दशैंमा यात्रुलाई टिकटकै पीर, २२ हजारसम्म हवाइ भाडा

यात्रुको चाप बढ्दा, टिकट पाउनै मुस्किल

काठमाडौं । दशैं-तिहार नजिकिँदै गर्दा राजधानी काठमाडौंमा रहेका सर्वसाधारण घर फर्किने क्रममा छन् । सडक मार्गमा यात्रुको चाप बढ्नुका साथै कतिपय रुटमा सडक अवरुद्ध हुने जोखिमसमेत रहने भएकाले लामो दूरीका यात्रुका लागि हवाई यात्रा उत्तम विकल्प बन्ने गरेको छ ।

यात्रुको चाप बढ्ने यही समयमा हवाई टिकटको मागसमेत बढ्छ । माग बढेसँगै एउटै गन्तव्यका लागि उपलब्ध टिकटको भाडा फरक-फरक हुने र सस्तो ‘फेयर क्लास’का टिकट सकिएपछि महँगो टिकट मात्र उपलब्ध हुने हुँदा कम्पनीहरूले त्यही अधिकतम टिकट बेच्ने गरेका छन् । 

सामान्य समयमा तुलनात्मक रूपमा कम मूल्यमा पाइने टिकट दशैंको मुख्य समयमा महँगो पर्न जाँदा यात्रुको यात्रा खर्चसमेत बढ्ने गरेको छ ।

अघिल्ला दशैंमा यात्रुले महँगो भाडा तिर्नुपर्ने अवस्था देखिए पनि यसपटक भने केही राहत पाएका छन् । यसपटक एयरलाइन्स कम्पनीहरूले अधिकतम भाडादरमा मात्रै टिकट बिक्री गर्ने वा तोकिएको सीमाभन्दा बढी भाडा लिने प्रवृत्तिको साटोमा न्यूनतम भाडादरलाई पनि प्राथामिकता दिएको देखिएको छ ।

तर, यात्रु चापको कारणसस्तो फेयरका टिकट सकिँदै गएको र पछि टिकट बुकिङ गर्नेहरूले भने अधिकतम टिकट नै लिनुपर्ने बाध्यता भने यसपटक पनि दोहोरिएको छ । 

एयरलाइन्सका कर्मचारीका अनुसार केही गन्तव्यबाहेक अधिकांश रुटका टिकट लगभग भरिइसकेका छन् । विशेषगरी बुद्ध एयरलाइन्सका अधिकांश गन्तव्यका टिकट अग्रिम बुकिङ भइसकेका छन् ।

कुन एयरलाइन्सको कस्तो छ भाडादर ?

गन्तव्य एउटै भएपनि एयरलाइन्सअनुसार हवाई भाडादर फरक–फरक रहेको छ । श्री एयरलाइन्सले सार्वजनिक गरेको दशैंलक्षित भाडादरअनुसार काठमाडौं-भद्रपुरको न्यूनतम भाडा दशैंअघि ८ हजार रुपैयाँ रहेकामा घटस्थापनाका दिन ११ हजार ९ सय रुपैयाँ पुगेको छ । 

त्यस्तै, काठमाडौं-विराटनगरको न्यूनतम् भाडा दशैंअघि ७ हजार ५ सय रुपैयाँ रहेकामा घटस्थापनाका दिन ८ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । 

कम्पनीले काठमाडौं-धनगढीका लागि दशैंको समयमा १८ हजार ३ सय रुपैयाँदेखि २१ हजार ९८० रुपैयाँसम्म अधिकतम भाडादर कायम गरेको छ ।

एयरलाइन्सले पोखरा, सुर्खेतलगायत केही रुटमा भने दशैंको समयमा पनि न्यूनतम भाडामै टिकट बिक्री गरिरहेको देखिन्छ । यो समाचार तयार पार्दासम्म अर्थात् मंगलबारसम्म काठमाडौं-जनकपुर, काठमाडौं-सिमरा र काठमाडौं-भरतपुर रुटका टिकट भने पूर्ण रूपमा बिक्री भइसकेका छन् ।  

null

स्रोत : सम्बन्धित कम्पनीको वेबसाइट

यति एयरलाइन्सले दशैंअघि काठमाडौं भद्रपुरको लागि न्यूनतम भाडा ८ हजार ३ सय लिने गरेकोमा घटस्थापनाका ११ हजार २७८ रुपैयाँसम्म लिएको छ । त्यस्तै, फुलपातीको दिनमा अधिकतम भाडा १५ हजार १४६ सम्म तय गरिएको छ ।

एयरलाइन्सले काठमाडौं-विराटनगरको लागि अरू समयमा ७ हजार ५ सय रुपैयाँसम्मको न्युनतम टिकट बेच्ने गरेकोमा दशैंको समयमा ९ हजार १९३ देखि १२ हजार २११ सम्म अधिकतम भाडा कायम गरेको छ । 

त्यस्तै, काठमाडौं-पोखरा र काठमाडौं-जनकपुर रुटमा भने कम्पनीले अरू समयमै लिने न्यूनतम् भाडादर कायम गरेको छ । 

null

स्रोत : सम्बन्धित कम्पनीको वेबसाइट

बुद्ध एयरको राहत : न्यूनतम् र मध्यम भाडादरमै टिकट बिक्री 

बुद्ध एयरले यसपटकको दशैंमा न्यूनतम र मध्यम श्रेणीको भाडादरमा मात्रै टिकट बिक्री गरिरहेको छ । अविरल वर्षाका कारण देशभरका मुख्य राजमार्गहरू पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको परिस्थितिमा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अधिकतम भाडादर नलगाउने घोषणा गरेको थियो ।  

