काठमाडौं । १८औं नाडा अटो शो २०२६ मा सहभागी बैंकहरूले अटो लोनमा विभिन्न आकर्षक योजना ल्याएका छन् । ग्राहकलाई सहज र तुलनात्मक रूपमा सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने उद्देश्यले बैंकहरूले ब्याजदर, सेवा शुल्क, कर्जा अवधि र ईभी कर्जामा विशेष सुविधा दिएका छन् ।
नाडा अटो शोमा सरकारी तथा निजी क्षेत्रका गरी १३ वटा वाणिज्य बैंक सहभागी छन्। यी बैंकमध्ये अटो लोनको ब्याजदर ४.६६ प्रतिशतदेखि ५.९९ प्रतिशतसम्म रहेको छ। बैंकअनुसार कर्जाको अवधि, ब्याजदरको प्रकृति र अन्य शुल्क भने फरक-फरक छन् ।
अटो लोनमा कृषि विकास बैंकले सबैभन्दा कम ४.६६ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ । बैंकले ७ वर्षसम्मको अवधिका लागि कर्जा उपलब्ध गराउनेछ। साथै, सेवा शुल्क र ब्याजदर प्रिमियममा ३३.३३ प्रतिशत छुट दिने योजना ल्याएको छ ।
ईभी सवारी खरिद गर्ने ग्राहकका लागि कृषि विकास बैंकले सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ । त्यस्तै, नेपाल बैंकले ४.९४ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ। अटो शो अवधिभर यही ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले ५.०२ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ। फ्लोटिङ रेटमा उपलब्ध हुने यो कर्जाको अवधि ७ वर्षसम्म रहनेछ ।
बैंकले अधिकतम १ करोड रुपैयाँसम्म अटो लोन उपलब्ध गराउने जनाएको छ । सेवा शुल्क सामान्य अवस्थामा ०.७५ प्रतिशत रहेकामा अटो शो अवधिमा ०.५० प्रतिशत कायम गरिएको छ ।
नबिल बैंकले ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ । बैंकले २० प्रतिशत डाउन पेमेन्टमै कर्जा सुविधा उपलब्ध गराउने योजना ल्याएको छ ।
योजनाअनुसार ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट र २० प्रतिशत क्रेडिट कार्डबाट भुक्तानी गर्नेछन् भने बाँकी ६० प्रतिशत रकम बैंकले कर्जाका रूपमा उपलब्ध गराउनेछ ।
एनआईसी एसिया बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ७ वर्षसम्मका लागि अटो लोन दिने भएको छ । अधिकांश बैंकले फ्लोटिङ ब्याजदरमा कर्जा दिइरहेका बेला एनआईसी एसियाले स्थिर ब्याजदरको विकल्प पनि ल्याएको हो । बैंकले फ्लोटिङ रेटमा समेत अटो लोन उपलब्ध गराउँदै आएको जनाएको छ ।
ईभी सवारीका लागि भने ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सकिने बैंकको भनाइ छ । ग्लोबल आईएमई बैंकले ईभी सवारीका लागि ५.१७ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ । बैंकले स्थिर ब्याजदरमा पनि कर्जा उपलब्ध गराउनेछ ।
७ वर्ष अवधिको कर्जामा पहिलो ३ वर्षका लागि ५.१७ प्रतिशत ब्याजदर कायम हुनेछ । त्यसपछिको ४ वर्षमा सम्बन्धित अवधिको बेस रेटमा २ प्रतिशत जोडेर ब्याजदर निर्धारण गरिने बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकले ५.४५ प्रतिशत ब्याजदरमा अटो लोन दिने भएको छ । नाडा अटो शोलाई लक्षित गरी ल्याइएको यो योजनामा कर्जाको अवधि १० वर्षसम्म राखिएको छ । अन्य अधिकांश बैंकले ७ वर्षसम्मको कर्जा अवधि राखेका बेला माछापुच्छ्रेले लामो अवधि रोजेको हो ।
कर्जाको सेवा शुल्क ०.५० प्रतिशत रहेकामा अटो शो अवधिभर ०.२५ प्रतिशत छुट दिइएको बैंकले जनाएको छ ।त्यस्तै, प्रभु बैंकले ५.४४ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ । बैंकका अनुसार आधारदरमा अधिकतम ०.५० प्रतिशत प्रिमियम थप हुनेछ ।
लक्ष्मी सनराइज बैंकले ५.४९ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको छ । ७ वर्ष अवधिको यो कर्जा फ्लोटिङ रेटमा हुनेछ । बैंकले सेवा शुल्क ०.५० प्रतिशत लिने जनाएको छ ।
त्यस्तै कुमारी बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले क्रमशः ५.२१ प्रतिशत, ५.५४ प्रतिशत, ५.९६ प्रतिशत र ५.१३ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएका छन् ।
यी बैंकहरूले ७ वर्षसम्मको अवधिका लागि फ्लोटिङ ब्याजदरमा कर्जा उपलब्ध गराउनेछन्। सेवा शुल्क ०.५० प्रतिशत रहने जनाइएको छ।
नाडा अटो शोमा बैंकहरूले ब्याजदरमा मात्र नभई कर्जा अवधि, सेवा शुल्क, डाउन पेमेन्ट र ईभी सवारीमा उपलब्ध कर्जा सीमामा समेत विभिन्न सुविधा दिएका छन् ।