नाकामै अड्किए हजारौं गाडी

अटो शोमा बुक गर्नेको दशैं खल्लो

काठमाडौं । नाइमा र नाडा अटो शोमा बुक भएका हजारौं गाडी बाटोमै अड्किएका छन् । अटो शोमा बुकिङ गरेर दशैंमा खरिद गर्ने चाहना भएका ग्राहकलाई यसले समस्या सिर्जना गरेको छ । 

चीनबाट नेपाल भित्रिने हजारौं विद्युतीय तथा अन्य सवारीसाधन कोरला नाकासम्म आइपुगे पनि सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ आउन सकेका छैनन् ।

कतिपय गाडी भन्सार जाँचपासको प्रतीक्षामा छन् भने जाँचपास भइसकेका सयौं गाडी पनि सडकमै रोकिएका छन् । समस्या गाडीमा मात्र सीमित छैन । कोरला नाका हुँदै आउने सामान बोकेका कन्टेनर, फलफूल तथा अन्य सामग्रीसमेत सडक अवरोधका कारण बाटोमै रोकिएका छन् ।

दशैं-तिहारको मुख्य व्यापारिक सिजनमै चीनसँगको उत्तरी व्यापारिक मार्ग प्रभावित भएपछि अटोमोबाइल व्यवसायदेखि उपभोक्तासम्म यसको प्रत्यक्ष असर देखिन थालेको छ । 

अटोमोबाइल व्यवसायीहरूका अनुसार चीनबाट आउने लगभग सबै ब्रान्डका गाडी प्रभावित भएका छन् । नाडा तथा नाइमा अटो शोमा बुकिङ गरिएका धेरै गाडी दशैंमा ग्राहकलाई हस्तान्तरण गर्ने तयारी थियो । तर सडक अवरोधका कारण ती गाडी समयमै ल्याउन नसक्ने अवस्था बनेको व्यवसायीहरूको भनाइ छ ।

नामी गाडीको आधिकारिक बिक्रेता एमएडब्ल्यू मोटर्सका अनुसार नाडा अटो शो र त्यसपछि गरी कम्पनीसँग २ हजारभन्दा बढी गाडीको बुकिङ थियो । तर चीनबाट आउने गाडीको आपूर्ति नै प्रभावित भएपछि ग्राहकलाई समयमै गाडी दिन सकिने अवस्था स्पष्ट छैन । ‘गाडी भयो भने हामीले दिइहाल्छौं, बाटो बन्नुर्यो,’ एमएडब्ल्यू मोटर्सका एक प्रतिनिधिले विकासन्युजसँग भने ।

सरकारबाट एक साताभित्र सडक सञ्चालन हुन सक्ने आशा व्यक्त भए पनि व्यवसायीहरू अझै निश्चित हुन नसकेको उनले बताए । सडक खुलेपछि गाडी तत्कालै काठमाडौं ल्याउन सकिने उनको भनाइ छ । जिओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाले पनि नाका र सडक अवरोधले व्यवसायमा ठूलो असर परेको बताए । उनका अनुसार केइ ब्रान्डका करिब ८० वटा गाडी कोरला क्षेत्रमा रोकिएका छन् । भन्सार जाँचपास भए पनि सडक नखुलेसम्म ती गाडी अघि बढाउन नसकिने अवस्था छ ।

दशैंअघि गाडी दिने आशा कमजोर

दशैंमा गाडी बिक्री अटोमोबाइल व्यवसायको महत्वपूर्ण सिजन हो । यही समयमा ग्राहकलाई गाडी हस्तान्तरण गर्ने गरी अटो शोहरूमा बुकिङ लिने परम्परा रहँदै आएको छ । तर यसपटक प्राकृतिक विपत्तिका कारण त्यो चक्र नै प्रभावित भएको व्यवसायीहरूको भनाइ छ ।

नाडाका पूर्वअध्यक्ष तथा अटो व्यवसायी ध्रुव थापाका अनुसार म्याक्सस लगायतका करिब २५/३० वटा गाडी बाटोमा रोकिएका छन् । नाडा अटो शोमा मात्रै ४४ वटा बुकिङ भएको र त्यसपछि थप बुकिङसमेत आएको उनले बताए । दशैंअघि र तिहारअघि गरी दुई चरणमा गाडी ल्याउने तयारी भए पनि बाटोका कारण समयमै आपूर्ति हुन नसकेको उनको भनाइ छ । 

