मंगलबारको प्रदर्शनमा घाइते भएका ३३ जना त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । मंगलबारको ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका ३३ जना प्रदर्शनकारीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ । यसअघि सोमबार र मंगलबार देशभर भएको प्रदर्शनमा २१ जनाले ज्यान गुमाएका छन् । तीमध्ये १९ जनाको काठमाडौंमै प्रहरीको गोली लागेर मृत्यु भएको हो । हालसम्म प्रदर्शनका कारण ५०० भन्दा बढी घाइते भएको अनुमान छ । घाइतेहरूलाई त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

घाइतेको ज्यान बचाउन सबै उपचार निःशुल्क, सिभिल इमर्जेन्सीमा स्वास्थ्यले थप चिकित्सक खटायो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइतेको ज्यान जोगाउन आवश्यक सबै उपचार निःशुल्क गर्न अस्पतालहरुलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अग्रसरतामा घाइतेहरुको जीवनरक्षाका लागि आवश्यक सबै उपचार निःशुल्क गर्ने गरी मन्त्रालयले अस्पतालहरुलाई पत्र पठाएको हो । आकस्मिक कक्षमा थप स्वास्थ्यकर्मी बिरामीहरुको उपचार भैरहेका अस्पतालका आकस्मिक कक्षमा परेको बिरामीको चाप मध्यनजर गर्दै जनशक्ति व्यवस्थापनमा मन्त्रालयले विशेष जोड दिएको छ । सिभिल अस्पतालको आकस्मिक कक्षमा सघाउन ४ चिकित्सकसहित ६ सुरक्षाकर्मी खटाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । वीर अस्पतालको ट्रमा सेन्टरले पूर्ण क्षमतामा बिरामीको उपचार गरिरहेको छ । रगत अभाव हुन नदिन २४ सै घण्टा हटलाइन १११५ मन्त्रालयले घाइते बिरामीहरुलाई रगत अभाव हुन नदिन मन्त्रालयको हटलाइन हेल्लो स्वास्थ्यलाई २४ सै घण्टा चलाउने भएको छ । कुनै पनि बिरामी वा अस्पतालले रगत अभाव भएमा १११५ मा फोन गरेर जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको मन्त्रालयले उल्लेख गरेको छ । एम्बुलेन्स सेवा प्रभावकारी बनाउन सक्रियता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउने गरी आपतकालीन अपरेशन सेन्टरमार्फत व्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागि व्यवस्था मिलाइएको छ । मन्त्रालयले सबै चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ।  

ट्रमा सेन्टरमा मृत्यु हुनेको संख्या ८ पुग्यो, ५८ जना उपचाररत, ३ जना आईसीयूमा

काठमाडौं । जेनजीको प्रदर्शनमा घाइते भएरट्रमा सेन्टरमा पुगेका ८ जनाको मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरका अनुसार अहिलेसम्म ८ जनाको मृत्यु भएको छ भने ५८ जनको उपचार भइरहेको छ । त्यसमध्ये तीन जना आईसीयूमा रहेको बताइएको छ ।  ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री रिजालका अनुसार घाइतेहरूको पेट र टाउकोमा बढी चोट लागेको देखिएको छ । नयाँ बानेश्वर क्षेत्रमा भएको आन्दोलनमा सरकारी पक्ष तथा प्रहरीले प्रदर्शनकारीको टाउको र छातीमा हानिएको देखिएको उनले बताए । रिजालका अनुसार आन्दोलनमा झडप भएपछि ११ बजे नै तयारीमा अवस्थामा रहन फोन आएको थियो ।