काठमाडौं । नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल हस्पिटलबीच बैंकका ग्राहक तथा कर्मचारीलाई दन्त उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीले काठमाडौंका चावहिल, नैकाप, वनस्थली, सातदोबाटो र महोत्तरीको बर्दिवासस्थित ॐ समाज डेन्टल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवामा छुट पाउनेछन् ।
बैंकका अनुसार सेवाग्राहीले बिरामी दर्ता र चेकअपमा शतप्रतिशत छुट पाउनेछन् भने अस्पतालका विभिन्न दन्त तथा मुखसम्बन्धी उपचार सेवामा १५ देखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्ले र ॐ समाज डेन्टल हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गरेका छन् ।
बैंकले यस सहकार्यबाट आफ्ना ग्राहक तथा कर्मचारीले गुणस्तरीय दन्त तथा मुख स्वास्थ्य सेवा सहुलियतपूर्ण शुल्कमा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ ।
नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक बैंकिङ प्रविधि र ग्राहककेन्द्रित सेवामार्फत सेवा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ ।