नेप्सेमा १.५७ खर्बको नयाँ सेयर सूचीकृत, बोनस मात्रै ४१ अर्ब ८५ करोड

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल १ खर्ब ५७ अर्ब ६ करोड रुपैयाँ बराबरका थप धितोपत्र (सेयर) सूचीकृत भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा ५५ अर्ब ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ), ४१ अर्ब ८५ करोड रुपैयाँ बराबरको बोनस सेयर, २७ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड सचूीकृत भएका छन् । 

यस्तै, १६ अर्ब ८५ करोड रुपैयाँ बराबरको परिवर्तनीय अग्राधिकार सेयर, १० अर्ब ७६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ९७ करोड रुपैयाँ बराबरको एफपीओ र २ करोड रुपैयाँ बराबरको अन्य सेयर सूचीकृत भएका हुन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल ५६ अर्ब ३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले ३९ अर्ब ३३ करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ९ अर्ब १२ करोड रुपैयाँ बराबरको साधारण सेयर, ४ अर्ब ९४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, २ अर्ब ६० करोड रुपैयाँ बराबरको डिबेन्चर र ५ करोड रुपैयाँ बराबरको एफपीओ निष्कासनका लागि अनुमति दिएको हो ।

असार मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या ३०२ पुगेको छ । २०८२ असार मसान्तमा सूचीकृत कम्पनीको संख्या २७२ रहेको थियो । हाल सूचीकृत कम्पनीमध्ये १३३ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ११० वटा जलविद्युत् कम्पनी, २९ वटा उत्पादन तथा प्रशोधन उद्योग, ९ वटा होटल, ७ वटा लगानी कम्पनी, ४ वटा व्यापारिक संस्था र १० वटा अन्य समूहका कम्पनी रहेका छन् ।

सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणमा ५१.८ प्रतिशत हिस्सा रहेको छ । त्यस्तै, जलविद्युत् कम्पनीको १७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.४ प्रतिशत, लगानी कम्पनीको ६.७ प्रतिशत, व्यापारिक संस्थाको ४.२ प्रतिशत, होटलको ३.२ प्रतिशत र अन्य समूहका कम्पनीको ८.३ प्रतिशत हिस्सा रहेको छ ।

असार मसान्तमा नेप्सेमा सूचीकृत ९ अर्ब ५८ करोड कित्ता सेयरको चुक्ता मूल्य ९ खर्ब ४४ अर्ब ४ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

Share News