जेनजी प्रदर्शन : सिभिल अस्पतालभित्रै फायर
काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीले सिभिल अस्पतालभित्रै अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले सिभिल अस्पताल परिसरमै अश्रुग्यास फायर भएको हो ।
नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण
भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले एकै व्यक्तिमा तेस्रोपटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेर इतिहास रच्ने काम भएको बताए । तेस्रोपटक प्रत्यारोपण निकै जटिल रहने भए पनि सफल भएकाले अब मिर्गौला प्रत्यारोपणका लागि नेपालमै सम्भव छ भन्ने उदाहरण स्थापित भएको उनले बताए । यही भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा माननीय लक्ष्मणकिशोर चौधरीको तेस्रोपटक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी उनलाई आज ‘डिस्चार्ज’ गरिएको डा श्रेष्ठले जानकारी दिए । 'सामान्यतया मिर्गौला प्रत्यारोपण एकपटक सफल भएपछि लामो समयसम्म प्रत्यारोपित मिर्गौलाले काम गर्ने गर्दछ, तर इम्युनोलोजिकल अस्वीकार, सङ्क्रमण, क्रोनिक अलोग्राफ्ट, नेफ्रोप्याथीलगायत विविध समस्याले मिर्गौला असफल हुन सक्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ, तर तेस्रोपटक प्रत्यारोपण गर्नुपर्ने अवस्था भने अत्यन्तै दुर्लभ हुन्छ', उनले भने,'प्राविधिक जटिलता, औषधीय चुनौती तथा दाता पाउन कठिनाइ हुने र जोखिम झनै बढी हुने हुँदा तेस्रो प्रत्यारोपण संसारमै सीमित मात्रामा हुने गरेको छ । मैले बेलायतमा यस्तो जोखिमपूर्ण प्रत्यारोपण गरेको अनुभव भएकाले नेपालमा सम्भव भएको हो । अब हामी जटिल प्रत्यारोपणका लागि सक्षम छौँ ।' चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनऊमा गरिएको थियो भने विसं २०७२ मा दोस्रो र हाल तेस्रो प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डा पुकारचन्द्र श्रेष्ठकै नेतृत्वमा गरिएको हो । चौधरीको तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीअन्तर्गत गैरनातेदारबीच अङ्ग साटासाट गरी गरिएको उनले जानकारी दिए । नेपालमा एकै व्यक्तिमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण वीर अस्पतलमा डा श्रेष्ठकै नेतृत्वमा सन् २०१० मै सुरु भएको र तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ उपलब्धि भएको केन्द्रले जनाएको छ । प्रत्यारोपण केन्द्रले स्थापनाको १३ वर्षमा एक हजार ५०२ जनाको सफल मिर्गौला प्रत्यारोपण तथा ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको जनाएको छ । रासस
अबदेखि भेरी अस्पतालमा ‘अल्टेप्लेज इन्जेक्सन’ निःशुल्क
नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालमा अबदेखि मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क प्रदान गरिने भएको छ । सो इन्जेक्सनले बिरामीलाई पक्षघात हुनबाट जोगाउने अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेले जानकारी दिए । उनले पक्षघातका लक्षण देखिएर अस्पतालमा भर्ना हुने बिरामीलाई निश्चित समयभित्र अल्टेप्लेज इन्जेक्सन दिएमा बिरामी पुरानै अवस्थामा फर्किन सम्भावना रहने बताए। ‘मस्तिष्कघातको लक्षण देखिएको साढे चार घण्टाभित्रै बिरामीलाई अस्पताल पुर्‍याउनसके इन्जेक्सनको सहयोगले बिरामी निको हुने सम्भावना हुन्छ’, डा पाण्डेले भने । एक ‘भायल’को करिब एक लाख पर्ने पर्ने सो इन्जेक्सन खरिद गर्ने हैसियत हरेक नागरिकको नभएकाले भेरी अस्पतालमा निःशुल्क दिँदा यसबाट सिमान्तकृत र विपन्न परिवार लाभान्वित हुने विश्वास गरिएको छ । पहिलो चरणमा भेरी अस्पतालमा २० भायल अल्टेप्लेज इन्जेक्सन प्राप्त भएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा निराजन सुवेदीले बताए। सो परिमाणले सात बिरामीको उपचार गर्न सकिन्छ । भरतपुर, काठमाडौंलगायत सरकारी अस्पतालमा अल्टेप्लेज इन्जेक्सन निःशुल्क पाइए पनि भेरी अस्पतालमा हालसम्म उपलब्ध थिएन । हालै प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा सुवेदी, मेडिसिन विभाग प्रमुख डा. पाण्डेलगायतको पहलमा यहाँ पनि निःशुल्क उपलब्ध गराइने भएको हो । अस्पतालको यो पहलले नेपालगञ्जमात्र नभई बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेखसहित आसपासका जिल्लाका मस्तिष्कघातका बिरामीलाई राहत पुग्ने अपेक्षा गरिएको छ । स्वास्थ्य मन्त्रालयले हालैमात्र मस्तिष्कघातका बिरामीको उपचार र व्यवस्थापनका लागि नयाँ कार्यविधि जारी गरेको छ । यस कार्यविधिको मुख्य उद्देश्य मस्तिष्कघात भएका बिरामीलाई छिटो, गुणस्तरीय उपचार प्रदान गर्नु हो । कार्यविधिले उपचारसँगै सचेतनाको पाटोलाई सुनिश्चित गरेको छ । रासस