नोबेल मेडिकल कलेजको आम्दानी साढे ३ अर्ब, बैंकमा ऋण साढे ५ अर्ब रूपैयाँ
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल लिमिटेडले साढे ३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा ३ अर्ब ४६ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ३५.७० प्रतिशत अर्थात् ८९ करोड ८० लाख रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीले २ अर्ब ५१ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । अस्पतालको आयमा वृद्धि हुनुमा स्वास्थ्य बीमा योजना पुनः सञ्चालन हुनु तथा यसका सहायक कम्पनी नोबेल क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सुरु हुनु प्रमुख कारण रहेको कम्पनीले जनाएको छ । विशेषगरी प्रमुख चिकित्सा कार्यक्रमहरूमा उच्च भर्ना दर कायम रहनु र यस शैक्षिक वर्षदेखि एमबीबीएस सीट संख्या वृद्धिले पनि आम्दानी बढेको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२३ मा २ अर्ब २८ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा २ अर्ब ९० करोड ५० लाख रुपैयाँ, सन् २०२१ मा २ अर्ब २८ करोड ६० लाख रुपैयाँ, सन् २०२० मा २ अर्ब ५० करोड ६० लाख रुपैयाँ, सन् २०१९ मा २ अर्ब ३० करोड ६० लाख रुपैयाँ, सन् २०१८ मा १ अर्ब ६९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । त्यस्तै, सन् २०१७ मा १ अर्ब ३४ करोड १० लाख रुपैयाँ र सन् २०१६ मा १ अर्ब ७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । उक्त आम्दानी पूर्ण स्वामित्वमा रहेका सहायक कम्पनीहरू समेत समेटिएको कम्पनीले जनाएको छ । स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा निरन्तर प्रगति गर्दै आएको नोबेल मेडिकल सन् २००३ मा स्थापना भएको हो । कञ्चनबारी, विराटनगरमा अवस्थित यस संस्था काठमाडौँ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी चिकित्सा तथा स्वास्थ्यसम्बन्धी उच्च शिक्षा प्रदान गर्दै आएको छ । अस्पतालले हाल डीएम, एमसीएच, एमएस, एमडी, एमबीबीएस, बीडीएस, बीपीटी, बी.एस्सी. नर्सिङ तथा एमएलटी/बीएमएलटी जस्ता विविध शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी कार्यक्रमहरूले देशमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएका छन् । नोबेल मेडिकलले सेवा विस्तार गर्दै विभिन्न सहायक कम्पनीहरू सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत नोबेल क्यान्सर अस्पताल, नोबेल एड्भान्स्ड इन्भेस्टमेन्ट तथा नोबेल अस्पताल फार्मेसी पूर्ण स्वामित्वमा रहेका कम्पनीहरू हुन् । साथै, कम्पनीले काठमाडौँ मेडिकल कलेजमा करिब २० प्रतिशत लगानी गरेको छ । हाल अस्पतालमा ७७५ शैय्या सञ्चालनमा छन् । भारत–नेपाल सीमासँग नजिक रहेको कारण यहाँ ठूलो संख्यामा बिरामी आउने गरेका छन् । अस्पतालको औसत भर्ना दर सन् २०२५ मा करिब ७१ प्रतिशत रहेको छ भने सन् २०२४ मा ७५० शैय्यामा ७३ प्रतिशत थियो । नोबेल मेडिकल कलेजका अनुसार नेपालको स्वास्थ्य क्षेत्र अत्यन्त प्रतिस्पर्धात्मक बन्दै गएको छ । बिरामीहरूको रोजाइमा सेवा गुणस्तर, प्रतिष्ठा र पहुँच मुख्य कारक हुन् । पछिल्ला वर्षहरूमा सरकारी अस्पतालहरूको पूर्वाधार सुधार भएसँगै निजी अस्पताल तथा चिकित्सा कलेजहरूमा मूल्य दबाब बढेको जनाएको छ । नेपालमा चिकित्सा शिक्षासम्बन्धी नियामक चुनौतीहरू पनि कायमै छन् । शुल्क निर्धारणमा सीमित लचकता, कडा मापदण्ड र एमबीबीएस सीटको वार्षिक निर्धारणमा अनिश्चितता यसका प्रमुख पक्ष हुन् । एमबीबीएसका १० प्रतिशत सीट छात्रवृत्तिका लागि छुट्याइएका छन् भने ५७ प्रतिशत राष्ट्रिय सीटको शुल्क मेडिकल एजुकेशन कमिसनले निर्धारण गर्छ । विदेशी विद्यार्थीका लागि ३३ प्रतिशत सीटमा भने कलेजले केही लचकता अपनाएको छ, जहाँ भर्ना दर सन्तोषजनक रहेको छ । विदेशी विद्यार्थीहरूको पूर्ण भर्ना कायम रहनु कम्पनीको राजस्व र नाफाका लागि महत्वपूर्ण मानिन्छ । यसै शैक्षिक वर्षदेखि एमबीबीएस सीट संख्या १०० बाट १२० पुगेको छ, जसले आगामी वर्षहरूमा राजस्वमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४ अर्ब ९२ करोड १० लाख रुपैयाँ दीर्घकालीन तथा ५७ करोड ९० लाख रुपैयाँ अल्पकालीन ऋण लिई कुल ५ अर्ब ५० करोड रुपैयाँ ऋण दायित्व वहन गरेको छ । यसअघि कम्पनीको कुल ऋण ४ अर्ब ५० करोड रुपैयाँ थियो । नेपाल मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा मेडिकल एजुकेसन आयोगबाट मान्यता प्राप्त यस कलेजले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आफ्नो शैक्षिक गुणस्तर कायम राख्दै आएको छ । यहाँ अन्तर्राष्ट्रिय रूपमा अनुभवी र दक्ष प्राध्यापकहरूको टोली कार्यरत रहेको छ, जसले चिकित्सा क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आएका छन् ।
