मानसिक स्वास्थ्यलाई सहयोग गर्ने यी पाँच जीवनशैली
काठमाडौं । मानसिक स्वास्थ्य सुधार गर्ने उपाय भनेको स्वस्थ जीवनशैलीका छनोटहरू अपनाउनु हो । दैनिक जीवनमा स्वस्थ बानीहरू विकास गर्दा सकारात्मक सम्बन्ध निर्माण गर्न र चुनौतीहरू सामना गर्न सहयोग पुग्छ । व्यायामले शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यलाई पनि फाइदा गर्छ । नियमित व्यायाम वा शारीरिक गतिविधिले डिप्रेसन र एन्जायटीका भावना कम गर्न मद्दत गर्छ । यसले निद्राको गुणस्तर सुधार्नुका साथै समग्र भावनात्मक स्वास्थ्य पनि राम्रो बनाउँछ । मानसिक स्वास्थ्यमा सहयोग पु¥याउने शारीरिक गतिविधिहरू केके हुन्, आउनुहोस् यसबारेमा छलफल गरौं । नियमित व्यायाम दौडिनु, पौडी खेल्नु, साइकल चलाउनु, हिँडडुल गर्नु, बगैंचामा काम गर्नु शरीरका लागि फाइदाजनक काम हुन् । यदि समय मिल्यो भने नृत्य गर्दा अझ राम्रो हुन्छ । विशेषज्ञहरूले यसको लाभ महसुस गर्न हप्तामा १५० मिनेट एरोबिक व्यायाम गर्न सिफारिस गर्छन् स्वस्थ आहार स्वस्थ रहने आहार सन्तुलित आहार हो । कहिलेकाहीँ मिठाइँ वा फुर्सदको परिकार खानेले धेरै हानि गर्दैन । तर चिनी र बोसो बढी भएका खानाहरू धेरै मात्रामा खाने हो भने स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । मेन्टल हेल्थ फाउण्डेशनले विविधतापूर्ण आहार खान सिफारिस गरेको छ । जसमा अन्नका रोटी र दाना, बीज र स–साना दाना (नट्स, सीड) जस्ता खानेकुराहरू खानुपर्छ । गुणस्तरीय निद्रा गुणस्तरीय निद्राले भावनात्मक नियन्त्रण, संज्ञानात्मक क्षमता र मानसिक स्वास्थ्यलाई फाइदा गर्दछ । राम्रो निद्रा लाग्ने बानी विकास गर्दा तपाईंको मानसिक स्वास्थ्यमा सकारात्मक असर पर्छ । हरेक दिन एकै समयमा सुत्ने र उठ्ने बानी बसाल्नुपर्छ । यदि तपाईं हरेक रात ७–८ घण्टा निद्रा पाउन सक्नुहुन्छ भने तपाईंको मन र शरीर दुवैलाई फाइदा हुन्छ । सामाजिक सम्बन्ध मानसिक रूपमा स्वस्थ हुनको लागि सामाजिक सम्बन्ध दृढ हुनुपर्छ । यसबाट धेरै लाभहरू हुन्छन् । परिवार र साथीहरूसँगको सामाजिक सम्बन्धले चिन्ता र डिप्रेसन कम गर्न मद्दत गर्छ । यसले आत्मसम्मान बढाउने र सहानुभूति विकास गर्ने काम गर्छ, सम्बन्धहरूमा विश्वास र सहकार्य बढ्छ । दृढ र सकारात्मक सम्बन्धहरूले तपाईंलाई खुसी र सन्तुष्ट महसुस गराउन सक्छ । माइन्डफुलनेस अभ्यास माइन्डफुलनेस वा ध्यानले चिन्ता र डिप्रेसन कम गर्न मद्दत गर्छ । साथै स्वस्थ बानीहरू विकास गर्न पनि प्रेरित गर्छ । दिनको १० मिनेट मात्र अभ्यास गर्नाले पनि धेरै फाइदा हुन्छ । माइन्डफुलनेसले भावनाहरू व्यवस्थापन गर्न र सकारात्मक दृष्टिकोण निर्माण गर्न पनि सहयोग पुर्याउँछ ।
जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु, २८ जिल्ला जोखिममा
काठमाडौं । जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार १७९ जना जनामा जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमण भएको थियो । यस वर्ष जापानिज इन्सेफ्लाइटिस्का एक हजार ७३९ शङ्कास्पद बिरामीको परीक्षण गरिएको उनले बताए ।जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण एक पटक भएपछि अर्को पटक नभए पनि शङ्कास्पद बिरामीलाई भने अर्को पटक जापानिज इन्सेफ्लाइटिस् हुन सक्ने उनको भनाई छ । गत वर्ष सन् २०२४ मा २५ जना जापानिज इन्सेफ्लाइटिस्बाट मृत्यु भएका थिए । उनले बर्सेनि जापानिज इन्सेफ्लाइटिस्बाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको बताए। गत वर्ष जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण ८६ जना देखिएको थियो । सन् २०१४ मा चार जना, सन् २०१७ मा एक जना र सन् २०२३ मा सात जना जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएका थिए । डा. गौतमका अनुसार यस वर्ष तीन वर्षदेखि ८९ वर्षसम्मका मानिसलाई जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो । जापानिज इन्सेफ्लाइटिस्बाट २८ जिल्ला उच्च जोखिममा छन् । मृत्यु हुने अधिकांश ४० वर्षमाथिका छन् । उनले मृत्यु भएकामध्ये नौ प्रतिशतले खोप लगाएको तथा अन्यले खोप नलगाएको पाइएको बताए । गौतमले चिसो बढेकोले अब भने जापानिज इन्सेफ्लाइटिस् सङ्क्रमण कम हुने बताए । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ । नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिस्विरुद्धको खोप लगाइएको छ । जापानिज इन्सेफ्लाइटिस् ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ । धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि प्रजनन स्थल बन्ने हुनाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुन्छ । नेपालमा सन् १९७८ मा पहिलोपटक रुपन्देही जिल्लामा जापानिज इन्सेफ्लाइटिस् देखिएको थियो । रासस
एचपीभी खोप राष्ट्रिय खोप कार्यक्रममा समावेश, यो वर्ष तीन लाख बढी किशोरीलाई दिइँदै
काठमाडौं । यो वर्ष सरकारले ३ लाख बढी किशोरीहरूलाई एचपीभी खोप दिने भएको छ । १० वर्ष उमेर पुगेका किशोरीहरूलाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पाठेघर मुखको क्यान्सरविरुद्ध प्रयोग हुने एचपीभी खोप दिन लागेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। अभियान गौतमले एचपीभी खोप यो वर्षदेखि नियमित खोप सूचीमा परेको बताए । सरकारले एचपीभी खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको छ । नेपालमा हरेक वर्ष दुई हजार १ सय ६९ जना महिलालाई पाठेघरको क्यान्सर हुने गरेको अनुमान छ भने हरेक वर्ष एक हजार ३ सय १३ जना महिलाको यही रोगका कारण मृत्यु हुने गरेको छ । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण हुमन पापिलोमा भाइरसको संक्रमण हुनु हो । नेपालमा ८० प्रतिशत पाइएको पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिको हुमन पापिलोमा भाइरस रहेको छ । गत वर्ष सरकारले १० देखि १४ वर्ष उमेर समूहका १४ लाख २८ हजार ८८९ जना किशोरीलाई यो खोप दिएको थियो । एचपीभी खोप कार्यक्रम आगामी फागुन महिनामा सञ्चालन हुनेछ । गत वर्षको खोप कार्यक्रमका लागि २ अर्ब १३ करोड ७४ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।