बाढीपछि विद्यार्थीको भविष्य अन्यौलमा

काठमाडौं । काठमाडौंको आईएसटी कलेजमा स्नातक दोस्रो वर्षमा अध्ययनरत २१ वर्षीया देजिन डोल्मा तामाङ केही समयअघि आएको बाढीका कारण कलेज जान पाएकी छैनन् । जुन बाढीले उनको स्याफ्रुबेंसीमा रहेको घर मात्र बगाएन, आमाबुबा र भविष्यका सुनौला सपनाहरू पनि सधैंका लागि खोस्यो । 

कराते खेलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल एक प्रतिभावान खेलाडी अहिले काठमाडौंको एक कोठामा बस्दै आफ्नो उज्यालो भविष्य अन्धकार बनेको टुलुटुलु हेर्न विवश छिन् । 

null

देजिन डोल्मा तामाङ ।

देजिन केवल एक विद्यार्थी मात्र होइनन्, उनी नेपालकी एक उत्कृष्ट कराते खेलाडी हुन् । उनले आफ्नो कडा मिहिनेत र पसिनाको बलमा नेपालको प्रतिनिधित्व गर्दै सन् २०२१ मा बंगलादेशमा भएको प्रतियोगितामा स्वर्ण पदक जितिन्, । 

त्यस्तै, सन् २०२३ मा दक्षिण कोरियामा आयोजित प्रतियोगितामा फेरि एकपटक स्वर्ण पदक जितेर देशको शिर उँचो बनाइन् । 

तर, देशका लागि पदक जित्ने यी प्रतिभावान खेलाडी आज आफ्नो दैनिक जीवन चलाउन र पढाइलाई निरन्तरता दिन संघर्ष गरिरहेकी छिन् । 

बाढीपछिको पीडादायी यथार्थ सुनाउँदै देजिन भन्छिन, ‘अहिले त मेरो संसार नै फरक भएको छ, पहिला जस्तो अहिले केही पनि छैन । कलेज जान सकेकी छैन, पढाइमा ध्यानै जाँदैन । न बस्ने घर छ, न त आमाबुबा, न सम्पत्ति नै छ ।’

उनका बुबाले चिलिमे हाइड्रोपावरमा काम गर्थे भने आमाले स्याफ्रुबे्र्रंसीमै आफ्नै ‘फुलमुनी गेष्टहाउस’ चलाएर परिवारको लालनपालन गर्दै आएकी थिइन् । बाढीले परिवार, घर र व्यवसाय सबै बगायो । टिमुरेस्थित उनको मामाघरसमेत बाढीले पूर्ण रूपमा क्षति पुर्याएको छ ।

अहिले देजिन र उनका दाजु काठमाडौंमा कोठा भाडामा लिएर बसिरहेका छन् । तर, आश्रय लिने घर र अभिभावक गुमाएका उनीहरूका लागि काठमाडौंको महँगीमा कोठाभाडा तिर्न धौधौ परेको छ । 

देशका लागि गोल्ड मेडल जितेकी देजिन आज आफू नै ठूलो संकटको भुमरीमा फसेकी छिन् । उनी भन्छिन् ‘यदि खेल्न पाएँ भने म पढाइसँगै खेललाई पनि अगाडि बढाउन चाहन्छु । 

जो असली पीडित छन्, उसको समयमै राज्यले सहयोग गर्नुपर्ने उनी बताउँछिन् । ‘पीडित अहिलेसम्म पनि पीडित छन् । सरकरले सहयोग गर्ने मात्र भन्छ, तर महिनौं बितिसक्दा पनि हामीकहाँ कोही आएको छैनन्,’ उनले भनिन् ।

स्याफ्रुबेंसी बजार अहिले बाढीका कारण मरुभूमिजस्तै बगरमा परिणत भएको छ, जसले गर्दा स्थानीय बासिन्दासँगै त्यहाँका युवाहरूको भविष्य पनि अन्यौलमा परेको छ । 

