नेपाललाई मेडिकल हब बनाउने सरकारको तयारी, कार्यदल गठन गर्ने निर्णय

 

सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवद्र्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले चिकित्सा सेवा पर्यटनको विकास र प्रवद्र्धनका लागि कार्यदल गठन गरी चाँडै काम अघि बढाउने निर्णय गरेको हो । प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा सम्बन्धित मन्त्रालयका सचिवहरू तथा निजी अस्पतालका सञ्चालक र प्रतिनिधिहरूको सहभागिता थियो ।

बैठकमा गुणस्तरीय र सुलभ उपचार सेवा लिन नेपाल आउने विदेशी बिरामीका लागि चिकित्सा सेवा पर्यटनलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो । यसका लागि आवश्यक नियमनकारी संरचना निर्माण गर्ने, अस्पतालको गुणस्तर र बिरामी सुरक्षाको मापदण्ड तय गर्ने, तथा विदेशी बिरामी र उनका सहयोगीका लागि मेडिकल भिसाको व्यवस्था गर्ने विषयमा समेत छलफल भएको थियो ।

चिकित्सा सेवा पर्यटनको विकासले विदेशी मुद्रा आर्जनमा मात्र होइन, नेपाली नागरिकलाई उपचारका लागि विदेश जानुपर्ने बाध्यता घटाउन र देशभित्रै विशेषज्ञ सेवा सुदृढ गर्न पनि सहयोग पुग्ने छ । नेपाललाई चिकित्सा सेवा पर्यटनको भरपर्दो गन्तव्यका रूपमा स्थापित गर्न सरकारले आवश्यक नीतिगत तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छ ।

Share News