क्यान्सर बिरामीको उपचारमा प्रयोग हुने रेडियोधर्मी (रेडियो आइसोटोप्स) औषधी नेपालमै उत्पादन गरिने
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले क्यान्सर बिरामीको उपचारमा प्रयोग हुने रेडियोधर्मी (रेडियो आइसोटोप्स) औषधीको उत्पादन गर्ने प्रक्रिया अगाडि बढाउने बताएका छन् । क्यान्सरका बिरामीका लागि प्रयोग हुने रेडियोधर्मी औषधीको उत्पादन नेपालमै गर्न आणविक अनुसन्धान केन्द्र खोल्ने योजना रहेको मन्त्री पुनले जानकारी दिए । नेपालमा यो औषधी नहुँदा भारत लगायतका विभिन्न देशबाट ल्याउनुपर्ने बाध्यता नेपाली चिकित्सक तथा सञ्चालकहरूलाई छ । यो औषधी नेपालमै उत्पादन गर्न सक्ने हो भने बिरामीहरूका लागि ठूलो राहत हुने उनीहरू बताउँछन् । रेडियो आइसोटोप्स क्यान्सरको अवस्था पत्ता लगाउन गरिने पेटको सिटीस्क्यानका लागि प्रयोग हुने रेडियोधर्मी औषधी हो । रेडियो आइसोटोप्स औषधी उत्पादन भएको केही मिनेट घण्टामै प्रयोग भइसक्नु पर्ने हुन्छ । तुरुन्तै प्रयोग गर्नुपर्ने औषधी विभिन्न देशबाट आयात गर्दा चिकित्सक तथा यसका सञ्चालकहरूले निकै कठिनाइ भोग्नुपरिरहेको छ ।
बारा र पर्सामा हैजाविरुद्ध खोप कार्यक्रम सञ्चालन हुँदै
काठमाडौं । सरकारले बारा र पर्सामा हैजाविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि नेपालले १० लाख १८ हजार एक सय डोज खोज प्राप्त गरिसकेको छ । अन्तर्राष्ट्रिय समन्य समूह (आइसीजी)ले मुखबाट खुवाउने हैजा विरुद्धको खोप ओरल कोलेरा भ्याक्सिन (ओसिभी) उपलब्ध गराएको छ । भ्याक्सिन प्राप्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तह र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिलाई खोप दिन लागेको जनाएको छ । खोप कार्यक्रम पर्सामा भदौ २६ गते र बारमा २९ गतेदेखि सुरु गर्ने तयारी छ । पर्साको वीरगञ्ज महानगरपालिकामा गत भदौ ६ गते हैजा फैलिएको थियो । पर्सा र बारा जिल्ला गरी १ हजार ६ सय ८५ बिरामी फेला परेका थिए । यसअघि यस्तै खोप काठमाडौं उपत्यका र कपिलवस्तुमा दिइएको थियो ।
औषधि प्रतिनिधिहरूमाथि फैलिएका आरोप निराधार, संघले गर्यो खण्डन
काठमाडौं । नेपाल मेडिकल एण्ड सेल्स रिप्रेसेन्टेटिभ्स संघ, काठमाडौं इकाई (एनएमएसआरए) ले औषधि प्रतिनिधिहरूमाथि हालै सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत फैलाइएका आरोपहरू पूर्ण रूपमा गलत र निराधार भएको स्पष्ट पारेको छ । संघले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा स्वास्थ्य क्षेत्रमा खटिएका प्रतिनिधिहरूलाई गैरव्यावसायिक वा अनैतिक गतिविधिमा संलग्न भएको भनी फैलाइएका समाचारहरू भ्रामक मात्र नभई प्रतिनिधिहरूको इज्जतमा प्रहार गर्ने उद्देश्यले गरेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘औषधि प्रतिनिधिहरू स्वास्थ्य क्षेत्रका अभिन्न अंग हुन्। उनीहरूले चिकित्सक र स्वास्थ्यकर्मीलाई वैज्ञानिक जानकारी र नवीनतम औषधीय तथ्याङ्क उपलब्ध गराउने महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । औषधि प्रतिनिधिहरूको मर्यादा, इमानदारी र व्यावसायिकता माथि प्रश्न उठाउने कुनै पनि प्रयास अस्वीकार्य छ ।’ संघले यसरी फैलाइएका गलत सूचनाले व्यक्तिगत मात्र नभई सम्पूर्ण स्वास्थ्य प्रणालीको विश्वसनीयता र सन्तुलनमा समेत नकारात्मक असर पर्ने चेतावनी दिएको छ। साथै संघले आफ्ना सदस्यहरू कानुन, आचारसंहिता र स्वास्थ्य निकायको निर्देशनअनुसार कार्यरत रहेको बताउँदै सामाजिक सञ्जालमा फैलिएका भ्रमपूर्ण सूचनाविरुद्ध कडा कानूनी कदम चाल्न सकिने चेतावनीसमेत दिएको छ । संघले संविधानले सुनिश्चित गरेको मर्यादित पेशागत अधिकार, सुरक्षित कार्य वातावरण र स्वतन्त्रतापूर्वक काम गर्ने हक औषधि प्रतिनिधिहरूलाई पनि लागू हुने उल्लेख गरेको छ ।