काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा बीमितलाई ५ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको जनाएको छ ।
कम्पनीका अनुसार उक्त अवधिमा भदौ महिनाको अन्तिम साता जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा भएको हुलदंगा, तोडफोड तथा आगजनीबाट पूर्वाधार, उद्योग, व्यापार तथा व्यक्तिगत सम्पत्तिमा पुगेको क्षतिको बीमा दाबीबापत मात्रै ३ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरिएको छ ।
त्यसैगरी, जेनजी आन्दोलनबाहेक अन्य विभिन्न बीमा दाबीबापत पनि कम्पनीले २ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा कम्पनीमा कुल १७ हजार ६६४ वटा दाबी दर्ता भएकोमा १७ हजार ८७६ वटा दाबी फर्छ्योट गरिएको कम्पनीले जनाएको छ । यसले दाबी व्यवस्थापन र भुक्तानीप्रति कम्पनीको प्रतिबद्धता झल्किने कम्पनीको भनाइ छ ।
कम्पनीले राष्ट्रभर रहेका उद्योग, व्यापार तथा निजी सम्पत्तिमा भएको क्षतिको बीमा दाबी यथाशीघ्र फर्छ्योट गरी बीमितको हित संरक्षणमा आफू प्रतिबद्ध रहेको जनाएको छ । साथै, भुक्तानी हुन बाँकी रहेका दावीकर्तालाई आवश्यक कागजात छिटो उपलब्ध गराई दाबी फर्छ्योट प्रक्रियामा सहयोग गर्न पनि आग्रह गरेको छ ।