कीटविज्ञ रिटायर्ड हुँदा बढ्यो कीटजन्य रोग

काठमाडौं । मनसुन सक्रिय भएसँगै अस्पतालमा किटजन्य बिरामीको चाप बढ्छ । अहिले टेकु अस्पतालसँगै देशभरका अस्पतालमा मनसुनजन्य बिरामीको चाप पढेको छ । विशेषगरी यो बेला लामखुट्टे, भुसुनाको टोकाइबाट लाग्ने संक्रमणले मान्छेको ज्यानै लिन्छ । चिकित्सकका अनुसार यो बेलामा डेंगी, चिकुनगुनियाँ, जापानी इन्सेफलाइटिस, स्क्रवटाइफस लगायतका रोगहरू यो बेलामा बढी फैलन सम्भावना हुन्छ । यस्ता संक्रमण सकेसम्म बढी फैलन नदिन  सरकारले सक्दो प्रयास गरिरहेको छ । तर यसको नियन्त्रणका लागि पहल कदमी गर्ने विज्ञहरूको भने निकै कमी छ । जस कारण यस्ता रोगहरू रोकथाम तथा नियन्त्रणका लागि थप चुनौती बनेको छ । पहिले तराई क्षेत्र अर्थात् गर्मी बढी हुने स्थानमा मात्र यस्ता किटजन्य रोगहरू सीमित थिए । तर, जलवायु परिवर्तनसँगै आजभोलि कीटजन्य रोग गर्मी क्षेत्रमा मात्र सीमित छैनन् । हिमाल पहाड सबै ठाउँमा फैलिसकेका छन् ।  यो जोखिम देशभर फैलिरहेको बेला यस्तो संक्रमणबाट बचाउन विशेष भूमिका खेल्ने विज्ञहरूको कमी छ । यसमा अध्ययन गर्ने विज्ञको कमीले सक्दो अनुसार काम हुन नसकेको सरोकोरवालाहरू बताउँछन् । इन्टेमोलोजिष्टको अभाव स्वास्थ्य क्षेत्रमा इन्टेमोलोजिष्ट (कीटविज्ञ) हरूले विशेष गरी डेंगी, मलेरिया, चिकुनगुनिया, जापानी इन्सेफलाइटिसजस्ता रोग सार्ने लामखुट्टेको प्रजाति, बासस्थान, प्रजनन र नियन्त्रणका उपायबारे अनुसन्धान गर्छन् । डेंगीलगायत अन्य किटजन्य संक्रमण नियन्त्रण अभियानमा उनीहरूको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । इन्टेमोलोजिष्टहरूले रोग सार्ने लामखुट्टेको प्रजाति पहिचान गर्ने, कहाँ र किन संक्रमण फैलिरहेको छ भन्नेवारे अध्ययन गर्छन् । यस्तै, लार्भा र वयस्क लामखुट्टेको निगरानी गर्नेदेखि कुन विषादी प्रभावकारी छ वा लामखुट्टेमा विषादी प्रतिरोध विकास भएको छ कि छैन भन्ने परीक्षण गर्छन् । सरकारलाई वैज्ञानिक आधारमा नियन्त्रण रणनीति बनाउन सहयोग गर्ने विज्ञहरूको कमीले यस्ता संक्रणम नियन्त्रणमा चुनौती थपेको छ । सरकारले अभावलाई पुरा गर्न विभिन्न जिल्लाका स्वास्थ्यकर्मीलाई छोटो अवधिको फिल्ड इन्टेमोलोजी तालिम दिँदै आएको इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखाले जनाएको छ भने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि तालिम, प्रयोगशाला उपकरण र इन्टेमोलोजिकल किट उपलब्ध गराएर नेपाललाई सहयोग गरिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीट विज्ञ डा. गोकर्ण दाहाल विज्ञको कमी हुँदा यसको विकल्पका काम गरिरहेको बताउँछन् । ‘नेपालमा  पहिले तालिम अध्ययन गरेका विज्ञहरू अवकासमा गइसकेको र नयाँ उत्पादन गर्न नेपालमा  अध्ययन नहुन भएकाले यो समस्या आएको हो,’ उनी भन्छन्,  तर यसबाट हुने समस्या कम गर्न स्थानीयदेखि नै स्वास्थ्यकर्मीहरूलाई तालिम दिएर भेक्टर चिन्न सक्ने बनाएका छौं ।’ अहिले सातवटै प्रदेशमा किटसँग सम्बन्धीत इन्टेमोलोजिकल प्रयोगशाला स्थापना गरेर किटहरूको निगरानी हुने काम भइरहेको उनको भनाइ छ । हरेक वडा, पालिकामा पुग्न नसके पनि हरेक प्रदेशको भेक्टरहरूको डेटा संकलन गरिरहेको दाहालले बताए । उनले संख्यागत रूपमा इन्टेमोलोजिष्ट कमी भए पनि वैकल्पिक रूपमा तालिमको माध्यमबाट संख्यालाई पूर्ति गर्ने प्रयास गरिरहेको बताए ।  