझ फराकिलो बनाउने तयारी छ । स्रोतले जबरासँग सम्बन्धित व्यक्तिहरूको सम्पत्ति तथा आर्थिक कारोबारको समेत अध्ययन गरिने र आवश्यक प्रक्रिया पूरा गरेर बैंक खाता रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने तयारी भइरहेको जनाएको छ ।
यसअघि भदौ १० गते राति जबरालाई महाराजगन्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई करिब १२ घण्टा प्रहरी कार्यालयमा राखेर छाडिएको थियो । त्यस क्रममा प्रहरीले उनको मोबाइलसमेत नियन्त्रणमा लिएको थियो । पछि मोबाइल फिर्ता गरिएको थियो । प्रहरीले भने उनलाई सुरक्षाका लागि कार्यालय लगिएको बताएको थियो ।
जबरासँग सम्बन्धित अनुसन्धानका क्रममा झापाका इनम सापकोटाको नामसमेत जोडिएको स्रोतले जनाएको छ । सापकोटा हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेको बताइएको छ । उनीमार्फत व्यवसायी दीपक भट्टलाई कारागारबाट छुटाउन पहल भएको हुन सक्ने विषयमा समेत अनुसन्धान भइरहेको सुरक्षा स्रोतको दाबी छ ।
यसैबीच, जबरासँग सम्बन्ध देखिएको भनिएका व्यक्तिसँगको सम्पर्कलाई लिएर सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक वंशी दाहालसमेत अनुसन्धानको घेरामा परेका छन् । सरकारले सोमबार दाहाललाई निलम्बन गर्दै उनीमाथि छानबिन अघि बढाएको छ । उनलाई बिहीबारसम्म प्रतिवेदन बुझाउन भनिएको छ ।
जबराविरुद्ध यसअघि संसदमा महाभियोग प्रस्तावसमेत दर्ता भएको थियो । २०७८ फागुन १ गते उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । महाभियोग प्रस्ताव टुंगोमा नपुगे पनि उनी सर्वोच्च अदालत फर्कन पाएनन् र पछि उनको कार्यकाल समाप्त भएको थियो ।
हाल अघि बढाइएको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भने उनको सम्पत्ति, आर्थिक कारोबार र उनीसँग सम्बन्धित व्यक्तिहरूसँगको सम्भावित वित्तीय सम्बन्धमा केन्द्रित रहेको स्रोतहरूले बताएका छन् । त्यसका लागि उनको सम्पत्तिसँगै बैंक खाता पनि रोक्का गर्ने तयारी भइरहेको बुझिएको छ ।