राष्ट्रिय सूक्ष्म पोषक तत्त्व सर्वेक्षण हुँदै

काठमाडौं । नेपालमा बालबालिका, किशोरकिशोरी तथा महिलालगायत विभिन्न उमेर समूहका नागरिकको पोषण अवस्था र शरीरमा आवश्यक सूक्ष्म पोषक तत्त्वको उपलब्धता मूल्याङ्कन गर्न ‘नेपाल सूक्ष्म पोषक तत्त्व सर्वेक्षण २०२६’ सञ्चालन गरिने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा सञ्चालन हुने सर्वेक्षणले देशको वर्तमान पोषण अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरको अद्यावधिक तथ्याङ्क उपलब्ध गराउनेछ । सन् २०१६ मा सम्पन्न राष्ट्रिय सूक्ष्म पोषक तत्त्व अवस्था सर्वेक्षणको करिब एक दशकपछि हुन लागेको यस अध्ययनले विगतका उपलब्धि, विद्यमान पोषण समस्या र आगामी प्राथमिकता पहिचान गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

सर्वेक्षणमार्फत भिटामिन ‘ए’, भिटामिन ‘बी१२’, आइरन, आयोडिन, जिङ्क र फोलेटलगायत शरीरका लागि आवश्यक सूक्ष्म पोषक तत्त्वको अवस्था परीक्षण गरिनेछ। यसका साथै रक्तअल्पता र संक्रमणसँग सम्बन्धित सूचक, शारीरिक वृद्धि तथा पोषण अवस्था र प्रमुख पोषण कार्यक्रमको पहुँच एवं सेवाग्राहीको पालना अवस्थासमेत अध्ययन गरिनेछ ।

सर्वेक्षण सन् २०२६ अप्रिलदेखि सन् २०२७ मार्चसम्म देशभरका सातै प्रदेश र हिमाल, पहाड तथा तराई गरी तीनवटै भौगोलिक क्षेत्रमा सञ्चालन हुनेछ। यसका लागि २८० वटा क्लस्टर छनोट गरी ८ हजार ४०० घरपरिवारका करिब १२ हजार २३६ व्यक्तिलाई समेटिनेछ । सर्वेक्षणमा घरमूली, १५ देखि ४९ वर्ष उमेर समूहका महिला, १० देखि १९ वर्षका किशोरकिशोरी तथा ६ देखि ९ वर्ष र ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था अध्ययन गरिनेछ । गर्भवती महिलालाई समेत सर्वेक्षणमा समावेश गरिनेछ ।

सर्वेक्षणका लागि गुणस्तर नियन्त्रक, तथ्याङ्क संकलक, सुपरिवेक्षक, अन्तर्वार्ताकार, रक्त नमुना संकलक, प्रयोगशाला प्राविधिक तथा नमुना ढुवानीमा संलग्न गरी २०५ जना जनशक्ति परिचालन गरिनेछ । उनीहरूका लागि नोभेम्बर १७ देखि २८ सम्म तालिम सञ्चालन गरिनेछ ।

यसअघि सन् २०१६ मा गरिएको सर्वेक्षणले विभिन्न उमेर समूहका नागरिकमा सूक्ष्म पोषक तत्त्वको कमी तथा रक्तअल्पताको अवस्था पहिचान गरेको थियो । त्यसयता सरकारले पोषण सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

Share News