तातोपानी नाका खुलेको अवस्थामा कोरला हुँदै आउन नसकेका केही गाडीलाई वैकल्पिक मार्गबाट ल्याउन सकिने सम्भावना व्यवसायीहरूले देखेका छन् । तर त्यसका लागि पनि नाका तत्काल सञ्चालनमा आउनुपर्ने उनीहरूको भनाइ छ ।

ग्राहकले बुकिङ रद्द गर्न चाहेमा रकम फिर्ता गर्ने अवस्था समेत बनेको छ । व्यवसायीहरूका अनुसार दशैंअघि गाडी नपाउने भएपछि कतिपय ग्राहकले बुकिङ रद्द गरेर स्टकमा उपलब्ध अर्को गाडी खरिद गर्ने विकल्प रोज्न थालेका छन् । 

वर्षभरको ४० प्रतिशत बिक्री यही सिजनमा

पूर्वअध्यक्ष थापाका अनुसार अटोमोबाइल क्षेत्रमा दशैं-तिहारको सिजन अत्यन्त महत्वपूर्ण हुन्छ । उनका अनुसार वर्षभरि बिक्री हुने गाडीमध्ये करिब ४० प्रतिशत यही चाडपर्वको समयमा बिक्री हुने गर्छ । नाडा तथा नाइमा अटो शोमा बुकिङ लिने र दशैं-तिहारमा ग्राहकलाई गाडी हस्तान्तरण गर्ने अभ्यास लामो समयदेखि चल्दै आएको छ ।

तर यसपटक समयमै गाडी उपलब्ध हुन नसक्दा ग्राहकले पुरानो गाडी नबेच्ने, नयाँ गाडी खरिद पछि सार्ने वा खरिद योजना नै स्थगित गर्ने अवस्था आउन सक्ने थापाले बताए । 

उनका अनुसार यसले कुनै एउटा कम्पनीलाई मात्रै होइन, समग्र अटोमोबाइल क्षेत्रलाई असर पार्ने देखिएको छ । यसअघि पनि नाका क्षेत्रमा बाढी तथा अन्य घटनाले गाडीको आपूर्ति प्रभावित भए पनि त्यो छोटो समयका लागि सीमित थियो। अहिले भने समस्या लामो समयसम्म तानिएकाले प्रभाव गम्भीर बन्न सक्ने उनको भनाइ छ ।

चेरी गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सका मार्केटिङ प्रतिनिधि रोजेश महर्जनका अनुसार नाडा र नाइमा अटो शोमा गरी चेरीका १ हजारभन्दा बढी गाडीको बुकिङ भएको थियो । तर चीनबाट आउने चेरी, भिगो, बक्सलगायत विभिन्न ब्रान्डका गाडी नै प्रभावित भएपछि एउटा ब्रान्डको गाडी नआएको कारण ग्राहक अर्को ब्रान्डतर्फ सर्ने अवस्था पनि सहज नभएको उनको भनाइ छ । ‘सबै ब्रान्डलाई समस्या छ,’ महर्जनले भने । 

उनका अनुसार कोरला क्षेत्रमा सडकको अवस्था निकै खराब भएकाले दशैंअघि नै नाका सञ्चालन हुने सम्भावना कम देखिएको छ । ठूला ढुंगा तथा सडक भत्किएका कारण तत्कालै मार्ग सञ्चालनमा ल्याउन कठिन देखिएको उनले बताए । 

यस्तै, लिपमोटरका १५० भन्दा बढी गाडी बिच बाटोमै राकिएको सांग्रिला मोर्टस्ले जनाएको छ । कम्पनीका सेल्सका प्रतिनिधि उज्जल केसीका अनुसार यी सबै गाडीहरु नाइमा र नाडामा बुक भएका गाडी हुन् । उनले सडक अरुद्ध कारण आफुहरुले ग्राहकहरुलाई दशैंमा उपलब्ध गराउन नसकिने बताए । उनले भने, ‘ दशैंको सिजनमा बढी बिक्री हुन्थे । यसपटक अबटो क्षेत्रमा ठूलो धक्का लागेको छ । समस्या छ । ’

बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंककी सेल्स हेड सन्ध्या श्रेष्ठका अनुसार नारायणचौरस्थित सोरुमका लागि मात्रै दशैंमा डेलिभरी गर्ने तयारीमा करिब २/३ सय गाडी पाइपलाइनमा थिए । ती गाडीमध्ये केही कोरलामै रोकिएको र सडक तथा नाका सञ्चालनमा नआएसम्म ल्याउन नसकिने अवस्था रहेको उनले बताइन् । उनका अनुसार कोरला क्षेत्रमा बीवाईडीसहित विभिन्न कम्पनीका हजारौँ गाडी रोकिएका छन् । 

भन्सार चले पनि सडक रोकियो

व्यवसायीहरूले कोरला नाका नै बन्द भएको बताइरहँदा कोरला भन्सार कार्यालयले भने नाका पूर्ण रूपमा बन्द नभएको स्पष्ट पारेको छ । समस्या भन्सारमा नभई भन्सार जाँचपासपछि तल झर्ने सडकमा रहेको भन्सार कार्यालयको भनाइ छ । कोरला भन्सार प्रमुख विदुर चुडालका अनुसार चीनतर्फबाट आउने खाली कन्टेनर तलतर्फ जान नसक्दा नयाँ सामान बोकेका कन्टेनर पनि आउन सकेका छैनन् । 

भन्सारमा आएका कन्टेनरहरूको जाँचपास भने भइरहेको छ । सामान्य अवस्थामा करिब ३०÷४० वटा गाडी दैनिक जाँचपास हुने गरे पनि सडक अवरोधका कारण अहिले त्यो क्रमसमेत प्रभावित भएको चुडालले विकासन्युजसँग भने । उनका अनुसार भन्सार जाँचपास भएर तल झरेका गाडी जोमसोम–लेते सडकखण्डमा विभिन्न ठाउँमा रोकिएका छन् । भन्सारले आफ्नो प्रक्रियाअनुसार छिटो जाँचपास गरी पठाए पनि सडकमा रोकिएका सामानको व्यवस्थापन गर्ने अधिकार वा पूर्वाधार भन्सारसँग छैन । 

फलफूल बोकेका गाडीसमेत सडकमा रोकिँदा बिग्रिएको जानकारी आफूहरूले पाएको चुडालले बताए । स्थानीय प्रहरीसँग सहजीकरणको प्रयास भए पनि बाटोमै बिग्रिन थालेका सामग्रीलाई अन्यत्र सुरक्षित राख्ने वैकल्पिक व्यवस्था नभएकाले समस्या थपिएको उनको भनाइ छ । 

१२ सयभन्दा बढी ईभी भन्सार जाँचपासको प्रतीक्षामा

कोरला भन्सार प्रमुख चुडालका अनुसार अहिले मात्रै करिब १२ सयभन्दा बढी विद्युतीय सवारीसाधन (ईभी) भन्सार जाँचपास हुन बाँकी छन् । त्यसैगरी, भन्सार जाँचपास भएर तलतर्फ झरिसकेका करिब ८/९ सय गाडी सडकमा रोकिएका छन् । चीनतर्फको बोर्डरमा समेत व्यवसायीका करिब १ हजारदेखि २ हजार वा सोभन्दा बढी गाडी रहेको हुन सक्ने उनको भनाइ छ । चीनतर्फबाट यकिन तथ्यांक प्राप्त नभएकाले संख्या ठ्याक्कै भन्न नसकिने उनले स्पष्ट पारे । यसले कोरला नाकामा समस्या केवल गाडी रोकिएको विषय नभई चीन–नेपाल व्यापारिक आपूर्ति प्रणाली नै प्रभावित भएको देखाएको छ ।

