डा. केसीको उपचार त्रिवि शिक्षण अस्पतालमा हुँदै

काठमाडौं । इलाममा अनसनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्यमा जटिलता देखिएपछि काठमाडौं ल्याइएको छ । 

नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान १०ः३० बजे काठमाडौं ल्याइएका केसीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै डा. केसीले गत बिहीबारदेखि इलामस्थित नारायण मन्दिरमा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका थिए । अनसनका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

यसैबीच, उनका सहयोगी पवन थापाले सरकारसँग तत्काल वार्ता गरी डा. केसीका माग सम्बोधन गर्न आग्रह गरेका छन् । काठमाडौं ल्याएपछि पनि सरकारले उनको स्वास्थ्य अवस्थाबारे चासो नदेखाएको थापाको गुनासो छ । उनले सरकारले यथाशीघ्र वार्ता गरेर समस्या समाधान गर्नुपर्ने बताएका छन् । 

Share News