आन्दोलनको मनोवैज्ञानिक मूल्य : डर, चिन्ता र डिप्रेशनको बढ्दो खतरा

काठमाडौं । राजनीतिक दलका नेताहरूले जनताको अपेक्षा र भावनाको सम्बोधन गर्न नसक्दा बढ्दै गरेको जनअसन्तुष्टि अहिले ‘जेनजी’ पुस्ताको आन्दोलनका रूपमा विस्फोट भएको छ । यस आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिले राजनीतिक अनिश्चिततासँगै सामाजिक तथा मानसिक जटिलतासमेत थपेको छ । यस्ता घटनाक्रमले समाजमा निराशा, अनिश्चितता र असहायताजस्ता भावनात्मक समस्या गहिरिँदै जानसक्ने देखिन्छ । राजनीतिक अस्थिरता र सामाजिक तनावबीच नागरिकको मानसिक स्वास्थ्यमासमेत नकारात्मक असर पर्न सक्ने चिन्ता विज्ञहरूले व्यक्त गर्न थालेका छन् । प्रस्तुत छ, पछिल्लो राजनीतिक परिवर्तनहरूले नेपाली समाजमा मानसिक स्वास्थ्यमा पर्ने प्रभावबारे नवीन पौडेलले मनोरोग विशेषज्ञ डा. अज्वनी रिमालसँग गरेको कुराकानीको सम्पादित अंश : नेपालमा अहिले जेनजीले गरेको प्रदर्शनलाई स्वास्थ्यकर्मीको दृष्टिकोणले तपाईंले कसरी हेर्नु भएको छ ? एक मानसिक स्वास्थ्यकर्मीका दृष्टिले हेर्दा अहिलेको आन्दोलनले जनमानसको मानसिक स्वास्थ्यमा गहिरो असर पार्ने देखिन्छ। अहिलेको वातावरणले जनमानसमा ठूलो मानसिक अन्योलता ल्याएको छ । ‘अब के होला ?’ भन्ने डर र असुरक्षाको भावनाले स्वस्थ मानसिक अवस्था भएका व्यक्तिहरूसमेत त्रसित, चिन्तित र बेचैन भइरहेका छन् । पहिले नै मानसिक स्वास्थ्य समस्या भोगिरहेकामा त झन बढी प्रभावित हुने सम्भावना हुन्छ । उनीहरुमा निद्रामा समस्या, नकारात्मक सोच, आत्मविश्वास घट्नु, समाजसँग टाढिनु तथा दैनिक क्रियाकलापमासमेत कठिनाई आउने जस्ता लक्षण देखिन सक्छ । यस्तो अवस्थामा सामूहिक ट्रमा उत्पन्न गर्ने खतरा पनि रहन्छ । आन्दोलनमा प्रत्यक्ष संलग्न भएका युवा, त्यसलाई नजिकबाट नियाल्ने वा परिवारका सदस्य गुमाउनेहरूले दीर्घकालीन मनो–सामाजिक समस्या भोग्नसक्ने सम्भावना हुन्छ । सकारात्मक पक्षमा हेर्दा युवा पुस्ताले आफ्नो आवाज उठाउन पाएको अनुभवले सशक्तीकरण, सामूहिक एकता र उद्देश्य बोधमा परिवर्तन ल्याएको महसुस गर्न सक्छन् । यसले केही युवामा आत्मबल र आत्मविश्वास बढाउन पनि मद्दत गरेको देखिन्छ । राजनीतिक आन्दोलन र अस्थिरताले सामान्य नागरिकको मानसिक स्वास्थ्यमा के–कस्ता समस्या ल्याउँछ ? यस्तो आन्दोलन र अस्थिरताले नागरिकको मानसिक स्वास्थ्यमा तत्कालिकदेखि दीर्घकालीन असर पारेको हुन्छ । आन्दोलन, प्रदर्शन र हिंसात्मक घटनाको प्रत्यक्ष वा परोक्ष अनुभवले मानिसमा डर लाग्ने, असुरक्षा महसुस हुने, मन स्थिर नहुने, छटपटी र हतारहतार हुनेजस्ता प्रतिक्रियाहरू देखिन सक्छन् । व्यक्तिहरू के गरूँ, के नगरुँ भन्ने मानसिक द्वन्द्वमा फस्ने, अनावश्यक चिन्ता लिने, मनमा निरन्तर कुराहरू खेलिरहने, निद्रा नलाग्ने तथा बेचैनी र