कालिकास्थानस्थित कालिका माविमा स्नातक प्रथम वर्षमा अध्ययनरत २० वर्षका विशाल मगरको पीडा पनि यो विपत्तिभन्दा फरक छैन । उनको घर गोसाइँकुुण्ड गाउँपालिका वडा नं ५ स्याफ्रुबेंसीमा हो । 

null

विशाल मगर ।

बाढी आएको दिनदेखि नै उनी र उनका साथीहरू कलेज जान सकेका छैनन् । बाढीको त्यो भयानक दृश्यले उनीहरूको मनबाट अझै पनि डर हट्न सकेको छैन ।

श्री कोमीन स्याम वङफिलबाट १२ कक्षा उत्तीर्ण गरेका शंखर तामाङको पढाइलाई बाढीको विपत्तिले अस्तव्यस्त बनाइदिएको छ । 

null

शंखर तामाङ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नं. ५, स्याफ्रुबेंसीस्थित उनको घर अहिले बगरमा परिणत भएको छ भने बाढीकै कारण उनले नयाँ कलेजमा भर्ना हुन पाएका छैनन् । 

यस्तो कठिन अवस्थामा पनि शंखरलाई आफ्नोभन्दा साना भाइबहिनीको चिन्ताले बढी सताएको छ, जसको पढ्ने स्कुल नै बाढीले बगाएको छ । न बस्ने बासस्थान न त पढ्ने कलेज नै बाँकी रहेको छ ।

विपत्तिका यत्रा दिन बितिसक्दा पनि सरकारले अस्थायी पुलसम्म नबनाइदिँदा खाद्यान्न र राहत पुग्न नसकेर मानिसहरू भोकभोकै रहेको उनले सुनाए । 

रसुवा स्याफ्रुबेंसीकी २७ वर्षीया डोल्मा तामाङले बाढीमा आफ्ना हजुरबुवा र हजुरआमालाई सदाका लागि गुमाइन् । 

आफूहरू जीवित रहे पनि अहिले उनी आफ्ना बालबालिकाको पढाइलाई लिएर उत्तिकै चिन्तित छिन् । बाढीले कतिपय गाउँका विद्यालय नै पूर्ण रूपमा ध्वस्त पारिदिएपछि बालबालिकाहरूले राम्रोसँग पढ्न पाएका छैनन् । 

null

डोल्मा तामाङ ।

आफन्त गुमाउनुको शोक एकातिर छ, अर्कोतिर आफ्ना बालबालिकाको पढ्ने स्कुल नै नरहेपछि उनीहरूको शिक्षा र भविष्य अन्यौलमा परेको उनले सुनाइन् ।

नुवाकोटका विद्यार्थी

नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत १६ वर्षीया कल्पना तामाङको पढाइ र दैनिकी पूर्ण रूपमा प्रभावित भएको छ । 

बाढी आउनु १५ मिनेटअगाडि मात्र सूचना प्राप्त भएकाले घरका सामान, सुन र पैसा जोगाउन खोज्दा धेरैले ज्यान गुमाउनुपरेको उनी सुनाउँछिन् । 

null

कल्पना तामाङ ।

बाढीपछि विद्यालय नै नरहेकाले उनी कलेज जान पाएकी छैनन् ।

बाढीको यस्तो अवस्थामा वास्तविक बाढीपीडितले भन्दा गैर–पीडितहरूले पीडित बनेर फाइदा उठाइरहेकोमा उनले दुःख व्यक्त गरिन् । संदेनशील अवस्थामा सरकारले जसरी काम गर्नु पर्ने हो त्यसरी गर्न नसकेको उनको गुनासो छ ।

त्यस्तै, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा दिव्या राजवंशीको कलेज जाने दैनिकी बाढीपछि पूर्ण रूपमा रोकिएको छ । पढ्ने विद्यालय नै नरहेपछि अहिले उनी आफ्नो भविष्यलाई लिएर र अलमलमा परेकी छन् । 

null

दिव्या राजवंशी ।

प्रहरीले बाढी आयो भन्दै माइकिङ गर्न थालेपछि दिव्या पनि भागेर ज्यान बचाउन सफल भएकी थिइन् । 