कोरला भन्सार प्रमुख चुडालका अनुसार अहिलेको समस्या गाडी वा व्यापारिक सामानको मात्रै होइन । सडक अवरोधका कारण मुस्ताङको दैनिक जनजीवनसमेत प्रभावित हुन थालेको छ । उनका अनुसार बाढीले सडक बिगारेपछि विद्युत् र सञ्चार सेवा पनि लामो समयदेखि प्रभावित छन् । उनले विकासन्युजसँगको कुराकानीमा भने, ‘इन्टरनेट सञ्चालनमा छैन भने विद्युत् सेवा पनि नियमित हुन सकेको छैन । खाद्यान्न अभाव हुन थालेको, डिजेल तथा ग्यास पाउन कठिन भएको र औषधिसमेतको आपूर्तिमा समस्या देखिन थालेको छ । ’

उनले सडक अवरोधको अवस्था लम्बिँदै गएमा समस्या अझ गम्भीर बन्ने संकेत गरे । उनका अनुसार तलबाट सामान नआउँदा मुस्ताङमा खाद्यान्न, डिजेल, पेट्रोल, ग्यास र औषधिसम्मको आपूर्ति कसरी चलिरहेको होला भन्ने अवस्था कल्पना गर्नुपर्ने स्थिति आएको छ । अर्थात्, कोरला नाकामा अड्किएका हजारौं गाडी अहिले देखिएको संकटको एउटा हिस्सा मात्रै हुन् । सडक अवरोधले चीनसँगको व्यापार, अटोमोबाइल बजार, दशैं–तिहारको बिक्री, व्यवसायीको नगद प्रवाह र ग्राहकको खरिद योजनालाई त असर गरेको छ नै, त्यसको अर्को गम्भीर पाटो मुस्ताङको दैनिक जीवनमा आवश्यक वस्तुको आपूर्ति नै प्रभावित हुनु रहेको उनको भनाइ छ । 

यसपटक समस्या एउटै नाकाबाट सुरु भएर अर्को वैकल्पिक मार्गमा समेत पुगेको व्यवसायीहरूको भनाइ छ । सुरुमा रसुवागढी नाकामा बाढीपहिरोका कारण बाटो बन्द भएपछि केही व्यापारिक गतिविधि कोरला हुँदै सञ्चालन गर्ने प्रयास भएको थियो । तर कोरला क्षेत्रमै पुनः बाढीपहिरो आएपछि त्यो वैकल्पिक मार्ग पनि प्रभावित भएको व्यवसायीहरू बताउँछन् । यसरी चीनबाट सामान तथा गाडी ल्याउने व्यवसायीहरूले एकपछि अर्को वैकल्पिक मार्ग खोज्नुपरे पनि दुवैतर्फ सडक अवरोध भएपछि आपूर्ति शृंखला नै अवरुद्ध बन्न पुगेको छ ।

यसैगरी, भन्सार विभागका महानिर्देशक यमलाल भुसालका अनुसार कोरला नाका सक्रिय बनाउने तथा त्यहाँ आवश्यक पूर्वाधार विकास गर्ने विषयमा छलफल भइरहेको छ । चीनतर्फ समेत छलफल र पहल भइरहेको भए पनि नाका पूर्ण रूपमा कहिले सहज हुन्छ भन्ने विषयमा तत्काल स्पष्टता आइसकेको छैन । अहिले व्यवसायी, भन्सार अधिकारी र ग्राहक सबैको एउटै प्रश्न छ, कोरला हुँदै आउने बाटो कहिले खुल्छ ? व्यवसायीहरू दशैंअघि नै सडक सञ्चालन हुने आशामा छन् । केहीले तातोपानी नाका वैकल्पिक रूपमा सञ्चालन गर्न सके तत्काल राहत मिल्ने बताएका छन् । 

तर कोरला क्षेत्रमा सडकको क्षति ठूलो भएकाले दशैंअघि नै पूर्ण रूपमा सञ्चालन हुने सम्भावनाप्रति केही व्यवसायी आशावादी छैनन् । यसको प्रत्यक्ष असर दशैं-तिहारको अटोमोबाइल बजारमा पर्ने देखिएको छ । नाडा तथा नाइमा अटो शोमा बुकिङ गरिएका हजारौं गाडी ग्राहकको हातमा पुग्न सकेनन् भने त्यसले व्यवसायीको बिक्री मात्र होइन, ग्राहकको खरिद योजना र समग्र अटो बजारको चक्रलाई नै धक्का दिनेछ ।
 

Share News