लक्ष्यमा असर नेपालले सन् २०३० सम्म मलेरिया उन्मूलन तथा लिम्फेटिक फाइलेरियासिसलाई जनस्वास्थ्य समस्याका रूपमा अन्त्य गर्ने लक्ष्य राखेको छ । तर डेङ्गी, स्क्रब टाइफस र अन्य भेक्टरजन्य रोगको बढ्दो जोखिमबीच यिनको वैज्ञानिक निगरानी र नियन्त्रण गर्ने इन्टेमोलोजिष्ट (कीटविज्ञ) को अभावले राष्ट्रिय लक्ष्य हासिल गर्नसमेत चुनौती थपिएको सरोकारवालाहरू बताउँछन् । नयाँको नियुक्त नहुँदा र पुरानाहरू रिटायर्ड भएर जाँदा अहिले अभाव नै रहेको विज्ञहरू बताउँछन् । उनीहरूको संख्या कम हुँदा तालिमप्राप्त जनशक्तीले काम गर्नुपरिरहेको अवस्था छ । कीटजन्य रोग  अनुसन्धान तथा तालिमकेन्द्र मकवानपुरका पूर्व निर्देशक डा. यदुचन्द्र घिमिरे कीट विज्ञहरूको संख्या नै कम हुँदा यसले रोग नियन्त्रणमा गम्भीर चुनौती थप्ने बताउँछन् । पानी पर्ने, पानी जम्मा हुने, तापक्रम पनि बढ्ने यो समयमा लामखुट्टे, भुसुना जस्ता प्राणीको संख्या बढ्ने गर्छ । लामुखुट्टेको संख्या बढ्ने वित्तिकै यसले टोक्ने सम्भावना हुँदा यो मौसममा कीटजन्य रोगहरू फैलने गर्छन् । ‘लामखुट्टेको आनीबानी कस्तो हुन्छ, कुन बेला अण्डा पार्छ, कस्तो बेला वृद्धि हुन्छ, यसलाई रोक्ने उपायहरू के हुन् भन्ने अध्ययन अनुसन्धान गर्ने र यसलाई नियन्त्रणको काम गर्ने इन्टेमोलोजिष्टको मुख्य भूमिका हो तर, हामीकहाँ त्यस्ता विज्ञहरूको संख्या नै कम छ,’ उनले  भने । स्वास्थ्य क्षेत्रमा संकटको अवस्था हो जन स्वास्थ्यविद् डा. बाबुराम मरासिनी उनी सरकारले सामान्य ठानी रहेको यो विषय नेपालका स्वास्थ्य कार्यक्रममा निकै ठूलो संकटको विषय भएको बताउँछन् ।  उनी सरकारले स्वास्थ्य जनशक्तिको योजना बिना काम गर्दा यस्तो अवस्था आएको बताए ।  ‘सरकारले कुनै कुराको जोखिम हुनुभन्दा अगाडि गम्भीर अध्ययन गर्नुपर्छ, यसले कस्तो समस्या निम्त्याउन सक्छ, समस्या ननिम्त्याउन कसरी काम गर्नुपर्छ र यसका लागि जनशक्ति कहाँ कति आवश्यक पर्छ भन्नेबारे नसोच्दा यो समस्या आएको हो,’ मरासिनीले भने । उनका अनुसार सरकारले सबैभन्दा पहिले योजना बनाउनुपर्छ । यसका लागि मान्छेलाई प्रेरित गरेर सेवामा लगाउन सक्नुपर्छ र स्वास्थ्य जनशक्ति योजना तयार पार्नुपर्छ । इन्टेमोलोजिष्टको समस्या पूर्ति गर्न सरकारले सकेसम्म छात्रवृत्ति माग्नुपर्ने सरकार आफैले पनि यसमा लगानी गर्नुपर्ने उनको भनाइ छ ।  उनी भन्छन्,  ‘सातवटै प्रदेशको स्वास्थ्य मन्त्रालयमा आवश्यक छ । सकेसम्म हरेक जिल्लामा राख्न सके अझ राम्रो, नभए अहिले प्रदेश  सरकार  पनि छ, त्यहाँ हुनुपर्छ, केन्द्रमा पनि आवश्यक छ, कमसेकम पनि ३०,३५ जना अहिलेलाई आवश्यक छ ।’  किन आयो यस्तो अवस्था ? नेपाल सरकारले देशका लागि चाहिने आवश्यक जनशक्ति आफै उत्पादन गर्छ । पहिले पहिले स्वास्थ्य मन्त्रालयले अन्य देशसँग सहकार्य गरेर नेपालि चिकित्सकलाई इन्टेमोलोजिष्ट अध्ययनका लागि पठाउने गथ्र्यो । यसरी सरकारले छात्रवृत्तिकोटामा अध्ययन गराएका चार जना विज्ञहरू नेपालको स्वास्थ्य सेवा क्षेत्रमा काम गरिरहेका छन् । उनीहरू मध्ये कतिपय रिटायर्ड भइसकेका छन् भने कतिपय विज्ञताभन्दा फरक क्षेत्रमा काम गरिरहेका छन् ।  डा. मरासिनी भन्छन्, ‘पहिले आवश्यक जनशक्तिलाई सरकारले पढाइ र तालिमका लागि जनशक्ति पठाउने गर्थ्यो तर अहिले पढेर आएकालाई भन्दा अन्य  जनस्वास्थ्य पढेर आएकाहरूको पदपूर्ति हुँदा र अर्कोतर्फ इन्टेमोलोजिष्ट पढेकै व्यक्ति कम हुँदा अभाव भएको हो ।’ घिमिरे सरकारले लगानी गरेर जनशक्ति उत्पादन नगर्दा समस्या भएको बताउँछन् । उनका अनुसार आफ्नै खर्चमा पढ्न गएका वा तालिम लिएकाहरू पनि यो क्षेत्रमा काम नगरेर अर्को क्षेत्रमा कार्यरत रहँदा पनि समस्या भएको हो । सरकार आफैले बिगारेको थिति संघीयता आउनुभन्दा अगाडि ७५ वटै जिल्ला स्वास्थ्य कार्यालयमा एकजना भेक्टोर कन्ट्रोल इन्सपेक्टर तोकिएको थियो । जसले इन्टेमोलोजिष्टले गर्ने कामहरू गर्थे । यसका लागि उनीहरूलाई तालिम दिनेने काम सरकारले गर्थ्यो ।  विश्वविद्यालयबाट अध्ययन गरेका नभएपनि उनीहरूलाई औंलो, कालाजार लगायतका किटजन्यरोगबारे जानकारी गराइएको थियो । आवश्यक योग्यताविनाका उनीहरूलाई स्वास्थ्य मन्त्रालय र सामान्य प्रशसन मन्त्रालयले पब्लिक हेल्थ इन्सपेक्टर बनाइयो । डा. मरासिनीका अनुसार संघियतापछि स्वास्थ्य नीतिमा केही फेरबदल हुँदा समस्या आएको हो । डा. मरासिनी भन्छन्, ‘औषधीको बारेमा सामान्य जानकारी गराइएको भन्दैमा फार्मेसी नपढेका व्यक्तिलाई फर्मासिष्ट बनाउँदा कस्तो हुन्छ, सरकारले त्यही अवस्था लागू गर्यो । सरकारले आफै नचाहिने निर्णय गरेर उनीहरूलाई छरपष्ट पार्नाले अहिले झन झन यसको समस्या गहिरिँदैछ ।’ ‘जसरी अप्रेसनको लागि आवश्यक सर्जन र उनीहरूलाई सहयोग गर्ने नर्स, एनेस्थेसिया आवश्यक पर्छ त्यस्तो आवश्यक जनशक्ति हुनुपर्ने हो तर भएको जनशक्तिलाई धेरै समय लगाएर बनाएको जनशक्तिलाई पनि छरपष्ट पारिदियो,’ उनले थपे । नेपालमा किन पढाइ हुँदैन ? नेपालका प्रमुख सरकारी विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले अझै पनि कीट नियन्त्रण (इन्टेमोलोजी) विषयमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा सञ्चालन गरेका छैनन् ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा वीर अस्पतालअन्तर्गतको राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान जस्ता प्रतिष्ठित संस्थाहरूमा समेत इन्टेमोलोजी पढाइ हुँदैन ।  केही व्यक्तिले आफ्नै पहलमा विदेशबाट यो विषय अध्ययन गरेर फर्किए पनि सरकारले उपयुक्त दरबन्दी सिर्जना नगरेकाले उनीहरू अन्य पदमा काम गर्न बाध्य छन् । डा. मरासिनी इपिडिमियोलोजीको निर्देशक हुँदा ग्लोबल फण्डले आफू आर्थिक सहयोग गर्न तयार रहेको बताउँदै नेपालको कुनै विश्वविद्यालयसँग कोर्स सुरु गर्न भनेको बताउँछन् । उनले यो विषयमा छलफल अगाडि बढाएका थिए । तर उनी त्यही समयमा रिटायर्ड भए ।  ‘म रिटायर्ड भइसके पछिको नेतृत्वले कुनै चासो दिएन, त्यसपछि नेपालमा पढाइ हुन सकिएन,’ उनले भने, ‘मैले मास्टर डिग्री नभइ सुरुमा स्नातक तहबाट कोर्स सुरु गर्ने प्रस्ताव गरेको थिएँ, तर यो अगाडि बढ्न सकेन । मेरो कार्यकाल सकियो, पछाडि आउका साथीहरूले चासो नै दिनुभएन ।’  विदेशबाट पढेर आएको जनशक्तिले नेपालमा विज्ञता अनुसार काम गर्न पाउँदैनन् । उनका अनुसार विदेशबाट पढेर आएका एक जना व्यवस्था महशाखामा काम गरिरहेका थिए भने अर्का एक जना ल्याबमा काम गरिरहेका थिए ।  ‘सेवाभित्र रहेर पनि फरक पदमा काम गर्दा भएपनि नभए सरह हो,’ उनी भन्छन्, ‘सरकारले सामान्य लिएको यो नीतिले भोलि गम्भीर संकट निम्त्याउने देखिन्छ ।’

६ अर्ब लगानीको गेटा अब शिक्षण अस्पताल र विश्वविद्यालय

