नर्सहरूको पारिश्रमिक बढाउन माग गर्दै नर्सिङ संघले गर्यो आन्दोलनको घोषणा

काठमाडौं । निजी अस्पतालमा कार्यरत आन्दोलनरत नर्सहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेपाल नर्सिङ संघले आन्दोलनका कार्यक्रम  घोषणा गरेका छन् । आइतबार  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आफ्ना मागहरू पुरा पेश गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आन्दोलन कार्यक्रम अन्तर्गत कार्तिक ४ गते मंगलबारदेखि ११ गते सम्म देश भरिका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा कालो पट्टी बाँधेर काम गर्ने जनाइएको छ । यस्तै १२ गतेदेखि १८ गते सम्म दिनको २ घण्टा अत्यावश्यक सेवा बाहेकका नर्सिङ सेवा बन्द गर्ने, १८ गते सम्म मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदन अनुसार थप कार्य तालिका प्रकाशित गरिने नर्सिङ संघले जनाएको छ ।  संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पत्राचार भए अनसार निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी प्रदान गर्नुपर्ने, हाल सम्म श्रमिकको रुपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गरिनुपर्ने माग राखेका छन् ।  यति गर्दा पनि अटेरी भएमा कडा आन्दोलन गर्ने नर्सिङ संघका महासचिव देवका आचार्यले बताइन् । उनका अनुसार आइतबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । निजी अस्पताल तथा मेडिकल सञ्चालकहरू बैठकबाट निस्केपछि छलफल निष्कर्षमा पुग्न सकेन ।

बैठकमा बोलाएर आफूमाथि अपमानजनक व्यवहार गरिएको निजी मेडिकल सञ्चालकहरूको आरोप

काठमाडौं । निजी मेडिकल सञ्चालकहरूले आफूहरूलाई बैठकमा बोलाएर अपमान गरेको बताएका छन् । आन्दोलनरत नर्सहरूको तलब स्केलका विषयमा छलफल गर्न स्वास्थ्य मन्त्रालयमा बैठक आयोजना गरेको र त्यसमा सहभागी भएर छलफल गरिरहेका बेला आफूमाथि बैठकमै अपमान गर्दा बैठक छोडेर भाग्नु परेको बताएका छन् । एशोसियसन अफ मेडिकल डेन्टल कलेज नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की र एशोसिएसन अफ प्राइभेट अस्पताल नेपालका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद रिजालले संयुक्त विज्ञप्ति निकाल्दै आफूमाथि बैठकमा अपमानजनक व्यवहार हुँदा बैठकबाट निस्कनुपरेको बताएका छन् ।  ‘औपचारिक वार्ता भइरहेको क्रममा आआफ्ना तर्फबाट विषयवस्तु राख्दै गर्दा आन्दोलनरत पक्षबाट प्रयोग गरिएका अपमानजनक शब्द, अनुचित व्यवहार तथा 'माफिया' लेखिएका प्लेकार्डहरू प्रदर्शन गरिएकोमा गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।  निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरू सधैं संवाद, सहकार्य र सम्मानका आधारमा समस्या समाधान गर्न प्रतिवद्ध रहँदै आएको भन्दै नर्सहरूको योगदानको सम्मान गर्दै मागहरू प्रति सकारात्मक रहेको बताएका छन् । तर, यस्तो अपमानजनक व्यवहारले वार्ताको वातावरण बिगार्नुका साथै आपसी विश्वासमा आघात पुर्याएको विज्ञप्तिमा भनिएको छ ।  विज्ञप्तिमा भनिएको छ, ‘हामी स्पष्ट रूपमा उल्लेख गर्न चाहन्छौ यस्तो अवस्था सिर्जना हुनुमा राज्य पक्षकै कमजोरी र असन्तुलित व्यवस्थापन जिम्मेवार छ । सरकारले समयमै दिगो नीति, समान व्यवहार र स्पष्ट कार्यविधि नल्याएकै कारण यस्तो अप्रिय परिस्थिति उत्पन्न भएको हो। त्यसैले, यस घटनाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ।’

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उच्च प्रविधिको मस्तिष्कघात केन्द्र स्थापना

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’ उच्च प्रविधिको मस्तिष्कघात केन्द्र स्थापना गरेको छ । विश्व स्ट्रोक संगठन (डब्लुएसओ) बाट मान्यता प्राप्त गर्दै अस्पतालले उच्च प्रविधिको मस्तिष्कघात सम्बन्धी उपचार केन्द्र स्थापना गरेको बताएको छ ।  अस्पतालको गुणस्तरीय सेवा मूल्याङ्कनका आधारमा ग्रान्डीले एडभान्स्ड स्ट्रोक सेन्टर सञ्चालन गर्ने अवसर पाएको हो । केन्द्र स्थापनापछि मस्तिष्कघातको उपचारमा सहज हुने जनाइएको छ ।  अस्पतालका न्युरोलोजिस्ट तथा मस्तिष्कघात उपचार सम्बन्धी कार्यक्रमका निर्देशक डा. राजु पौडेलले बिरामीको उपचारमा टेवा पुग्ने बताए । ‘यो मान्यताले नेपाली जनतालाई विश्वस्तरीय मस्तिष्कघात उपचार प्रदान गर्ने हाम्रो अटुट प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ,’ उनले भने । मस्तिष्कघात विश्वव्यापी रूपमा मृत्यु र शारीरिक रुपमा अशक्तताको प्रमुख कारण हो । नेपालमा प्रत्येक १० मिनेटमा एक जना व्यक्ति मस्तिष्कघातबाट पीडित हुन्छन् ।  यो मान्यताले जीवन बचाउन र बिरामीको अवस्थाको सुधार ल्याउन द्रुत उपचार प्रणालीमा सहयोग गर्दछ ।  अस्पतालका न्यूरोइन्टरभेन्सन रेडियोलोजिस्ट डा. सुवास फुयाल मस्तिष्कघात बिरामीको उपचार गर्दा प्रत्येक क्षण महत्वपूर्ण हुने बताउँछन् । उनी भन्छन्, 'यो केन्द्रले नेपालभरका बिरामीलाई स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको मस्तिष्कघात उपचारमा सहयोग पुर्याउन मद्दत गर्दछ । विशेष गरी ठूला रक्तनली अवरोधमा थ्रोम्बेक्टोमी जस्ता उपचारात्मक विधिले समयमै उपचार सुनिश्चित गर्दछ । जसले विरामको अवस्थाको जटिलतालाई न्यूनीकरण गर्छ ।’ अस्पतालले मस्तिष्कघात उपचारका लागि न्युरोइमेजिङको माध्यामले कोइलिङ, स्याक्युलर डाइभर्सन, डिभाइसहरू, आर्टेरियो भेनस–मालफर्मेशनको उपचार, क्यारोटिड स्टेन्टिङ, र जटिल एन्युरिज्ममा फ्लो डाइभर्टर जस्ता उपचारात्मक विधि प्रयोग गर्दै आएको छ । जुन चिकित्सकीय रुपमा जटिल कार्य हो ।  अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल नेपालमा न्युरोलोजिकल उपचार विकास गर्न र मस्तिष्कघात उपचार र बिरामी हेरचाहको लागि उच्चतम् अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न निरन्तर प्रतिबद्ध रहेको बताए । उनले विश्वस्तरीय मस्तिष्कघात उपचारको लागि अस्पतालले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।