आत्तिनेजस्ता लक्षणहरू देखिने हुन्छ । दीर्घकालमा यसले व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पुर्याउछ । छोटो अवधिका लक्षणहरू लामो समयसम्म रहिरहेमा डिप्रेशनजस्ता मानसिक समस्या विकसित हुनसक्ने जोखिम उच्च हुन्छ । अझ आन्दोलनमा प्रत्यक्ष संलग्न हुने र हिंसात्मक दृश्यहरूको आँखै अगाडि देख्नेमा पोस्ट–ट्राउमाटिक स्ट्रेस डिसअर्डरजस्ता समस्या देखापर्न सक्छन् । विशेषगरी युवा र किशोरकिशोरीजस्ता संवेदनशील उमेर समूहमा दीर्घकालीन तनावले शैक्षिक प्रगति, दैनिक व्यवहार, सामाजिक सम्बन्ध र शारीरिक स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने हुन्छ । मनोरोग विशेषज्ञ डा. अज्वनी रिमाल यस्तो अवस्थाले आममानिस र युवापुस्तामा देखिने सामान्य मानसिक लक्षणहरू के–के हुन सक्छन् ? राजनीतिक प्रदर्शनीका समयमा मानिसहरूमा डर, बेचैनी, चिन्ता, आत्तिने भावना, निद्रामा समस्या देखिन सक्छ । छोटो समयभन्दा पनि यदि यस्तो समस्या लामो समय रहिरह्यो भने दीर्घकालीन चिन्ता, डिप्रेशनजस्ता गम्भीर मानसिक रोग विकसित हुने जोखिम हुन्छ । युवा पुस्तामा राजनीतिक अस्थिरता वा आन्दोलनजस्ता परिस्थितिले तनाव, निराशा र आक्रोश बढाउने सम्भावना उच्च हुन्छ । यस उमेर समूहमा सामान्यतया बिना धेरै सोचविचार र परिणामको मूल्याङ्कन नगरी हठात् निर्णय लिने व्यवहार देखिन्छ । त्यस्तै अस्थिरता र संवेदनशीलता बढी हुन्छ, जसले युवामा तनावको प्रभाव अझ तीव्र बनाउँछ । सामाजिक सञ्जालको प्रभाव के कस्तो हुन्छ यो समयमा ? सामाजिक सञ्जाल र अपुष्ट खबरको प्रभावले मानिसको मानसिक स्वास्थ्यमा गहिरो र दीर्घकालीन असर पार्न सक्छ । आधिकारिक समाचारमा अपडेट नहुनु र सामाजिक सञ्जालको सूचना–प्रवाहमा पूर्ण ध्यान केन्द्रित गर्नाले कार्यमा एकाग्रता घटाउने र सोच्ने क्षमतामासमेत प्रभाव पार्ने देखिन्छ । अनलाइन प्लेटफर्ममा लामो समय बिताउँदा वास्तविक जीवनका सामाजिक अन्तरक्रिया र सम्बन्धमा कमी आउने, परिवार तथा साथीभाइसँगको प्रत्यक्ष संवाद घट्ने र एकाङ्कीपन अनुभव बढ्ने गरेको पाइन्छ। यससँगै अपुष्ट समाचार र सामाजिक सञ्जालमा देखाइने नकारात्मक तथा तनावपूर्ण र भय पैदा गर्ने सामग्रीहरूले मानिसमा चिन्ता, डर, असुरक्षा र निराशा बढाउने गरेका छन् । विभिन्न अध्ययनलेसमेत छोटो समय सञ्जालमा बिताउँदा पनि चिन्ता र तनावका लक्षण उल्लेख्य रूपमा बढेको देखाएको छ । यसले डिप्रेशन, चिन्ता, एकाङ्कीपन र आत्महत्या गर्ने विचारजस्ता मानसिक स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न गर्न सक्छ । अझ यसस्तो सङ्क्रमणकालको समयमा सामाजिक सञ्जाल प्लेटफर्ममा आउने गलत सूचनाले मानसिक स्वास्थ्यमा दीर्घकालीन नकारात्मक प्रभाव पार्ने देखिन्छ । यस्तो राजनितिक अनिश्चितताले डिप्रेसन र एनजाइटीजस्ता मानसिक रोगको समस्या