काठमाडौं । अब अस्पतालमा पनि आइतबार बिदा हुने भएको छ । सेवाग्राहीको असहजतालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले आइतबार पनि ओपीडी सञ्चालन गर्न निर्देशन दिँदा चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मीहरूले विरोध जनाउँदा मन्त्रालय यो कदमबाट पछाडि हटेको हो ।
सरकारले सार्वजनिक संस्थाहरूमा आइतबार पनि बिदा दिन दिएको आग्रहलाई लत्याउँदै मन्त्रालयले अस्पताल आइतबार पनि सञ्चालन गर्न भनेको थियो ।
यो विषयमा नेपाल चिकित्सक संघ लगायत १४ वटा चिकित्सक संघ संगठनहरूले आपत्ति जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएका थिए । त्यसको भोलिपल्ट मन्त्रालयले एक विज्ञप्ति निकाल्दै शनिबार र आइतबार बिदा दिने व्यवस्था लागू गर्ने निर्णय गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार मिति २०८२ चैत्र २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागु भएको सन्दर्भमा स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, सरकारको ‘हप्तामा दुई दिन सार्वजनिक बिदा’ को नीति अनुरूप आइतबारका पूर्व–निर्धारित शल्यक्रिया लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरी अन्तरंग र आकस्मिक सेवाहरू सधैं झैं २४ सै घण्टा सुचारु रहने जानकारी गराइन्छ ।’
बिदाका दिनहरूमा बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूले सम्भव भएसम्मका सेवा प्रदान गर्न, उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न र एम्बुलेन्सहरू हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन मन्त्रालयले भनेको छ ।