डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, सोमबार साँझ तोडियो अनशन

काठमाडौं ।  विभिन्न माग राख्दै विगत साउन ७ गतेदेखि धनगढीमा अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ ।  सहमति भएसँगै डा. केसीले सोमबार साँझ आफ्नो अनशन तोडेका छन् । गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्वार्थको द्वन्द्व हुने गरी गरिएका गैरकानुनी नियुक्ति खारेज हुनुपर्ने लगायतका माग राखेर अनशन बसेका उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो । सहमति अनुसार कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल कम्तीमा ३०० शैयाको अस्पताल सञ्चालनको प्रक्रिया अघि बढाउने र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमका लागि जनशक्ति भर्ना तथा शिक्षण अस्पतालको सम्पूर्ण व्यवस्थापन तुरुन्त पूरा गरिनेछ ।  साथै, विश्वविद्यालयका पदाधिकारीको योग्यता तथा नियुक्ति सम्बन्धी ऐन संशोधनको प्रक्रिया तीन महिनाभित्र संघीय संसदको चालु अधिवेशनबाटै अगाडि बढाउने प्रस्ताव सरकारसमक्ष पेस गर्ने तय भएको छ । चिकित्सा शिक्षातर्फ आयोगको मापदण्ड अनुसार सिट निर्धारण गरिने र निजी शिक्षण संस्थामा सिट वृद्धि नगरिने सहमति भएको छ । ऐन बमोजिम शिक्षण संस्थाहरूलाई क्रमशः गैर-नाफामूलक र सेवामूलक बनाउन अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गरिनेछ ।  त्यसैगरी, सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रमा परनिर्भरता अन्त्य गर्न पूर्वाधार विकास गर्ने, २०८२ भदौमा भएका घटनाका दोषीलाई कारबाही गर्ने र २०४६ यताका भ्रष्टाचारको छानबिनलाई तीव्र बनाउने विषयमा पनि दुवै पक्ष सहमत भएका छन् । विगतका सहमति कार्यान्वयनको अध्ययन गर्न गठित कार्यदलको अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा रहनेछ ।  सहमति पत्रमा डा. केसीसहित शिक्षा सचिव चूडामणि पौडेल, स्वास्थ्य सचिव डा. विकास देवकोटा र सहसचिव चन्द्रकान्त भुसालले हस्ताक्षर गरेका छन् भने सांसद पुकार बम र प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीश प्रसाद अग्रवाल रोहबरमा रहेका थिए ।

