गेटा आँखा अस्पतालको सहमति प्रशासनद्वारा अस्वीकार, विवाद झन् बल्झियो

काठमाडौं । कैलालीस्थित गेटा आँखा अस्पतालमा कर्मचारी आन्दोलन अन्त्यका लागि भएको सहमतिलाई अस्पताल प्रशासनको एक पक्षले अस्वीकार गरेको छ । प्रमुख प्रशासक दीर्घबहादुर चन्दसहितको प्रशासनिक समूहले आफूहरूको सहभागिताबिनै गरिएको सहमति मान्य नहुने स्पष्ट पारेको हो । प्रमुख प्रशासक चन्दसहितको समूहका अनुसार आन्दोलन र त्यससँग जोडिएको विवादमा प्रशासन पनि प्रत्यक्ष सरोकारवाला पक्ष भएकाले सबै पक्षको सहभागिता र सहमतिबिनाको निर्णय कार्यान्वयन गर्न नसकिने अवस्था रहेको छ । उनीहरूले विवादको स्थायी समाधानका लागि सबै पक्षलाई समेटेर संवाद हुनुपर्नेमा जोड दिएका छन् । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुजाता भण्डारीले भने अस्पतालको सेवा सञ्चालन क्रमशः सामान्य बन्दै गएको बताएकी छन् । उनका अनुसार आन्दोलन समाधानका लागि भएको सहमतिअनुसार प्रमुख प्रशासक दीर्घबहादुर चन्दले काठमाडौंस्थित नेपाल नेत्रज्योति संघको केन्द्रीय कार्यालयबाट प्रशासनिक जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ । डा. भण्डारीले बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्ट र वरिष्ठ प्रशासकीय अधिकृत गोविन्दप्रसाद जोशीले धनगढीस्थित आँखा उपचार केन्द्रबाट नियमित रूपमा सेवा दिइरहेको जानकारी दिइन् । बायोमेडिकल टेक्निसियन राजबहादुर चौधरी बिदामा रहेको उनले बताइन् । उनी किन विदामा बसेका हुन् आफुलाई जानकारी नभएको डा. भण्डारीले बताइन् । अस्पताल प्रशासनका अनुसार २०८३ जेठ ४ गतेदेखि सुरु भएको कर्मचारी आन्दोलनपछि प्रमुख प्रशासकसहित केही कर्मचारी अस्पतालबाहिरबाट सेवा दिन बाध्य भएका छन् । आन्दोलन र त्यसबाट उत्पन्न अवरोधका कारण अस्पतालको सेवा प्रवाह प्रभावित भएको प्रशासनको दाबी छ । प्रशासनले आन्दोलनकै क्रममा तत्कालीन चिफ मेडिकल डाइरेक्टर डा. सुरेशराज पन्तले दिएको राजीनामा स्वीकृत भएको बताएको छ । अस्पताल व्यवस्थापन समितिले पनि राजीनामा दिएको र त्यससम्बन्धी विषय नेपाल नेत्रज्योति संघको केन्द्रीय कार्यालयमा विचाराधीन रहेको प्रमुख प्रशासक चन्दको भनाइ छ । डा. भण्डारीले अस्पताल प्रमुखको जिम्मेवारी सम्हाले पनि विवाद पूर्ण रूपमा समाधान नभएकाले सेवा सञ्चालन अझै चुनौतीपूर्ण रहेको प्रशासनले जनाएको छ । प्रशासनले आन्दोलनका क्रममा पूर्वसूचना वा स्वीकृतिबिनै अस्पतालका सेवा अवरुद्ध गरिएको, कर्मचारीमाथि दबाब र धम्की दिइएको तथा बाह्य हस्तक्षेपका कारण सेवाग्राहीले सहज रूपमा उपचार सेवा पाउन नसकेको आरोप लगाएको छ । प्रशासनका अनुसार केही कर्मचारी, उनीहरूका आफन्त तथा स्थानीय व्यक्तिहरूले व्यक्तिगत स्वार्थका लागि आन्दोलन गरेका हुन् । आन्दोलनका कारण अस्पतालभित्र असुरक्षाको वातावरण सिर्जना भएको र नियमित रूपमा काम गर्न चाहने कर्मचारीसमेत दबाबमा परेको दाबी प्रशासनको छ । अस्पतालका एक कर्मचारीले नाम नखुलाउने सर्तमा आन्दोलनमा सहभागी नभए ज्यान मार्ने धम्की आएको भन्दै बाध्य भएर हस्ताक्षर गर्नुपरेको बताएका छन् । यद्यपि यस विषयमा आन्दोलनरत पक्षले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । ४४ वर्षअघि स्थापना भएको गेटा आँखा अस्पताल सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो आँखा उपचार केन्द्रका रूपमा परिचित छ । अस्पतालका अनुसार हालसम्म करिब ५५ लाख बिरामीले यहाँबाट उपचार सेवा लिएका छन् भने झन्डै साढे सात लाख शल्यक्रिया सम्पन्न भएका छन् । अस्पतालले भारतका २० लाखभन्दा बढी बिरामीलाई समेत सेवा दिएको जनाएको छ । तीमध्ये करिब साढे चार लाख मोतिबिन्दुसहितका शल्यक्रिया गरिएको अस्पतालको तथ्यांक छ । हाल अस्पताल अन्तर्गत सुदूरपश्चिमका नौवटै जिल्लामा तीनवटा सेकेन्डरी अस्पताल र २६ वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । करिब २०० कर्मचारी कार्यरत रहेको अस्पतालमा डिप्लोमा इन अफ्थाल्मिक साइन्स र नेत्ररोग विषयको स्नातकोत्तर तहको अध्ययनसमेत सञ्चालन हुँदै आएको छ । के हो विवाद ? सेवा–सुविधा, कर्मचारी व्यवस्थापन, बढुवा, संगठन तथा व्यवस्थापन ओ एण्ड एम सर्वेक्षण र प्रशासनिक निर्णयलाई लिएर लामो समयदेखि असन्तुष्ट कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।  