सोही निर्णयअनुसार नै अहिले दशैंका लागि अग्रिम तथा नियमित टिकट बिक्री न्यूनतम् र मध्यम दरमै भइरहेको कम्पनीका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए ।

सूचना अधिकारी कर्णका अनुसार दशैंका लागि यात्रुले करिब तीन महिनाअघिदेखि नै टिकट बुकिङ गर्न थालेका थिए । कम्पनीले यसपटक अधिकतम भाडादर लागू नगरी न्यूनतम (लो फेयर) भाडामै टिकट बिक्री गरेकाले पनि अग्रिम बुकिङ बढेको उनको भनाइ छ । 

‘हामीले यसपालि दशैंमा अधिकतम भाडा लिएका छैनौं, त्यसैले पनि यसपालि सबै टिकट बुकिङ भइसकेको हो,’ कर्णले भने ।  

यसबाट कम्पनीलाई वित्तीय भार परे पनि यात्रुको सहजतालाई प्राथमिकता दिइएको उनले बताए ।

null

स्रोत : सम्बन्धित कम्पनीको वेबसाइट

वायु सञ्चालक संघ नेपालका महासचिव मुरलीधर जोशीले एयरलाइन्स कम्पनीहरूले यात्रुको मागअनुसार भाडादर निर्धारण गर्ने जानकारी दिए । उनका अनुसार न्यूनतम भाडादरका टिकट बिक्री भएपछि यात्रुको चापअनुसार क्रमशः मध्यम र अधिकतम भाडादरतर्फ टिकट खुल्दै जान्छ ।

‘अरू बेला केही नहुनुभन्दा एयरलाइन्स कम्पनीहरूले डिस्काउन्ट दिएर भए पनि लो फेयरका टिकट बिक्री गरेर जहाज सञ्चालन गरिरहेका हुन्छन्,’ उनले भने, ‘त्यसमा पनि कुन फेयरमा कति प्रतिशत छुट दिने भन्ने मापदण्ड हुन्छ ।’

उनका अनुसार भाडादर म्यानुअलीभन्दा पनि सिस्टमले नै निर्धारण गर्छ । डिमान्डअनुसार भाडादर परिवर्तन हुन्छ । 

तर यसपटक बाढीका कारण एयरलाइन्स कम्पनीहरूले सकेसम्म एउटै भाडादरमा टिकट बिक्री गर्ने विषयमा आपसमा सल्लाह गरेको उनले जानकारी दिए । त्यसकारण यसपटक कम्पनीहरूले विगतको तुलनामा बढी भाडा लिन नहुने उनको भनाइ छ ।

जोशीका अनुसार सामान्यतया हवाई टिकटबारे जानकार यात्रुले पहिले नै आफ्नो ट्राभल प्लान बनाएर टिकट बुक गर्ने भएकाले न्यूनतम भाडादरका टिकट छिट्टै सकिन सक्छन् । 

‘सिस्टममा भएको कुरालाई एयरलाइन्स कम्पनीहरूले दायाँबायाँ गर्छन् जस्तो लाग्दैन,’ उनले भने, ‘उनीहरूले सिस्टमेटिक रूपमै भाडादर कायम गरेका हुन्छन् ।’

चाडपर्वमा हवाई भाडा महँगो देखिनुको अर्को कारण यात्रुको एकतर्फी चाप पनि रहेको जोशीले बताए । उनका अनुसार दशैं–तिहारमा जानेतर्फ जहाज पूर्ण क्षमतामा सञ्चालन भए पनि फर्किने क्रममा यात्रु कम हुँदा जहाज खालीजस्तै फर्किनुपर्ने हुन्छ । त्यसले गर्दा कम्पनीहरूलाई खासै प्रोफिट हुँदैन । 

उनले भने, ‘फर्किँदा खाली आउँदा लागतको हिसाबले नियमित समयमा एउटै सेक्टरबाट हुने आम्दानीभन्दा चाडपर्वमा कम आम्दानी हुने अवस्था हुन्छ ।’

नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्स कम्पनीहरूले बिक्री गर्ने हवाई टिकटको न्यूनतम् र अधिकतम भाडादर निर्धारण गरेको  छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार तोकिएको अधिकतम भाडादरभन्दा बढी मूल्यमा टिकट बिक्री गर्न पाइँदैन । 

तर दशैं–तिहारजस्ता चाडपर्वमा यात्रुको चाप बढ्दा न्यूनतम भाडादरका टिकट छिट्टै सकिने र यात्रुले महँगो अर्थात् अधिकतम भाडादरका टिकट लिनुपर्ने अवस्था आउने गरेको उनले बताए ।

यसपटक भने रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीपछि प्राधिकरणले एयरलाइन्स कम्पनीहरूलाई अधिकतम भाडादरमा टिकट बिक्री नगर्न र सकेसम्म न्यूनतम भाडादरमै टिकट उपलब्ध गराउन निर्देशन दिएको भुलले बताए । 

उनका अनुसार प्राधिकरणले करिब दुई-तीन हप्ता अघि एयरलाइन्स कम्पनीहरूलाई बोलाएर सस्तो फेयरमा टिकट उपलब्ध गराउन निर्देशन दिनुका साथै लिखित पत्रसमेत पठाएको थियो ।

भुलका अनुसार यसअघि केही एयरलाइन्स कम्पनीहरूले दशैं–तिहारजस्ता चाडपर्वमा न्यूनतम् भाडादरका टिकट बिक्री नगरी मध्यम वा अधिकतम भाडादरका टिकट मात्रै खुला गर्ने गरेका थिए । 

तर, यसपटक प्राधिकरणको निर्देशन र एयरलाइन्स कम्पनीहरूसँगको समन्वयपछि न्यूनतम्, मध्यम र अधिकतम गरी सबै तहका भाडादरमा टिकट खुला गरिएको उनले बताए ।

Share News