लामो समय अफिसमा बसिरहनु स्वास्थ्यका लागि घातक, हरेक घण्टा हिँड्न जरुरी
काठमाडौं । धेरैजसो कार्यालयमा कर्मचारीहरूको दिन कुर्सीमै बसेर बित्ने गर्छ । तर यस्तो बानीले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । विज्ञहरूका अनुसार लामो समयसम्म लगातार बसिरहँदा मोटोपना, मुटुरोग तथा टाइप–२ मधुमेहको जोखिम बढ्न सक्छ । स्क्रिनबाट बेला–बेलामा विश्राम लिनु फाइदाजनक हुन्छ भन्ने कुरा धेरैलाई थाहा छ । तर कामका बीचमा शरीरलाई सक्रिय राख्न कति अन्तरालमा हिँडडुल गर्नुपर्छ भन्ने विषयमा स्पष्ट जानकारी कम छ । ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित नयाँ अध्ययनले हरेक घण्टामा कम्तीमा पाँच मिनेट हिँड्न सुझाव दिएको छ । यसलाई ‘मुभमेन्ट स्न्याक’ नाम दिइएको छ । दिनभरि कार्यालयमा बसेर काम गर्ने मानिसहरूका लागि स्वास्थ्य राम्रो राख्ने यो सरल र प्रभावकारी उपाय मानिएको छ । यसले काममा पनि खास असर पार्दैन । अध्ययनका प्रमुख अनुसन्धानकर्ता किथ डियाजले अहिले अधिकांश मानिसहरू उठेदेखि सुत्नुअघिसम्मको करिब तीनचौथाइ समय बसेर बिताउने गरेको जानकारी दिए । उनी ‘कम बसौं, बढी हिँडौं’ भन्ने सल्लाहलाई निकै उपयोगी बताउँछन् । डियाजका अनुसार हरेक घण्टामा पाँच मिनेट हिँड्दा मुडमा सुधार हुन्छ र थकान कम महसुस हुन्छ । सहभागीहरूले यो सुझावलाई दैनिक जीवनमा सजिलै अपनाउन सकिने बताएका छन् । कोलम्बिया युनिभर्सिटीले गरेको यस अध्ययनमा अमेरिकाका ११ हजारभन्दा बढी कर्मचारी सहभागी थिए । अधिकांश सहभागी कार्यालयमा आठदेखि नौ घण्टासम्म काम गर्ने कर्मचारी थिए । पहिलो सातामा उनीहरूले आफ्नो सामान्य दैनिक तालिका कायम राखे । यस अवधिमा उनीहरूले दैनिक थकान, मनोस्थिति र कार्यक्षमतासम्बन्धी सर्वेक्षणमा उल्लेख गरे । त्यसपछि दुई सातासम्म उनीहरूलाई कामका क्रममा हरेक आधा घण्टा, एक घण्टा वा दुई घण्टाको अन्तरालमा पाँच मिनेट हिँड्न लगाइयो र पुनः सर्वेक्षणमा सहभागी गराइयो । नतिजाअनुसार हरेक आधा घण्टामा हिँड्दा मुडमा सुधार र थकानमा कमी देखिए पनि काममा केही अवरोध परेको पाइयो । हरेक दुई घण्टामा हिँड्नु नहिँड्नुभन्दा राम्रो भए पनि अपेक्षाकृत कम प्रभावकारी देखियो । तर हरेक घण्टामा पाँच मिनेट हिँड्दा कार्यक्षमता, एकाग्रता र मनोस्थितिमा उल्लेखनीय सुधार भएको अनुसन्धानकर्ताहरूले बताएका छन् । अनुसन्धानकर्ता डियाजका अनुसार लामो समयसम्म बसिरहने बानी परिवर्तन गर्न सजिलो छैन । अध्ययनमा सहभागी धेरै कर्मचारीहरूले बारम्बार ब्रेक लिँदा आफ्ना हाकिम वा सहकर्मीले कसरी लिने हो भन्ने चिन्ता व्यक्त गरेका थिए । उनले भने, ‘सुन्दा उल्टो लाग्न सक्छ, तर यस्ता मुभमेन्ट ब्रेकहरूले वास्तवमा कामको गुणस्तर सुधार गर्न सक्छन् । ब्रेकले एकाग्रता, स्मरणशक्ति र सोच्ने क्षमतामा सुधार ल्याउँछ। यसले मानिसलाई ताजगी र आरामको अनुभूति गराउँछ ।’ उनका अनुसार हिँडडुल गर्नु कम खर्चिलो उपाय हो र यसको अर्थ काम नै रोक्नुपर्छ भन्ने होइन । बैठकमा सहभागी हुँदै हिँड्न सकिन्छ वा फोनमा कुरा गर्दा पनि टहलिन सकिन्छ । कार्यालयभित्र वा बाहिर जहाँसुकै हिँड्न सकिन्छ । बिट्रिश हर्ट फाउन्डेसनकी वरिष्ठ कार्डियाक नर्स एमिली म्याकग्राथले पनि यस अध्ययनको प्रशंसा गरेकी छन् । उनका अनुसार शरीरको सानो–सानो गतिविधिले पनि स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ । यद्यपि उनले चेतावनी दिँदै भनिन्, ‘यो अध्ययन छोटो अवधिमा गरिएको हो र सहभागीहरूको अनुभवमा आधारित छ । त्यसैले मुटुको स्वास्थ्यमा दीर्घकालीन प्रभावबारे निष्कर्ष निकाल्न अझ विस्तृत र लामो अनुसन्धान आवश्यक छ ।’
कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबका सेवामा १० प्रतिशतसम्म छुट
काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेडबीच कुमारी बैंकका ग्राहकलाई विभिन्न प्रयोगशाला परीक्षण सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार नेसनल प्याथ ल्याबले प्रदान गर्ने विभिन्न परीक्षण सेवामा कुमारी बैंकका ग्राहकले १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । बैंकका अनुसार ग्राहकलाई बैंकिङ सेवासँगै स्वास्थ्य सेवामा समेत सहज पहुँच उपलब्ध गराउने उद्देश्यले उक्त सहकार्य गरिएको हो । यसबाट बैंकका ग्राहकले गुणस्तरीय स्वास्थ्य सेवा सहुलियत दरमा प्राप्त गर्न सक्ने विश्वास गरिएको छ । कुमारी बैंकले विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकले देशभर फैलिएको २८६ शाखा, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रवाह गरिरहेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालय भन्छ– दश हजार भायल एन्टी-रेबिज खोप मौज्दात छ
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टी-रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय अस्पतालको भण्डारमा १० हजार ११ भायल एन्टी-रेबिज खोप मौज्दात रहेको जानकारी दिए । उनका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा दुई हजार ५०० भायल एन्टी-रेबिज खोप प्राप्त भइसकको र थप चार हजार ५०० भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ । उनले देशभर आवश्यक रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्न मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल अघि बढाएको छ । मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाइ व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोधसमेत गरेको छ । मन्त्रालयले उपलब्ध खोपको व्यवस्थित वितरण तथा व्यवस्थापनमार्फत सेवाको निरन्तरता कायम राख्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए । उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा एन्टि–रेबिज खोप करिब ४० दिनलाई पुग्ने मौज्दात रहेको रहेको बताए । स्वास्थ्य सेवा विभागबाट नियमित खरिद प्रक्रिया सम्पन्न भएपछि खोप आपूर्ति प्रणाली पूर्णरूपमा नियमित हुने अपेक्षा गरिएको बताए।