साताभर नेप्सेमा उतारचढाव, कारोबार १५ अर्ब नाघ्यो

तस्बिर : एआई

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साता उतारचढावबीच समग्रमा सामान्य वृद्धि भएको छ । साताको पहिलो दिन सोमबारदेखि लगातार दुई दिन ओरालो लागेको बजार बुधबार र बिहीबार सुधारिए पनि शुक्रबार पुनः घटेर बन्द भएको हो ।

साताको पहिलो कारोबार दिन सोमबार नेप्से १६.५४ अंक घटेर २६३२.९६ विन्दुमा बन्द भएको थियो। मंगलबार पनि बजारले ओरालो यात्रा कायम राख्दै २४.६३ अंक घटेर २६०८.३३ विन्दुमा झरेको थियो ।

तर बुधबार बजारमा सुधार देखियो । यस दिन नेप्से ४४.५९ अंकले उकालो लाग्दै २६५२.९३ विन्दुमा पुगेको थियो । बिहीबार पनि बजारले निरन्तरता दिँदै ८.७८ अंक बढेर २६६१.७१ विन्दुमा पुगेको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार भने नेप्से ८.३० अंकले घटे पनि २६५३.४० विन्दुमा बन्द भयो । यससँगै अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा नेप्से २०.४४ अंक अर्थात् करिब ०.७८ प्रतिशतले बढेको छ ।

कारोबार रकम पनि उत्साहजनक रह्यो । पाँच कारोबार दिनमा कुल १५ अर्ब ५८ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । साताभर करिब ३ करोड ४४ लाख कित्ता सेयर किनबेच हुँदा २ लाख ६५ हजारभन्दा बढी कारोबार भएको तथ्यांक छ ।

साताको सबैभन्दा धेरै कारोबार बुधबार भएको थियो । बुधबार ३ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको थियो । सबैभन्दा कम कारोबार भने सोमबार २ अर्ब ५८ करोड रुपैयाँमा सीमित रह्यो । 

बजार विश्लेषकहरूका अनुसार साताभर बजारमा नाफा सुरक्षित गर्ने र खरिदकर्ता दुवै सक्रिय देखिएकाले नेप्से उतारचढावका बीच सीमित दायरामै घुमेको छ ।

Share News