राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकमा निक्षेप ह्वात्तै बढ्याे

काठमाडौं । निक्षेप संकलनमा राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकबीच उच्च प्रतिस्पर्धा देखिएको छ । असोज मसान्तसम्मको तथ्यांकअनुसार राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ७ खर्ब १६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ भने ग्लोबल आइएमई बैंकको निक्षेप ७ खर्ब १६ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।

अधिक तरलताको कारण निक्षेप वृद्धिका लागि बैंकहरुले मिहेनत गरेका छैनन । तर ठूलो शाखा सञ्जाल भएका यी दुई बैंकमा भने निक्षेप ह्वात्तै वृद्धि भईरहेको छ ।

असार मसान्तसम्म ग्लोबल आइएमई बैंकको निक्षेप ७ खर्ब ४४ करोड रुपैयाँ थियो । त्यतिबेला राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ६ खर्ब ८१ अर्ब ६३ करोड रुपैयाँ थियो । त्यसपछि दुवै बैंकको निक्षेप बढ्दै गएको देखिन्छ ।

भदौ मसान्तसम्ममा राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ७ खर्ब १ अर्ब ६७ करोड रुपैयाँ पुगेको थियो भने ग्लोबल आइएमई​​​​​​​ बैंकको ७ खर्ब १ अर्ब ७ करोड रुपैयाँ थियो । त्यसबेला पनि राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ग्लोबल आइएमईभन्दा केही बढी थियो ।

असोजमा राष्ट्रिय वाणिज्य बैंकको निक्षेप १५ अर्ब २६ करोड रुपैयाँले बढेर ७ खर्ब १६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । ग्लोबल आइएमई बैंकको निक्षेप भने १५ अर्ब ३२ करोड रुपैयाँले बढेर ७ खर्ब १६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्मको तथ्यांकमा राष्ट्रिय वाणिज्य बैंकले ग्लोबल आइएमई​​​​​​​ बैंकलाई ५४ करोड रुपैयाँले पछि पारेको छ । दुवै बैंकको निक्षेपबीचको अन्तर भने निकै कम रहेकाले आगामी महिनामा शीर्ष स्थानमा फेरबदल हुन सक्ने देखिन्छ ।

Share News