सानिमा रिलायन्स लाइफद्वारा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल सामग्री सहयोग

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काभ्रेको धुलिखेलस्थित श्री सञ्जीवनी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीहरूलाई ब्रेल शैक्षिक सामग्री वितरण गरेको छ । उक्त सामग्री सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक बलराम खत्री र एरिया म्यानेजर सनी खाछें श्रेष्ठको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गरिएको हो । हाल उक्त विद्यालयमा २८ जना दृष्टिविहीन विद्यार्थी अध्ययनरत छन् । ब्रेल शैक्षिक सामग्रीले नेत्रहीन विद्यार्थीलाई स्वतन्त्र रूपमा पढ्न र सिक्न सहयोग गर्ने तथा समान शैक्षिक अवसर सुनिश्चित गर्दै समावेशी शिक्षालाई प्रवर्द्धन गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । यसले विद्यार्थीलाई भविष्यमा उच्च शिक्षा र रोजगारीका अवसरतर्फ अघि बढ्न सहयोग पुर्‍याउने कम्पनीको भनाइ छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्ने जनाएको छ । नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई समान रूपमा अघि बढाउने प्रतिबद्धता कम्पनीले दोहोर्‍याएको छ । हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ । साथै, २० हजारभन्दा बढी अभिकर्ता कम्पनीमा कार्यरत रहेका छन् ।

सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशको सर्लाही जिल्लास्थित हरिवन नगर अस्पताललाई विभिन्न अत्याधुनिक प्रसूति उपकरण हस्तान्तरण गरेको छ । बैंकका मधेश प्रदेश प्रमुख ज्ञानेन्द्र कार्कीले पुस १७ गते आयोजित कार्यक्रममा उक्त उपकरणहरू अस्पताललाई हस्तान्तरण गरेका हुन् । उपकरण हस्तान्तरण कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय, हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो । बैंकले हाइड्रोलिक शल्यक्रिया टेबल, चार सेटयुक्त एलईडी शल्यक्रिया कक्ष डोम बत्ती, बिरामी निगरानी यन्त्र, पाँच कार्य गर्न सक्ने पूर्ण सुविधायुक्त इलेक्ट्रिक आईसीयू बेड, फाइबर बेडसाइड लकर तथा इलेक्ट्रिक डबल जार हाई–भ्याकुम सक्सन मेसिन गरी सबै उपकरण एक–एक थान अस्पताललाई उपलब्ध गराएको हो । हरिवन नगर अस्पतालको नवनिर्मित भवनमा शल्यक्रियासहित बर्थिङ सेवा सञ्चालन गरी समुदायमा गुणस्तरीय प्रसूति सेवाको पहुँच विस्तार गर्ने तथा आमा र नवजात शिशुका लागि सुरक्षित र सहज प्रसूति वातावरण सुनिश्चित गर्ने उद्देश्यले उपकरण सहयोग गरिएको बैंकले जनाएको छ । सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई उच्च प्राथमिकतामा राख्दै समाज विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने योजना बैंकको रहेको छ ।

गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी

गोरखा । यहाँ परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एका परिवारका चार जना बिरामी परेका छन् । मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरीको परिवार विषालु च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक  भरतबहादुर विकले जानकारी दिए । सोमबार साँझ घर नजिकै रहेको परालको थुप्रो (टौवा)मा उम्रेको च्याउ टिपेर तरकारी खाएपछि आमा हीरा पहरीसहित १२ वर्षीय छोरा किसान, छ वर्षीय छोरा हिमाल र पाँच वर्षीया छोरी सुजिता बिरामी परेका हुन् । च्याउ खाएलगत्तै पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकानजस्ता लक्षण देखिएपछि तत्काल सबैलाई उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल पुर्याएको र अहिले सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको उनले बताए । बिरामी सबै बोल्न सक्ने अवस्थामा छन् । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।