टिकाराम सुनार सुदूरपश्चिम । केही वर्षअघिसम्म कैलालीको गेटामा स्वास्थ्य संस्थाका लागि बनेका विशाल भवन हेर्न टाढाटाढाबाट मानिस आउँथे । अस्पताल परिसर घुम्थे, अग्ला भवनसँग तस्बिर खिचाउँथे र फर्किने बेला एउटै प्रश्न सोध्थे -यति ठूला संरचनामा अब कहिले प्रयोगमा आउँछन् ?      त्यो प्रश्नको जवाफ सजिलो थिएन । सरकारका प्रतिनिधि भन्थे, 'प्रक्रियामै छ । यहाँका जनप्रतिनिधिहरू आश्वस्त पार्थे, सहजीकरणमा लागिरहेकै छौँ ।' माग सम्बोधनका लागि सङ्गठित दबाब दिँदै आएकाहरु भन्थे, 'सरकारले सुन्दै सुन्दैन, अब थप दबाब बढाउनुपर्छ ।' यसरी प्रश्न सुन्दै र उत्तर खोज्दै वर्षौं बिते । सरकार फेरिए, मन्त्री फेरिए, नीति फेरिए, तर गेटाका भवनहरूको मौनता फेरिएन । करिब छ अर्ब ६४ करोड रुपैयाँ लगानीमा बनेका आधुनिक भवन वर्षौंसम्म सुदूरपश्चिमेलीको अधुरो सपनाका मौन साक्षी बनिरहे । पछिल्ला केही वर्षयता भने त्यो मौनता विस्तारै भङ्ग हुन थालेको छ । विशाल पूर्वाधारमा २०८० कात्तिक १ देखि ५० शय्याको अस्पताल सञ्चालनमा छ । चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । बिरामीको चहलपहल बढ्दैछ । अब सबैको प्रतीक्षा एउटै छ-पठनपाठन कहिले सुरु हुन्छ ? त्यो प्रतीक्षाको घडी पनि अब धेरै टाढा छैन । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वमा सरकार बनेपछि तदारुकताका साथ काम भइरहेका छन् । असार २४ गतेको मन्त्रिपरिषद् बैठकबाट शिक्षण अस्पताल सञ्चालनका लागि स्वीकृति दिइसकिएको छ । विश्वविद्यालयका लागि आवश्यक  दुई खर्ब ५३ करोड रुपैयाँ बजेट व्यवस्थापन गरिसकिएको छ । यसै शैक्षिक सत्रदेखि एमबीबीएससहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी छ । कैलाली क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्द भन्छन्, 'रास्वपा नेतृत्वको सरकारले गेटा विश्वविद्यालय सञ्चालनलाई उच्च प्राथमिकतामा राखेको छ । सोहीअनुसार हरेक निर्णय प्रक्रिया धमाधम भइरहेका छन् । त्यसमा सहजीकरण गर्न हामी पनि लागिरका छौँ ।'       सुदूरपश्चिम प्रदेशसभा सदस्य तुल्सी देवकोटा लामो समयको प्रतीक्षापछि पठनपाठनको आधार बन्दै गएकाले शिक्षण अस्पताल सञ्चालनको आशा जागेको बताउँछन् । उनी भन्छन्, 'अब काम हुने आशा जागेको छ । सुदूरपश्चिमेली जनताको तीन दशक लामो सपना साकार हुने चरणमा छ । यहाँबाट दक्ष जनशक्ति उत्पादन हुन थालेको दिन सुदूरपश्चिमका कैयन् पुस्ताले देखेको सपना साकार हुनेछ ।'      पछिल्लो समय यहाँ विश्वविद्यालयको माग गर्दै भइरहेको सङ्घर्षका नेतृत्वकर्ता लोकराज पाण्डे विशेषज्ञ स्वास्थ्य सेवा र त्यो सेवा प्रदान गर्ने चिकित्सकहरु यहीबाट उत्पादन भएको दिन मात्रै आफूहरुको जित हुने बताउँछन् । 'प्रारम्भिक चरणका काम भएका छन् । हाम्रो मुख्य मागका रुपमा रहेको अध्ययन अध्यापन सुरु हुन बाँकी छ । यद्यपि, सरकारले त्यसका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । हामी आशावादी छौँ', उनले भने ।  अभावले आन्दोलन जन्मायो, आन्दोलनले विश्वविद्यालय   गेटामा बनेका संरचनाहरु हेर्दा गोदावरी नगरपालिका–१ का धर्मराज भट्टलाई तीन दशकअघिको समय स्मरण हुन्छ । त्यतिबेला यहाँ यस्तो विशाल स्वास्थ्य संस्था बन्ने कल्पनासमेत गरिएको थिएन । आफ्नै ठाउँमा विशेषज्ञ उपचार पाइएला, छोराछोरीले यहीँ चिकित्सा शिक्षा पढ्लान् भन्ने त झन् धेरै टाढाको विषय थियो । उनी सम्झछन्, 'विस्तारै आफ्नै घरछेउमा गुणस्तरीय स्वास्थ्य सेवा पाइएला, छोराछोरीले यहीँ पढेर स्वास्थ्य सेवा गर्लान् भन्ने सोचसहित स्वास्थ्य संस्थाको माग हुन थाल्यो । त्यसका लागि भएका आन्दोलनमा हामी पनि होमियौँ, तर त्यो माग पूरा हुन लामो समय लाग्यो । ढिलै भए पनि काम अगाडि बढेकाले खुसी