सोही त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा अध्ययनरत अर्की छात्रा मुना घलेको अवस्था पनि फरक छैन, बाढीपछि उनको पनि कलेज जाने दैनिकी पूर्ण रूपमा ठप्प भएको छ । 

null

मुना घले ।

उनी भन्छिन्, ‘बाढीले आसपासको भूगोल र संरचना यसरी ध्वस्त पारिदिएको छ कि पहिले कलेज कहाँ थियो भनेर पहिचान गर्नसमेत मुस्किल परेको छ । बाढीपछि सबै कुरा बदलियो, अब पहिलेको जस्तो दिन रहेन ।’  

धादिङका विद्यार्थी 

धादिङको बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीया सीमा तामाङको पढाइ पनि बाढीका कारण पूर्ण रूपमा रोकिन पुगेको छ । 

null

सीमा तामाङ ।

भर्खरै शिक्षकहरूसँग परिचित हुँदै पढाइले गति लिन थालेकै बेला बाढीले विद्यालय भवन नै बगाइदिएपछि उनको अध्ययन रोकिन पुगेको हो ।

‘अहिले न त विद्यालय जाने अवस्था छ, न त पढाइलाई कसरी अगाडि बढाउने भन्ने कुनै बाटो नै देखिन्छ,’ उनले भनिन् । 

धादिङको आदर्श माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत शोबिता तामाङको पढाइ पनि बाढीका कारण रोकिन पुगेको छ । बाढीले घर नै बगाइदिएपछि उनको बसोबास र अध्ययन दुवै पूर्ण रूपमा प्रभावित बनेको हो ।

null

शोबिता तामाङ ।

सरकारले कम्तीमा सुरक्षित बासस्थानको व्यवस्था गरिदिए दैनिकी र पढाइ सम्हाल्न सहज हुने उनी बताउँछिन् । 

राहतका नाममा पौष्टिक आहारको सट्टा सधैं ‘जंक फुड’ (तयारी चाउचाउ, बिस्कुट आदि) मात्र बाँडिने गरेकोमा उनी असन्तुष्टि जनाउँछिन् । 

सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत हिरामाया तामाङको अवस्था पनि उस्तै छ । बाढीले घर बगाएपछि उनको परिवार अहिले होल्डिङ सेन्टरमा बस्न बाध्य भएको छ, जहाँ अध्ययनका लागि अनुकूल वातावरण छैन । 

null

बायाँबाट क्रमश : हिरामाया तामाङ, साेबिता तामाङ र शिक्षिका गीता अवस्थी ।

राहतका नाममा सधैं फास्ट फुड र तयारी खानेकुरा मात्र उपलब्ध गराइँदा स्वास्थ्यमा थप असर परिरहेको उनी बताउँछिन् । 

यस्ता आधारभूत समस्या, पौष्टिक आहार र पढ्ने वातावरण निर्माणमा सरकारले तत्काल ध्यान दिनुपर्ने उनी बताउँछिन् ।

धादिङको आदर्श माध्यमिक विद्यालयमा अंग्रेजी विषय अध्यापन गराउँदै आएकी ४४ वर्षीया शिक्षिका गीता अवस्थी बाढीको त्रासले शिक्षक र विद्यार्थी दुवैको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको बताउँछिन् । 

null

गीता अवस्थी ।

बाढीको कारण ठूला मानिसहरूकै दिमागले सही तरिकाले काम गर्न नसकेको अवस्थामा साना बालबालिकाहरू मानसिक रूपमा झन् बढी प्रभावित हुनु स्वाभाविक रहेको उनले बताइन । 

‘विद्यालय सञ्चालन भए पनि विद्यार्थीहरू त्रासमा रहने गरेका छन् । बाढी भन्ने शब्द त झन् सुन्नै हुँदैन । सबै पढाइ छाडेर आत्तिएर भाग्ने गर्छन्,’ उनले भनिन् ।

सरकारले बालबालिकासम्बधी केही मनोपरामर्शसम्बन्धी कार्यक्रमहरू चलाए राम्रो हुने उनको भनाइ छ ।

Share News