ओम हस्पिटल अब २ सय शय्याको बन्ने, आम्दानी ८८ करोड, ऋण ५८.८५ करोड रुपैयाँ
काठमाडौं । चाबहिलस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले सन् २०२५ मा ८८ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६.१५ प्रतिशत अर्थात् ५ करोड १० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ८२ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसअघि सन् २०२३ मा ७२ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा ७० करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी भएको थियो । तीन दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको अस्पतालले मुख्यतया गाइनेकोलोजी सेवाबाट आम्दानी वृद्धि गरेको जनाएको छ। सन् १९९५ डिसेम्बरमा स्थापना भएको ओम अस्पतालले १७५ शय्याको पूर्ण सेवा सुविधासहित विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ। अस्पतालले सामान्य उपचारदेखि जटिल शल्यक्रिया र परीक्षण सेवासम्म प्रदान गर्दै आएको छ। २४ सै घण्टा आकस्मिक सेवा, आईसीयू तथा क्रिटिकल केयर सुविधा उपलब्ध रहेको अस्पतालले विभिन्न प्रमुख विधामा ओपीडी र आईपीडी सेवा सञ्चालन गरिरहेको छ। ओम अस्पताल अन्तर्गत आईभीएफ, डायलाइसिस, अन्कोलोजी, इमेजिङ तथा प्रयोगशाला सेवा, फिजियोथेरापी, वेलनेस तथा निवारक क्लिनिकहरू सञ्चालनमा छन् । कम्पनीका प्रमुख सेयरधनीमा भोलाप्रसाद रिजालको ५.८५ प्रतिशत र विजय मल्लको ५.०९ प्रतिशत सेयर स्वामित्व रहेको छ। अस्पतालको अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ रहेका छन्, जो नेपालका अग्रणी रेडियोलोजिस्टमध्ये एक हुन् । सञ्चालक समितिमा प्रमुख विशेषज्ञ चिकित्सकहरू र अनुभवी व्यवसायीहरू रहेका छन् । व्यवस्थापकीय नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) यम बहादुर महतले गर्दै आएका छन् । बढ्दो प्रति व्यक्ति आम्दानी, स्वास्थ्य बिमा पहुँच विस्तार, गुणस्तरीय स्वास्थ्य सेवाप्रति बढ्दो जागरूकता, प्रविधिमा सुधार र जीवनशैलीसँग सम्बन्धित रोगहरूको वृद्धिले व्यवस्थित स्वास्थ्य सेवाको मागलाई प्रोत्साहन गरेको अस्पतालले जनाएको छ। अस्पतालले घना बस्ती भएको काठमाडौं उपत्यकामा रणनीतिक रूपमा अवस्थित मल्टी-स्पेशलिटी संरचना मार्फत निरन्तर बिरामी आकर्षित गरिरहेको छ, जसले थप आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ। यससँगै हाल १७५ शय्याको अस्पताललाई विस्तार गर्दै २ सय शय्यामा पुर्याउने योजना बनाइएको छ । कुल ८ हजार ५५४.१९ वर्ग मिटर जग्गा क्षेत्रफलमा जम्मा १० हजार ४२३.२२ वर्ग मिटर बुल्ट अप एरिया भएको २०० शय्याको ओम हस्पिटल एन्ड रिसर्च सेन्टर सञ्चालन गर्न लागिएको हाे । अस्पतालले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४२ करोड ८५ लाख रुपैयाँ दीर्घकालीन र १६ करोड रुपैयाँ अल्पकालीन गरी कुल ५८ करोड ८५ लाख रुपैयाँ ऋण लिएको छ।
सम्भावित नयाँ रोगको सामना गर्न सरकार एकीकृत रूपमा अगाडि बढिरहेको छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको सामना गर्न सरकार एकीकृत रूपमा अगाडि बढिरहेको बताएकी छन् । विश्व स्वास्थ्य दिवसका अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले सरकार जलवायु परिवर्तनका चुनौती र नयाँ-नयाँ रोगहरूको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेको बताएकी हुन् । मन्त्री मेहताले मानिस र पशुपन्छीको स्वास्थ्य वातावरणसँग अभिन्न रूपमा जोडिएको उल्लेख गर्दै प्रकृति सुरक्षित र पशुपन्छी स्वस्थ नरहेसम्म मानिस पनि पूर्ण रूपमा स्वस्थ रहन नसक्ने बताइन् । उनले सबै प्राणी जगत् र पर्यावरणको रक्षा गर्नु नै स्वास्थ्यको वास्तविक मर्म रहेको उल्लेख गरिन् । ‘सरकारले राष्ट्रिय एक स्वास्थ्य रणनीतिमार्फत स्वास्थ्य, पशु र वातावरण क्षेत्रबीचको सहकार्यलाई स्थानीय तहसम्म सुदृढ बनाउँदै लगेको छ’, मन्त्री मेहताले भनिन् ‘त्यसैले यो सबै कुरालाई मध्यनजर गरी सरसफाइलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाऔँ, स्वस्थकर जीवनशैली अपनाउन लागौँ ।’ उनले विज्ञानमा विश्वास गर्न, खोप लगाउन र नियमित स्वास्थ्य जाँच गराउन तथा चिकित्सकको सल्लाहअनुसार मात्र औषधिको प्रयोग गर्न पनि सबैमा आग्रह गरिन् । आज विश्व स्वास्थ्य दिवस ‘मानव, पशुपन्छी र पर्यावरणको हितस विज्ञान र एक स्वास्थ्य हाम्रो जित’ भन्ने नाराका साथ मनाइएको छ ।