पढ्ने खतरा हुन्छ । राजनीतिक अनिश्चितताले युवा पिँढीमा कस्तो समस्या निम्त्याउँछ र यसका लक्षण कस्ता हुन्छन् ? राजनीतिक अस्थिरता, सामाजिक तनाव र भविष्यप्रति अनिश्चितले युवाको मानसिक स्वास्थ्यमा गहिरो असर पार्छ । यसले उनीहरूलाई गलत बाटोतर्फ धकेल्ने जोखिमसमेत बढाउँछ । राजनीतिक अनिश्चियमा युवा पिँढीमा तत्कालका लागि एन्जाइटी, डर र चिन्ताको स्तर बढ्छ । अनिश्चिय र भविष्यप्रतिको निराशाले नकारात्मक भावना बढ्ने हुँदा दीर्घकालमा डिप्रेसन र क्रोनिक एन्जाइटिसमेतको जोखिम बढाउँछ । राजनीतिक हिंसा र अस्थिरतासँग जडित वातावरणमा तनाव, चिन्ता र डिप्रेशनको समस्या उल्लेखनीय रूपमा बढ्ने अध्ययनहरूले पनि देखाएका छन् । लामो समयसम्म तनाव, चिन्ता र निराशाको अवस्थासँग जुधिरहेका युवाहरू त्यसको समाधानको खोजीमा गलत मार्ग रोज्ने सम्भावना बढी हुन्छ । जसमा लागुऔषध दुव्र्यसन एक प्रमुख जोखिम हो । मानसिक पीडाबाट राहत पाउन वा साथीहरूको दबाबमा उनीहरू लागुपदार्थ प्रयोगतर्फ आकर्षित हुन सक्छन् । यस्तो प्रवृत्तिले उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा थप जटिलता थप्छ । यसले पढाइ, सामाजिक सम्बन्ध र भविष्यको सम्भावनालाई पनि गम्भीर रूपमा प्रभावित पार्छ । त्यसैले यस्ता अवस्थामा युवालाई मनोसामाजिक परामर्श, भावनात्मक सहयोग र सकारात्मक गतिविधिमा संलग्न गराउन अत्यन्त जरुरी हुन्छ । आमनागरिकले आफ्नो मानसिक स्वास्थ्य स्वस्थ्य राख्न दैनिक जीवनमा के–के गर्न सक्छन् ? मानसिक स्वास्थ्य जोगाउन सबैभन्दा पहिला आफ्नो दैनिकीमा सुधार ल्याउनुपर्छ । मुख्य कुरा आफ्नो परिवारसँग समय बिताउनु हो । परिवारमा आफ्ना कुरा राख्ने र सामाजिक सम्बन्ध मजबुत राख्नु अत्यन्त जरुरी हुन्छ । आफूभित्रको पीडा, डर वा चिन्ताबारे आफ्नो विश्वासिला व्यक्तिसँग खुलेर राख्दा मानसिक बोझ धेरै हदसम्म कम हुन्छ। त्यस्तै समाचार र सामाजिक सञ्जालप्रति पनि सचेत रहनुपर्छ । आजकल हामी निरन्तर नकारात्मक समाचार र अनावश्यक सूचनामा डुबिरहेका हुन्छौँ। त्यसले मानसिक शान्तिमा असर पार्छ । त्यसैले विश्वासिलो स्रोतबाट समाचार र सूचना थाहा पाउनेमा ढुक्क हुनुपर्छ । बारम्बार नभई आवश्यकतानुसार मात्र हेर्ने र सामाजिक सञ्जालको अनावश्यक प्रयोगबाट जोगिने बानी बसाल्नुपर्छ । नियमित व्यायाम, योग, गहिरो श्वास फेर्ने अभ्यास, पर्याप्त निद्रा र सन्तुलित आहारमा ध्यान दिनु मानसिक सन्तुलनका लागि आधारभूत कुरा हुन् । सबैभन्दा महत्वपूर्ण भनेको आफ्नो मानसिक अवस्थाप्रति सजग रहनु र आवश्यकता पर्दा मानसिक स्वास्थ्य विज्ञसँग परामर्श लिन नहिच्किचाउनु नै हो । यस्तो अवस्थामा अभिभावकको भूमिका कस्तो रहन्छ ? स्वस्थ जीवनशैलीको निर्माणमा परिवारको भुमिका संवेदनशील हुन्छ । अभिभावकहरू यस्तो परिस्थितिमा संवेदनशील र सहयोगी बन्नुपर्छ । बुबाआमाले आफ्ना नानीबाबुसँग साथीसरह व्यवहार गर्दै उनीहरूको कुरा ध्यानपूर्वक सुन्नु र बुझ्ने प्रयास गर्नुपर्छ । बच्चाहरूले राख्ने जिज्ञासालाई सहज ढङ्गले सम्बोधन गर्नु, उनीहरूलाई सही–गलत छुट्याउन सहयोग गर्नु र कुनै शङ्का वा समस्याबारे खुलेर कुरा गर्न प्रोत्साहित गर्नु अभिभावकको दायित्व हुन्छ । घरभित्र सकारात्मक र सुरक्षित वातावरण सिर्जना गर्नु, बच्चाको भावनालाई पर्याप्त स्थान दिनु, सामाजिक सम्बन्ध र सकारात्मक गतिविधिमा संलग्न गराउन सहयोग गर्नुपर्छ । सहयोगी, खुला र विश्वासिलो वातावरण निर्माण गर्नसकेमा बालबालिकाले तनावमासमेत सहज रूपमा पार गर्न सक्छन् र उनीहरूको आत्मबल तथा मानसिक सशक्तता मजबुत बन्छ । अहिलेको परिस्थितिमा देखिन सक्ने मानसिक स्वास्थ्य समस्या समाधान गर्न के–कस्ता प्रयासहरू आवश्यक देख्नुहुन्छ ? समाजमा देखिने मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीहरू केबल व्यक्तिगतमा मात्रै सीमित हुँदैनन् । यसलाई सामाजिक र नीतिगत तहमै सम्बोधन गर्नुपर्ने हुन्छ । घर र छरछिमेकका साथै, विद्यालयदेखि कार्यस्थलसम्म मानसिक स्वास्थ्य शिक्षा र परामर्श सेवाको व्यवस्था गरिनुपर्छ। समुदायस्तरमा मनोसामाजिक सहयोग प्रणाली विस्तार गर्नु र युवाका लागि सुरक्षित अभिव्यक्ति र सहभागिताको वातावरण बनाउन सहयोग गर्नुपर्छ । त्यस्तै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा जिम्मेवार र तथ्यपरक सामग्री प्रवाहको सुनिश्चित हुनुपर्छ । मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवा जतिकै महत्व दिँदै दीर्घकालीन रणनीति बनाइएन भने यस्ता राजनीतिक सङ्कटपछिका मानसिक असरहरू अझ गहिरिँदै जान सक्छन् । रासस

जडीबुटीलगायतबाट पौने ६ करोड रुपैयाँ आम्दानी

गण्डकी । जडीबुटीलगायत स्थानीय स्रोत साधनको उपयोगबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आवमा ५ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । ‘एक्याप’मा रहेका ५७ संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत उक्त रकम सङ्कलन भएको हो । जडीबुटी, काठदाउरा आदिको सङ्कलन तथा उपयोगबाट हुने आम्दानी स्थानीयस्तरमै संरक्षण गतिविधि र विकास निर्माणका काममा खर्च हुने गरेको आयोजना प्रमुख डा रविन कडरियाले बताए। उनका अनुसार प्राकृतिक स्रोतको स्थानीय उपयोगबाट आव २०८०/८१ मा ३ करोड ९० लाख रुपैयाँ सङ्कलन भएको थियो । सोको तुलनामा पछिल्लो वर्ष झण्डै २ करोड रुपैयाँले आम्दानी बढेको उनले बताए । 