छौँ ।' वर्षौंअघिको सपना साकार हुन लागेकामा अत्तरियाका भीम विश्वकर्मा पनि निकै खुसी छन् । उनी भन्छन्, 'हाम्रो पुस्ताको समय राम्रो अस्पतालको माग गर्दै बित्यो । छोरा पुस्ताको समय त्यसको आशमै । बल्ल नाति पुस्ताले विश्वविद्यालयको आँगन टेक्ने आशा जागेको छ ।' लामो समयसम्म विशेषज्ञ स्वास्थ्य उपचारका लागि यहाँका अधिकांश नागरिकलाई नेपालगञ्ज, काठमाडौं वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो । त्यो पनि आर्थिक रूपमा सक्षम परिवारका लागि मात्रै सम्भव थियो । नसक्नेले अकाल ज्यान गुमानुपर्ने अवस्था थियो । यस्तै, हरेक वर्ष सयौँ विद्यार्थी चिकित्सा शिक्षा पढ्न काठमाडौं, धरान, चितवन, पोखरा वा भारत जानुपर्ने बाध्यता छ । धेरैले आर्थिक अभावकै कारण चिकित्सक बन्ने सपना त्याग्छन् ।  यही अभाव र बाध्यताको अन्त्य गर्न सुदूरपश्चिममा मेडिकल कलेजको परिकल्पना गरिएको थियो । विसं २०६८ देखि यहाँ सङ्गठित सङ्घर्षको नेतृत्वकर्तासमेत रहेका भट्ट भन्छन्, 'हाम्रो माग सुदूरपश्चिमका योग्य विद्यार्थीले यही चिकित्सा शिक्षा पढ्न र नागरिकले सहज तथा सुलभ रुपमा उपचार पाउन भन्ने थियो । त्यसमा सबै राजनीतिक दल, नागरिक समाजलगायतको ऐक्यबद्धता भएपछि आजको अवस्था बनेको हो ।' त्यो आन्दोलनमा यहाँका प्रबुद्ध व्यक्तिहरुको पनि उत्तिकै समर्थन थियो । तीमध्येका एक वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा गणेशबहादुर सिंह भन्छन्, 'देशभर चिकित्सा शिक्षा विस्तार हुँदै थियो, तर सुदूरपश्चिममा त्यसको कुनै तयारी भएन । स्तरीय उपचार गर्ने संस्था पनि थिएन । यही अभाव अन्त्य गर्न बलियो स्वास्थ्य संस्था आवश्यक थियो । त्यो माग सम्बोधन भएको छ । हाम्रो सपनाले मूर्त रूप लिँदैछ ।' अवधारणादेखि विश्वविद्यालयसम्म गेटा विश्वविद्यालय निर्माणको इतिहास कुनै एक सरकार, एक मन्त्री वा एउटा निर्णयबाट सुरु भएको होइन । यसको इतिहास चार दशकभन्दा अघिदेखि सुरु भएको हो । जगद्गुरु शङ्कराचार्य स्वामी स्वरूपानन्द सरस्वतीले विसं २०४० को दशममै यहाँ अन्तरराष्ट्रियस्तरको आयुर्वेद चिकित्सालयको अवधारणा अघि सारेका थिए । उनले सुदूरपश्चिमको भौगोलिक अवस्था, आवश्यकता र भारतसँगको निकटताका कारण यहाँ एउटा ठूलो स्वास्थ्य संस्थाको सम्भावना देखेका थिए ।      शिक्षाविद् प्राडा हेमराज पन्तका अनुसार त्यसबेला सरकार र नागरिक तहमा पनि यस्तो सम्भावनाबारे बुझाउन निकै कठिन थियो । 'सुदूरपश्चिमको आवश्यकता र सम्भावना देखेर नै शङ्कराचार्यले गेटामा स्तरीय स्वास्थ्य संस्थाको वकालत गर्नुभयो । त्यसैबेला जग्गा व्यवस्थापनदेखि ट्रस्ट गठन र प्रारम्भिक तयारीसम्मका प्रयास भए । उहाँकै प्रेरणाबाट पछि यहाँ मेडिकल कलेज स्थापनाको कुरा उठेको थियो', उनले भने ।       त्यसै क्रममा २०५६ सालमा यहाँ आवुर्वेद चिकित्सालय स्थापनाका लागि शिलान्याससमेत भयो, तर पर्याप्त आर्थिक स्रोत, कानुनी आधार र संस्थागत संरचना नहुँदा त्यो प्रयासले गति लिन सकेन, तर सपना भने मरेन । बरु त्यसले नागरिकस्तरमा नयाँ ऊर्जा दियो । पछि मेडिकल कलेज स्थापनाको माग विस्तारै आन्दोलनकै विषय बन्न थाल्यो । यहीबीचमा  २०५६ सालतिर तत्कालीन सरकारले मन्त्रिपरिषद्बाट यहाँ मेडिकल कलेज बनाउने कुरालाई वैद्यता दिएको जानकारहरु बताउँछन् ।      