एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि नयाँ डिजिटल सुविधा सुरु गरेको छ । बैंकले व्यक्तिगत तथा साना तथा मझौला उद्यम (एमएसएमई) कर्जा आवेदनको अवस्था वास्तविक समयमा ट्र्याक गर्न सकिने अनलाइन कर्जा ट्र्याकिङ सेवा सञ्चालनमा ल्याएको हो । यस सुविधासँगै कर्जाका लागि आवेदन दिएका ग्राहकहरूले अब आवेदनको अवस्था बुझ्न बैंकको शाखामा धाउनुपर्ने वा पटक–पटक फोन गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् । बैंकले डिजिटल माध्यमबाट कर्जा प्रक्रिया थप पारदर्शी, सहज र छरितो बनाउने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ । बैंकका अनुसार कर्जाका लागि आवश्यक कागजातहरू पेश गरेपछि ग्राहकलाई एक ‘ट्र्याकिङ नम्बर’ प्रदान गरिनेछ । सो नम्बर प्रयोग गरी ग्राहकहरूले बैंकको वेबसाइटको डिजिटल बैंकिङ खण्डमा गई ‘अनलाइन कर्जा ट्र्याकिङ’ सेवा चयन गरेर वा सिधै https://digi.nmb.com.np/loan-tracker मार्फत आफ्नो कर्जा आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी प्राप्त गर्न सक्नेछन् । बैंकले यस सेवाले ग्राहक अनुभव सुधार गर्नुका साथै डिजिटल बैंकिङलाई थप प्रभावकारी बनाउने विश्वास लिएको छ ।

सिद्धार्थ प्रिमियरले गर्‍यो २ अर्ब ६८ करोडभन्दा बढी दाबी भुक्तानी

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा (श्रावणदेखि मंसिरसम्म) कुल २ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार भदौ महिनाको अन्तिम साता भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा भएका हुलदङ्गा, तोडफोड र आगजनीबाट राष्ट्रको पूर्वाधार, उद्योग, व्यापार तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिबापत मात्र १ अर्ब ८८ करोड १६ लाख रुपैयाँ भुक्तानी गरिएको छ । यो रकम जेनजी आन्दोलनका कारण हालसम्म सबै बीमा कम्पनीबाट फर्छ्यौट भएका कुल दाबीमध्ये करिब ४० प्रतिशत बराबर रहेको जनाइएको छ । कम्पनीले यस अवधिमा जेनजी आन्दोलन बाहेक अन्य भइपरी आएका बीमित जोखिमसम्बन्धी दाबीबापत पनि ८० करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत वर्षको बाढी–पहिरोबाट सिर्जित दाबीहरूमा समेत सबैभन्दा बढी दाबी भुक्तानी गर्ने कम्पनीको रूपमा अग्रणी भूमिका खेलेको जनाएको छ । राष्ट्रभर रहेका उद्योग, व्यापार तथा निजी सम्पत्तिमा भएको क्षतिअन्तर्गत आफूसँग बीमित सम्पत्तिको क्षतिपूर्ति छिटोछरितो रूपमा फर्छ्यौट गरी बीमितहरूको संरक्षण गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । साथै, भुक्तानी हुन बाँकी दावीकर्ताहरूलाई आवश्यक कागजात शीघ्र पेश गरी दाबी फर्छ्यौट प्रक्रियामा सहयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा

पोखरा । नबिल बैंकले पोखरा शाखामा छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सीईओ आदर्श बजगाईंले एक कार्यक्रमकाबीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप काठमाडौं उपत्यका बाहिर पहिलोपटक लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, बौद्ध र कौशलटार शाखाहरुबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।  लाउञ्ज उद्घाटन गर्दै डेपुटी सीईओ बजगाईंले भने, 'ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौं । यसबाट हाम्रा ग्राहकले व्यक्तिगत तथा सहजरुपमा उच्चस्तरीय बैंकिङ सेवा अनुभव गर्न पाउने छन् ।'  नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकले रिलेसनसिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, सहज बैंंकिङ लाउञ्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिनसक्ने जनाइएको छ ।  नबिल प्रायोरिटी बैंकिङसम्बन्धी थप जानकारीका लागि बैंकको वेबसाइटमा लगइन तथा ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क गर्न सकिनेछ ।