काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान)को अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली निर्विरोध निर्वाचित भएका छन् । एशोसिएसनको २१औं वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि थकालीलाई अध्यक्ष चयन गरेको हो ।
कार्तिक १३ गते शुक्रबार सम्पन्न साधारण सभाले थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति पनि निर्विरोध चयन गरेको छ । यसअघि एशोसिएसनको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहेका थकालीलाई साधारण सभाले सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका सीईओ माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका सीईओ कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सीईओ दिपेश लम्साल चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका सीईओ तारामान मानन्धर, लुम्बिनी विकास बैंकका सीईओ सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ रबिन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका सीईओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सीईओ अनन्तकुमार चापागाईं निर्विरोध चयन भएका छन् ।
अनुभवी चार्टर्ड एकाउन्टेन्ट तथा बैंकर थकालीले बैंकिङ क्षेत्रमा वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन र सुशासनका क्षेत्रमा काम गर्दै आएका छन् ।
नवनिर्वाचित अध्यक्ष थकालीले विकास बैंकहरूको साझा हित र बैंकिङ क्षेत्रका समसामयिक मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सुशासन, जोखिम व्यवस्थापन, प्रविधि र मानव संसाधनको क्षमता अभिवृद्धि, डिजिटल रूपान्तरण, कर्जा गुणस्तर सुधार तथा कर्जा असुलीलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
त्यस्तै, सदस्य बैंकहरूबीच ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासको आदानप्रदानलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ । नियामक निकाय र अन्य सरोकारवालासँग समन्वय तथा सहकार्य गर्दै विकास बैंकहरूको हित प्रवद्र्धनमा सक्रिय रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत पारित गरेको छ ।
सभाले निवर्तमान कार्यसमितिले एशोसिएसनको संस्थागत विकास, बैंकिङ क्षेत्रका साझा मुद्दाको सम्बोधन र नीतिगत पैरवीमा पु¥याएको योगदानको प्रशंसा पनि गरेको छ ।

८० लाख ग्राहकलाई सेवा दिँदै विकास बैंक
नेपालमा हाल सञ्चालनमा रहेका १७ विकास बैंकमध्ये आठ राष्ट्रियस्तरका र नौ क्षेत्रीयस्तरका छन् । यी बैंकहरूले २०८३ असार मसान्तसम्म १ हजार ११२ शाखा र ३३६ एटीएममार्फत करिब ८० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएका छन् ।
विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालले सदस्य बैंकहरूको हित संरक्षण तथा बैंकिङ क्षेत्रको विकासका लागि नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय र सम्बन्धित संस्थासँग समन्वय गर्दै आएको छ ।
एशोसिएसनले सदस्य बैंकहरूबीच सहकार्य, समन्वय र ज्ञान आदानप्रदानका साथै साझा समस्या पहिचान र समाधानका लागि पहल गर्दै आएको छ । समयसापेक्ष बैंकिङ विषयमा कार्यशाला तथा क्षमता अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
त्यसैगरी, सदस्य बैंकहरूलाई प्रविधिमा आधारित सेवा उपलब्ध गराउन एशोसिएसनले विभिन्न साझा प्रणाली विकास तथा सञ्चालन गर्दै आएको छ । यसले विकास बैंकहरूबीच संस्थागत सहकार्य र सेवा प्रवाहलाई सहज बनाउन सहयोग पु¥याउँदै आएको छ ।
थकालीको नेतृत्वमा नयाँ कार्यसमितिले यी गतिविधिलाई निरन्तरता दिँदै बदलिँदो बैंकिङ परिवेशमा विकास बैंकहरूको प्रतिस्पर्धात्मक क्षमता, संस्थागत सुशासन र वित्तीय सेवाको गुणस्तर अभिवृद्धिमा काम गर्ने अपेक्षा गरिएको छ ।