विसं २०६२/६३ को राजनीतिक परिवर्तनपछि मेडिकल कलेजको माग झन् सङ्गठित रूपमा उठ्न थाल्यो । नागरिक समाज, चिकित्सक, उद्योगी–व्यवसायी, राजनीतिक दल र विभिन्न पेसागत संस्थाले एउटै स्वरमा गेटामा मेडिकल कलेज स्थापना गर्न दबाब दिन थाले । कैलाली उद्योग वाणिज्य सङ्घले २०६३ सालदेखि नै गेटा मेडिकल कलेजलाई आफ्नो प्राथमिक एजेन्डा बनाएर दबाब बढायो । यिनै दबाबपछि सरकारले पहिलोपटक त्यो मागलाई औपचारिक रूपमा सम्बोधन गर्दै २०६५/६६ सालको बजेट वक्तव्यमार्फत यहाँ मेडिकल कलेज खोल्ने पहलका लागि रु एक करोड विनियोजन गर्‍यो । उक्त कार्यक्रमलाई आव २०६६/६७ मा पनि निरन्तरता दिई रु १० करोड बजेट छुट्याइएको थियो । त्यसै बखत आवश्यक राय दिन वरिष्ठ चिकित्सक डा. करवीरनाथ योगीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको इतिहास छ । उक्त समितिमा डा. वशिष्ट रिजाल, डा. रतिन्द्रनाथ श्रेष्ठ, डा. भोजराज जोशी, डा. गणेशबहादुर सिंह, डा. ऋषिकेशनारायण श्रेष्ठ र डा. सरोजप्रसाद ओझा सदस्य रहेका थिए ।      सोही समितिद्वारा प्रस्तुत अध्ययन प्रतिवेदनको सारांशमा भनिएको छ, 'बिरामीहरूलाई सामान्य उपचारका लागि समेत काठमाडौं, नेपालगञ्ज अथवा सिमाना पारीका अस्पतालहरूमा लैजानुपर्ने बाध्यता छ । त्यसैले सुदूरपश्चिमाञ्चलवासीका लागि स्वास्थ्यमा सरल पहुँच पुर्‍याउन यस विकास क्षेत्रमा अविलम्ब एउटा मेडिकल कलेज तथा गुणस्तरीय सुविधायुक्त शिक्षण अस्पतालको सञ्चालन हुनु अत्यावश्यक छ ।' डा. योगी सम्झनछन्, 'हामीले व्यापक छलफलपछि प्रस्ट रुपमा ‘देशको सर्वाङ्गीण विकासका लागि स्वास्थ्य क्षेत्रको क्षेत्रीय, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा आवश्यक पर्ने दक्ष तथा गुणस्तरीय जनशक्ति उत्पादन गर्ने, उच्चस्तरीय चिकित्सा सेवा र विशेषज्ञ चिकित्सा सेवा प्रदान गर्न एक सक्षम, आत्मनिर्भर र स्वतन्त्र स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापित हुनुपर्ने देखिन्छ’ भनेर राय दियौँ । त्यही प्रतिवेदनले परियोजनालाई प्राविधिक र नीतिगत आधार दियो । त्यसपछि नै गेटामा स्वास्थ्य संस्था बनाउने विषय अनुमान र नाराबाट सरकारी योजनामा रूपान्तरण भएको हो ।' त्यति मात्रै होइन, उक्त समितिले २०६७ मै यहाँ एमबीबीएसलगायत कक्षा सञ्चालन गर्न सकिने निष्कर्ष निकाल्दै सरकारलाई सुझाव दिएको थियो । यसबारे भनिएको छ, 'गेटा आँखा अस्पतालसँग सम्झौता गरी नेपाल सरकारको सेती अञ्चल अस्पताल र महाकाली अञ्चल अस्पताललाई शिक्षण अस्पतालको रूपमा परिणत गरी नेपाल मेडिकल काउन्सिलको निर्धारित मापदण्ड पुर्‍याई आव २०६७/६८ को बजेटमा थप रकम निकासा गराई २०६७ साल मङ्सिरदेखि एमबीबीएस्लगायतका कक्षाहरू सुरु गर्न सकिने देखिन्छ ।'        उक्त सुझावअनुसार पढाइ सुरु नभए पनि यहाँ विकास समिति ऐन, २०१३ अनुसार ‘गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समिति गठन’ गरी थप काम अगाडि बढाईएको डा. योगीको भनाइ छ । समितिको कार्यकारी निर्देशकमा पनि उनलाई नै नियुक्त गरिएको थियो । त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा व्यवस्थापन र पूर्वाधार निर्माणका तयारी पूरा भए । त्यही आधारमा आर्थिक वर्ष २०७०/७१ बाट गेटामा भौतिक संरचना निर्माण सुरु भएका हुन् । हाल यहाँको करिब ५१ हेक्टर क्षेत्रफलमा छ सय शय्याको अस्पताल र स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि आवश्यक अधिकांश पूर्वाधार तयार छन् ।       