विवादको सुरुआत कर्मचारीहरूले आफ्ना माग समयमै सम्बोधन नभएको भन्दै आन्दोलन थालेपछि भएको हो । कर्मचारीहरूले सरकारले निर्णय गरेअनुसार महँगी भत्ता कार्यान्वयन गर्न, आइतबारको सार्वजनिक बिदा लागू गर्न वा त्यसबापत सट्टा बिदा तथा अतिरिक्त सुविधा उपलब्ध गराउन माग गरेका थिए ।  अस्पतालले ओ एण्ड एम सर्वेक्षण सम्पन्न गरी आवश्यक दरबन्दी, बढुवा र सेवा–सुविधाको स्पष्ट व्यवस्था गर्न माग गर्दै कर्मचारीहरुले जेठ ४ वाट आन्दोलन गर्दै आएका थिए । उनीहरूको भनाइमा यी विषय लामो समयदेखि उठाइए पनि व्यवस्थापनले बेवास्ता गरेपछि आन्दोलनको विकल्प रोज्नुपरेको हो । माग पूरा गराउन कर्मचारीहरूले अस्पताल प्रमुखको कार्यकक्ष र प्रशासन शाखामा तालाबन्दीसमेत गरेका थिए । आन्दोलनका क्रममा अस्पतालको नियमित सेवा प्रभावित भयो भने बिरामीले समेत सास्ती भोग्नुपरेको थियो । कर्मचारीहरूले भने आकस्मिक तथा अत्यावश्यक उपचार सेवा सकेसम्म निरन्तर सञ्चालन गरिएको दाबी गर्दै आएका छन् । आन्दोलन चर्किएपछि अस्पताल प्रशासन र कर्मचारीबीचको सम्बन्ध थप तनावपूर्ण बन्यो । आन्दोलनमा सहभागी कर्मचारीलाई स्पष्टीकरण सोधिएको, मानसिक दबाब दिइएको तथा कारबाहीको चेतावनी दिइएको आरोप कर्मचारी पक्षले लगाएको छ । यही विषयलाई लिएर राष्ट्रिय मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयमा समेत उजुरी दर्ता गरिएको थियो । तर, प्रशासनले भने कर्मचारीलाई समयमा कार्यालय आउन, कर्मचारीको ड्रेस कोड मान्न आग्रह गरेको प्रमुख प्रशासक चन्द बताउँछन् । अस्पताल प्रशासनले संस्थाको अनुशासन कायम राख्न आवश्यक प्रक्रिया अपनाइएको बताउँदै कर्मचारीका माग वार्ता र कानुनी प्रक्रियामार्फत समाधान गर्ने प्रयास गरेको प्रमुख प्रशासक चन्दले बताए ।  विवादले स्थानीय समुदायको पनि ध्यान तानेको छ । स्थानीय बासिन्दाले अस्पतालको व्यवस्थापन थप पारदर्शी बनाउन, स्थानीयको सहभागिता सुनिश्चित गर्न र कर्मचारीका जायज मागलाई संवादमार्फत समाधान गर्न आग्रह गर्दै ऐक्यवद्घता जनाएका थिए ।  यसबीच कर्मचारी र प्रशासनबीच केही बुँदामा सहमति भएको घोषणा गरिए पनि त्यसको कार्यान्वयनलाई लिएर पुनः विवाद उत्पन्न भएको छ । प्रशासनको एक पक्षले आफूहरूको सहभागिताबिनै भएको सहमति स्वीकार गर्न नसकिने अडान लिएपछि विवाद फेरि बल्झिएको हो । परिणामस्वरूप सुदूरपश्चिमकै प्रमुख आँखा उपचार केन्द्रका रूपमा रहेको गेटा आँखा अस्पतालको सेवा प्रवाह पुनः प्रभावित बनेको छ । निष्पक्ष छानबिनको माग अस्पताल प्रशासनले नेपाल नेत्रज्योति संघ, स्थानीय तह, प्रदेश सरकार तथा संघीय सरकारसँग विवादको निष्पक्ष छानबिन गरी अस्पतालको नियमित सेवा अविलम्ब पूर्ण रूपमा सुचारु हुने वातावरण बनाउन आग्रह गरेको छ । प्रशासनले गेटा आँखा अस्पताललाई राजनीतिक वा व्यक्तिगत स्वार्थको केन्द्र बन्न नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै संविधान, प्रचलित कानुन तथा संस्थागत नियमावलीअनुसार समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । साथै, लाखौं सेवाग्राहीको उपचार सेवा प्रभावित नहुने गरी विवादको शीघ्र समाधान गर्न सम्बन्धित निकायसँग अपिल समेत गरेको छ । 

नेपाल बैंकका ग्राहकलाई ॐ समाज डेन्टल हस्पिटलमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल हस्पिटलबीच बैंकका ग्राहक तथा कर्मचारीलाई दन्त उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीले काठमाडौंका चावहिल, नैकाप, वनस्थली, सातदोबाटो र महोत्तरीको बर्दिवासस्थित ॐ समाज डेन्टल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा छुट पाउनेछन् । बैंकका अनुसार सेवाग्राहीले बिरामी दर्ता र चेकअपमा शतप्रतिशत छुट पाउनेछन् भने अस्पतालका विभिन्न दन्त तथा मुखसम्बन्धी उपचार सेवामा १५ देखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र ॐ समाज डेन्टल हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गरेका छन् । बैंकले यस सहकार्यबाट आफ्ना ग्राहक तथा कर्मचारीले गुणस्तरीय दन्त तथा मुख स्वास्थ्य सेवा सहुलियतपूर्ण शुल्कमा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ ।  नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक बैंकिङ प्रविधि र ग्राहककेन्द्रित सेवामार्फत सेवा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ । 

स्वास्थ्यमन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको गुणस्तर अनुगमन तीव्र

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन तथा गुणस्तर सुधारको अवस्थाबारे अनुगमनलाई तीव्र बनाइएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाको नेतृत्वमा आज वीर अस्पताल, ट्रमा सेन्टर तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अस्पताल सुधार कार्यक्रमअन्तर्गत भएका प्रगतिको स्थलगत अनुगमन गरिएको हो ।  अनुगमनका क्रममा अस्पतालहरूले प्रदान गर्ने स्वास्थ्य सेवा, सेवाग्राही सहजीकरण, भीड व्यवस्थापन, सरसफाइ तथा समग्र व्यवस्थापकीय पक्षको मूल्याङ्कन गरिएको मन्त्रालयले जनाएको छ । अनुगमनका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सुलभ फार्मेसी प्रभावकारी रूपमा सञ्चालन भइरहेको पाइएको छ ।  मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत सेवाग्राहीले गुणस्तरीय औषधि सस्तो तथा सहज मूल्यमा प्राप्त गर्न सक्नेछन् ।  मन्त्री मेहताको निर्देशनअनुसार ट्रमा सेन्टरले सोमबारदेखि सुलभ फार्मेसी सञ्चालन गर्ने भएको छ भने वीर अस्पतालमा समेत यही हप्ताभित्र सञ्चालनमा ल्याइने भएको छ । यसैगरी, अस्पतालहरूले उपलब्ध गराउँदै आएको १० प्रतिशत निःशुल्क सेवा, भीड व्यवस्थापन, सरसफाइ तथा सेवाको प्रभावकारिताबारे समेत निरीक्षण गरी आवश्यक सुधार तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको छ । यसैक्रममा, वीर अस्पतालले केडी जोशी बर्न युनिटलाई थप स्तरीय बनाउन आवश्यक सुधारका कार्य अघि बढाएको छ । साथै, बर्न उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई आवश्यक तालिमसमेत प्रदान गरिरहेको पाइएको छ । यसैगरी, भीड व्यवस्थापनलाई थप प्रभावकारी बनाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा काउन्टरको संख्या ३ बाट ५ पुर्‍याइएको पाइएको छ । साथै, अस्पतालमा क्युआर प्रणालीमार्फत औषधिको उपलब्धताबारे सेवाग्राहीले सहज रूपमा जानकारी लिन सक्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।  वीर अस्पताल र टेकुमा भने क्युआर प्रणालीमार्फत नै बिरामीले आफ्नो रिपोर्टसमेत निकाल्न सक्नेछन् । यसैगरी, सबै अस्पतालहरूले कर्मचारीको सेवा व्यवहार सुधारका लागि सबै अस्पतालहरूले सफ्ट स्किल तालिम सञ्चालन गरिरहेका छन् ।  मन्त्रालयले सरकारी अस्पतालहरूको सेवा गुणस्तर सुधार, सेवाग्राहीमैत्री वातावरण निर्माण तथा स्वास्थ्य सेवामा आम नागरिकको पहुँच थप प्रभावकारी बनाउन यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।