यी हुन् प्रोटिनको कमी पूरा गर्ने फलफूल

काठमाडौं ।  प्रोटिन दाल, अण्डा वा मासुमा मात्र नभई फलफूलमा पनि राम्रो मात्रामा पाइन्छ । यदि तपाईंलाई प्रोटिनको कमी छ र अतिरिक्त प्रोटिन थप्न चाहनुहुन्छ यी पाँच फलफूल तपाईंको लागि उत्तम विकल्प हुन सक्छन्।  यद्यपि यी फलफूलहरू प्रोटिनको मुख्य स्रोत होइनन्, तिनीहरूले तपाईंको दैनिक आहारको पोषणमूल्य निश्चित रूपमा बढाउँछन् ।   आउनूहोस् प्रोटिनको कमीलाई केही हदसम्म पूरा गर्न सक्ने यी शक्तिशाली फलफूलहरूको बारेमा जानौं । अम्बा प्रोटिनको हिसाबले अम्बा फलफूलको राजा हो । एक कप काटेको अम्बामा लगभग ४.२ ग्राम प्रोटिन हुन्छ । यसमा भिटामिन सी र फाइबर पनि प्रशस्त मात्रामा पाइन्छ, जुन तपाईंको पाचन प्रणालीको लागि धेरै राम्रो हुन्छ । एभोकाडो एभोकाडो यसको स्वस्थ बोसोको लागि मात्र परिचित छैन, तर यसमा प्रोटिनको मात्रा पनि राम्रो हुन्छ ।    एक कप एभोकाडोमा लगभग ३ ग्राम प्रोटिन हुन्छ ।  तपाईं यसलाई टोस्टमा पिसेर वा आफ्नो सलादमा थप्न सक्नुहुन्छ, जसले तपाईंलाई लामो समयसम्म तृप्त राख्नेछ । कटहर यदि तपाईं शाकाहारी हुनुहुन्छ भने, कटहर तपाईंको लागि वरदानभन्दा कम छैन । एक कप पाकेको वा राम्ररी पकाएको कटहरमा लगभग २.८ ग्राम प्रोटिन हुन्छ ।  यसको बनावट मासु जस्तै हुने भएकाले यसलाई ‘शाकाहारी मासु’ पनि भनिन्छ । खुर्पानी सुकेको होस् वा ताजा, खुर्पानी प्रोटिनको राम्रो स्रोत हो । एक कप काटेको ताजा खुबानीले लगभग २.३ ग्राम प्रोटिन प्रदान गर्दछ ।  यो पोटासियम र भिटामिन ए को खजाना पनि हो । यसले आँखाको ज्योति र छालाको चमक बढाउन मद्दत गर्छ । तपाईं यसलाई ओट्स वा दहीसँग मिसाएर खान सक्नुहुन्छ । किवी किवी रोग प्रतिरोधात्मक क्षमता बढाउन मात्र नभई प्रोटिनको लागि पनि राम्रो छ । एक कप किवीमा लगभग २ ग्राम प्रोटिन हुन्छ। किवीको सबैभन्दा उल्लेखनीय विशेषता भनेको यसको एक्टिनिडिन नामक इन्जाइम हो। जसले प्रोटिनको पाचनमा मद्दत गर्छ । यी फलफूलहरूले तपाईंको आहार सन्तुलनमा राख्न मद्दत गर्छन् । यदि तपाईं कसरत गर्नुहुन्छ भने, आफ्नो खानामा तिनीहरूलाई थप्नु बुद्धिमानी विकल्प हो। तर याद राख्नुहोस्, यी फलफूलहरूले तपाईंको सम्पूर्ण प्रोटिन कोटा पूरा गर्न सक्दैनन्, त्यसैले तिनीहरूलाई अन्य प्रोटिन स्रोतहरूसँग सन्तुलित गर्नु उत्तम तरिका हो ।

देवानगञ्ज घटनापछि मन्त्री मेहता भन्छिन् - अफवाहमा नलागौं, शान्ति कायम गरौं

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दुःख व्यक्त गर्दै शान्ति, संयमता र सामाजिक सद्भाव कायम राख्न सबैमा अपिल गरेकी छन् । मन्त्री मेहताले घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेकी छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा आवश्यक समन्वय भइरहेको जानकारी दिएकी छन् । घटनाबारे जानकारी प्राप्त हुनासाथ मन्त्री मेहताले सम्बन्धित सुरक्षा निकाय तथा प्रशासनसँग सम्पर्क गरी घटनास्थलको अवस्था नियन्त्रणमा लिन, घाइतेहरूको उपचारको व्यवस्था मिलाउन तथा शान्ति–सुरक्षा कायम गर्न आवश्यक समन्वय सुरु गरेकी थिइन् । मन्त्री मेहताले संवेदनशील परिस्थितिमा कुनै पनि अपुष्ट सूचना वा अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव तथा आपसी भाइचारामा असर पुग्ने गतिविधिबाट टाढा रहन सबै नागरिकसँग आग्रह गरेकी छन् । सम्बन्धित निकायबाट घटनाको निष्पक्ष छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक हुने विश्वास व्यक्त गर्दै यस कठिन घडीमा सबै पक्षले धैर्य, संयमता र जिम्मेवारीका साथ प्रस्तुत भएर शान्ति कायम राख्न सहयोग गर्न पनि अपिल गरेकी छन् ।