स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएककाहरुको वर्गीकरण गर्नेभएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरुको वर्गीकरण गर्नका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । टोलीमा विभिन्न विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश गरिएको छ । घाइतेहरुको वर्गीकरणको मापदण्ड बनाउने कार्य सुरु गरिएको संयोजक डा शर्माले जानकारी दिए । उनले भने, 'विशेषज्ञको टोलीसहित हामीले अधययन गरिरहेका छौँ । चोटपटक सामान्य, मध्यम वा गम्भीर भनेर ग्रेडिङ गर्ने काम भइरहेको छ ।' स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको सङ्ख्या दुई हजार ३१६ जना रहेको छ ।
पर्सामा २१ हजार जनालाई हैजा विरुद्धको खोप लगाइयो
काठमाडौं । हैजा प्रभावित पर्सामा हालसम्म २१ हजार जनालाई खोप प्रदान गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका नागरिकलाई उक्त खोप लगाइएको हो । वीरगञ्ज नगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र धोवीनी गाउँपालिकामा हैजा विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले पर्सामा ६ लाख ५२ हजार लक्षित जनसङ्ख्या रहेकामा २१ हजार १९६ जनालाई हैजा विरुद्धको खोप दिइएको जानकारी दिए । जगरनाथपुरमा ३२ हजार ५३ जनामध्ये १७५ जनालाई, सखुवा प्रसौनीमा ३५ हजार १७९ जनामध्ये ४ हजार ९९९, वीरगञ्ज महानगरपालिकामा दुई लाख ७५ हजार ६७३ जनामध्ये नौ हजार ५१३, पोखरियामा ३७ हजार ८७४ जनामध्ये चार हजार ८७६ र धोवीनीमा २२ हजार ५४२ जनामध्ये दुई हजार ५३३ जनालाई हैजा विरुद्धको खोप लगाइएको हो । पर्सामा आइतबार प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदीलाई खोप लगाएर उक्त अभियान थालिएको हो । सरकारले हैजाको महामारीको उच्च जोखिमलाई ध्यानमा राखी पर्सा र बारामा हैजा विरुद्धको खोप अभियान सञ्चालन गरेको हो । गत भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिका–१२ मुरली टोलबाट देखिन सुरु गरेको हैजा रोगबाट हालसम्म पर्सा र बारामा गरी एक हजार ६८५ हैजाका बिरामी फेला परेका छन् । हैजा विरुद्धको खोप अभियानका लागि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले १० लाख १८ हजार एक सय मात्रा खोप पर्सा र बारा पठाइसकेको छ । दुवै जिल्लामा चार लाख तीन हजार ३२१ जनालाई खोप दिइनेछ । हाल पर्साको १४ वटै स्थानीय तह र बाराका ६ स्थानीय तहमा सो अभियान सञ्चालन गरिनेछ । खोप शाखा प्रमुख डा गौतमले हालसम्म सबै जना खोप लिन इच्छुक रहेका जानकारी दिए । रासस
नर्सिङको तलब सरकारी सरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एव स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह नघट्ने गरी लागू गर्न पत्रचार गरिएको जानकारी दिए । मन्त्रालयले यसअघि पनि निर्देशन दिइसकेकाले कतिपय ठाउँमा कार्यान्वयन नभएको गुनासो आएकाले फेरि पनि निर्देशन दिइएको उनले बताए । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सिङहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाउनुपर्ने माग राख्दै अहिले आन्दोलन गरिरहेका छन् । उनका अनुसार तोकिएको समयभन्दा बढी कामका लागि अतिरिक्त भत्ता व्यवस्था गर्न पनि निर्देशन दिइएको छ । मन्त्रालयले स्वास्थ्य तथा शैक्षिक संस्थाले करार गरी राख्नुपर्ने, ज्यालादारी कार्य गराउन नपाइने र सक्कली शैक्षिक प्रमाणपत्र कार्यालयमा राख्न नपाइनेसमेत निर्देशन दिएको उनले बताए । यस्तै मन्त्रालयले नर्सिङलगायत अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक बैङ्किङ प्रणालीबाट मात्र उपलब्ध गराउनसमेत आग्रह गरेको छ ।