'जडीबुटी, काठदाउरा, ढुङ्गा गिट्टीलगायतको उपयोगबापत संरक्षण क्षेत्र व्यवस्थापन समितिले सो रकम उठाउने गर्छन्', आयोजना प्रमुख डा कडरियाले भने, 'सङ्कलित रकमलाई व्यवस्थापन समितिले वार्षिक कार्यक्रम र योजना बनाएर खर्च गर्छन् ।' अन्नपूर्ण संरक्षण क्षेत्रमा बहुमूल्य यार्सागुम्बालगायत जडीबुटीको सङ्कलन तथा निकासी हुँदै आएको छ । जडीबुटीबाट स्थानीयको आयआर्जनमा महत्त्वपूर्ण टेवा पुगेको छ । ‘एक्याप’ले प्राकृतिक स्रोतसाधनको उपयोग र संरक्षणसम्बन्धी सचेतना अभियान सञ्चालन गर्दै आएको आयोजना प्रमुख डा कडरियाले बताए। पर्यटक प्रवेश शुल्कलगायतबाट हुने आम्दानीलाई संरक्षण गतिविधि र पर्यटन प्रवर्द्धनका कार्यक्रममा खर्च गर्ने गरिएको उनको भनाइ छ । ‘एक्याप’ले पदमार्ग, फोहर व्यवस्थापन, साना सिँचाइ, खानेपानी आयोजना निर्माण, आयआर्जन, संरक्षण शिक्षालगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । यस क्षेत्रको भ्रमणमा आउने विदेशी पर्यटकको प्रवेश शुल्कबाट मात्र वार्षिक करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ । ‘एक्याप’भित्र पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने पर्यटकले तिर्ने शुल्कबाट पनि राज्यकोषमा योगदान पुग्दै आएको छ । विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा प्रवेश गरेका पर्यटबाट गत आवमा ३० करोड १७ लाख ५२ हजार रुपैयाँ प्रवेश शुल्क उठेको थियो । सरकारले तिब्बतसँग नाका जोडिएका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । ती क्षेत्रको भ्रमणमा जाने विदेशी पर्यटकले अनुमति लिनुपर्ने व्यवस्था छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अधिकांश पर्यटक पदयात्राका लागि जाने गरेका छन् । रासस

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने - हाम्रो योगदान खेर नजाओस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भई मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्कीले आज अपराह्न उक्त अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले जानकारी दिए ।   'प्रधानमन्त्रीले घाइतेको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो । त्यसक्रममा उहाँहरूले आफ्नो स्वास्थ्यबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै आफूले देशका लागि दिएको बलिदान खेर नजाओस्, प्रधानमन्त्रीले देशलाई निकास दिनुपर्छ । पुनःअर्को पुस्ताले आन्दोलन गर्नु नपरोस्,' डा. रेग्मीले भने । प्रधानमन्त्री कार्कीले मुलुकको अवस्था परिवर्तन गर्न हरसम्भवन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।    कार्यकारी निर्देशक रेग्मीका अनुसार गत सोमबार यता चार सय ५७ घाइते अस्पताल पुगेकामा ४४ जनालाई अन्यत्र ‘रेफर’ गरिएको थियो । तीन सय ६४ जना उपचारपछि घर फर्किसकेका छन् ।  अस्पताल भर्ना भएका ४९ मध्ये ११ जना हाल उपचाररत छन् । गम्भीर घाइते एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छभने ४५ जनाको शल्यक्रिया तथा सात जनाको पुनः शल्यक्रिया गरिएको छ । निजामती अस्पतालमा उपचारका क्रममा छ जनाको मृत्यु भएको थियो ।