यस बीचमा २०७२ देखि २०७८ सालसम्म तीन पटक गरी निर्माण समितिको अध्यक्षको भूमिका निर्वाह गरिसकेका डा. चेतराज पन्त सबैको अथक प्रयासपछि उक्त योजनाले सफलता पाउँदै गएको बताउँछन् । उनी भन्छन्, 'प्राविधिक टोली, इन्जिनियर, कर्मचारी र निर्माण व्यवसायीको संयुक्त प्रयासले गेटामा देशकै आधुनिक स्वास्थ्य पूर्वाधार बनेको छ । अब संस्था सञ्चालनको मोडालिटीको प्रश्न पनि रहेन । त्यसैले हामी सबै उत्साहित छौँ ।'   यस अवधिमा वर्षौंसम्म कहिले मेडिकल कलेज, कहिले स्वास्थ्य विज्ञान प्रतिष्ठान, त कहिले विश्वविद्यालय बनाउने विषयमा विवाद भयो । अन्ततः नागरिक दबाबबीच सरकारले विसं २०७९ माघमा सहिद दशरथ चन्द विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गर्‍यो । विश्वविद्यालयसम्बन्धी ऐन संसद्बाट पारित भएसँगै विसं २०८२ असार ४ मा राजपत्रमा प्रकाशित भएपछि कानुनी  र संस्थागत आधा तय भयो । कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझा भन्छन्, 'सुदूरपश्चिमको रुपान्तरणकारी योजनाको रुपमा रहेको हाम्रो माग सम्बोधन भएको छ । त्यसबाट निकै उत्साहित छौँ । अब गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा प्रदान गर्न ध्यान दिनुपर्छ । त्यसमा सबैको साथ आवश्यक छ ।'  अब संस्थागत उत्कृष्टता  वर्षौंदेखिको माग करिब सम्बोधन भएको छ । अब उक्त संस्थालाई कसरी उत्कृष्ट बनाउने भन्नेमा सबैको चासो छ । सरकारले गत असार २४ गतेको मन्त्रिपरिषद् बैठकबाट शिक्षण अस्पताल सञ्चालनका लागि स्वीकृति दिएसँगै विश्वविद्यालय सञ्चालनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । असार ३१ गते बसेको विश्वविद्यालयको सिनेट बैठकले प्राडा सुनिलकुमार जोशीलाई उपकुलपति र डा भीमबहादुर चन्दलाई रजिष्ट्रार नियुक्त गरेको छ । अब विश्वविद्यालयलाई सञ्चालनमा ल्याउने जिम्मेवारी उहाँहरूको काँधमा आएको छ ।      उपकुलपति प्राडा जोशी विश्वविद्यालय उन्नयन, शैक्षिक कार्यक्रम सञ्चालन र अस्पतालको स्तरोन्नतिमा ध्यान केन्द्रित गरिने बताउँछन् । यसअघि आफू विश्वविद्यालयको संस्थापक उपकुलपतिको जिम्मेवारीमा रहँदा पठनपाठनका लागि आवश्यक जनशक्ति, पाठ्यक्रम र आवश्यक स्रोतसाधनबारे एकतहको तयारी गरिएको र अब त्यही बिन्दुबाट काम गर्ने अवस्था बने चाँडै प्रतिफल देखिने उनको भनाइ छ । 'यो विश्वविद्यालय सुदूरपश्चिमको मात्रै होइन, समग्र देशकै राष्ट्रिय गौरवको विषय हो । त्यसैले मेरो नेतृत्वको सम्पूर्ण ध्यान यसको विश्वास र ख्याति स्थापित गर्नेमा हुन्छ । त्यसका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा सबैसँग सहकार्य गरेर अगाडि बढ्छौँ । तीनै तहका सरकार र नागरिक तहबाट पनि सकारात्मक सहयोग रहनेमा हामी विश्वस्त छौँ', उपकुलपति प्राडा जोशीले भने ।       पहिलो शैक्षिक सत्रदेखि एमबीबीएस (५० जना), बीएस्सी नर्सिङ (३० जना), बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी–२० जना) र बी अप्टोमेट्री (२० जना) सञ्चालन गर्ने तयारी गरिएको छ । त्यसका लागि चिकित्सा शिक्षा आयोगमा आवेदनसमेत बुझाएर आवश्यक प्रक्रिया अगाडि बढाउनुका साथै ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोत सुनिश्चितसमेत भइसकेको रजिष्ट्रार डा. चन्दले जानकारी दिए । उनले भने, 'हाम्रो लक्ष्य विश्वविद्यालय खोल्ने मात्र होइन, सुदूरपश्चिमलाई चिकित्सा शिक्षा, अनुसन्धान र विशेषज्ञ स्वास्थ्य सेवाको केन्द्र बनाउने हो । आगामी चार वर्षभित्र स्नातक तहमा कम्तीमा १३ वटा कार्यक्रम सञ्चालन गर्ने र त्यसपछि एमडी/एमएस तथा अन्य स्नातकोत्तर तहका कार्यक्रम विस्तार गर्ने योजना छ । अस्पताललाई पनि क्रमशः तीन सय शय्याबाट सातदेखि आठ सय शय्यासम्म विस्तार गरिनेछ ।' अब सुरु हुनेछ वास्तविक परीक्षा  विश्वविद्यालय स्थापना हुनु आफैँमा उपलब्धि हो, तर  वास्तविक परीक्षा भने अब सुरु हुँदैछ । सम्भाव्यता अध्ययन समितिका संयोजक डा. योगी विश्वविद्यालयले सुरुआतमै स्थापित गर्ने विश्वासले नै यसको भविष्य निर्धारण गर्ने भएकाले त्यसमा ध्यान दिनुपर्ने सुझाव दिन्छन् । 'नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय भएकाले सुरुदेखि नै गुणस्तरीय शिक्षण सिकाइ, अनुसन्धान र विशेषज्ञ जनशक्ति उत्पादनमा जोड दिनुपर्छ । आवश्यक परे चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)सँग सम्झौता गरेर अन्य संस्थाबाट अनुभवी प्राध्यापकलाई काजमा ल्याएर भए पनि बलियो शैक्षिक आधार तयार गर्नुपर्छ ।'      पूर्वाधार निर्माण विकास समितिका पूर्वअध्यक्ष डा. पन्त पनि विश्वविद्यालयलाई राजनीतिक बहसभन्दा माथि उठाएर संस्थागत उत्कृष्टतामा केन्द्रित गर्नुपर्ने बताउँछन् । 'यहाँ संस्था खोल्ने मात्र उद्देश्य होइन, गुणस्तरीय शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवा दिने विश्वविद्यालय बनाउनु नै अन्तिम लक्ष्य हो । त्यसका लागि सबै पक्षबीच सहकार्य र विश्वासको वातावरण आवश्यक छ ।' वरिष्ठ चिकित्सक डा. सिंह भने सुरुआती चुनौतीतर्फ ध्यानाकर्षण गराउँछन् । 'पठनपाठन सुरु हुनु सकारात्मक कुरा हो, तर शिक्षण अस्पतालका लागि आवश्यक पूर्वाधार, जनशक्ति र सेवा विस्तारलाई पनि सँगसँगै अघि बढाउनुपर्छ । गुणस्तरीय शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्न सकियो भने मात्रै उद्देश्य पूरा भएको मान्न सकिन्छ ।'      विज्ञहरुका अनुसार गेटाको सफलताको मापन भवनको उचाइले होइन, त्यहाँबाट निस्कने चिकित्सक, नर्स, अनुसन्धानकर्ता र स्वास्थ्यकर्मीको गुणस्तरले हुनेछ । त्यसैले विश्वविद्यालयलाई उत्कृष्ट स्वास्थ्य धरोहर बनाउन जिम्मेवारी प्राप्त पदाधिकारी र स्थानीय सरोकारवालाको भूमिका अपरिहार्य छ । त्यसो हुनसके मात्रै विश्वविद्यालयमार्फत सुदूरपश्चिमको नयाँ इतिहास लेखिने छ । रासस  

नेपाल औषधि लिमिटेडले २ वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी २ वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ । यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच उक्त समझदारीपत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन् । आगामी चरणमा उच्च रक्तचाप र मधुमेहलगायतका दीर्घ रोगका औषधिसमेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ । यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयको भनाइ छ । मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ । समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद मन्त्रालय र औषधि लिमिटेडबीच सहज, नियमित र संस्थागत प्रणालीमार्फत हुने व्यवस्था मिलाइने छ । यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ । यसैगरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यस पहलले स्वदेशी औषधि उद्योगको प्रवर्द्धन, औषधिमा आत्मनिर्भरता अभिवृद्धि, आयातमा निर्भरता न्यूनीकरण तथा नागरिकलाई गुणस्तरीय र सुलभ अत्यावश्यक औषधिको नियमित उपलब्धता सुनिश्चित गर्ने सरकारको दीर्घकालीन लक्ष्यलाई सशक्त रूपमा अघि बढाउने विश्वास लिइएको छ ।