एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशतसम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले धनगढीमा रहेको कैलाली हस्पिटलमा स्वास्थ्य उपचार गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो । सम्झौताअनुसार, बैंकका ग्राहकले हस्पिटलमा उपलब्ध विभिन्न सेवामा छुट सुविधा प्राप्त गर्न सक्नेछन् । उक्त सुविधा लिनका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप प्रयोग गरी डिजिटल भुक्तानी गर्नुपर्नेछ । बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष लाभ दिलाउने मात्र नभई डिजिटल भुक्तानी प्रवद्र्धनमा समेत योगदान पुर्याउनेछ । नगदरहित कारोबारलाई अघि बढाउँदै, यस कदमले डिजिटल वित्तीय कारोबारको संस्कृति विस्तार गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
माछापुच्छ्रे पोलीक्लिनिक र प्रभु बैंकबीच सम्झौता, ग्राहकलाई स्वास्थ्य सेवामा छुट
काठमाडौं । पोखरा महानगरपालिका–२७, तालचोकस्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिकर प्रभु बैंक लिमिटेडबीच स्वास्थ्य सेवा सुविधामा छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूको परिवारजन र बैंकका ग्राहकहरूले माछापुच्छ्रे पोलीक्लिनिकमा उपलब्ध स्वास्थ्य सेवामा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौतापत्रमा माछापुच्छ्रे पोलीक्लिनिक तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक भावना भण्डारी तथा प्रभु बैंक तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले संयुक्त हस्ताक्षर गरेका छन्।
नेपाल रुबेलामुक्त देश
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई रुबेलामुक्त भएको देशका रूपमा घोषणा गरेको छ । योसँगै नेपाल रुबेला उन्मुलन गर्ने विशिष्ट देशहरूको सूचीमा सामेल भएको छ । भुटान, उत्तर कोरिया, माल्दिभ्स र तिमोर लेस्टे योभन्दा अगाडि नै रुबेला मुक्त भइसकेका छन् । नेपाल दिक्षणपूर्वी एशियामा छैटौं देशका रूपमा रुबेला मुक्त घोषणा भएको डब्ल्यूएचओले जनाएको छ । नेपालले सन २०१८ मै रुबेला र जन्मजात रुबेलाका लक्षणलाई नियन्त्रणमा ल्याइसकेको थियो । सन २०१२ मा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी खोप अभियान सुरु गरेको थियो । सन् २०१६ मा नियमित तालिकामा रुबेला खोपको दोस्रो मात्रा थप गरिएको थियो । त्यसपछि सरकारले नियमित रूपमा खोप कार्यक्रम अगाडि बढाएको थियो । जसको परिणाम सन् २०२४ मा नेपालले कम्तीमा एकमात्र रुबेला खोपको ९५ प्रतिशत भन्दा बढीले खोप पाएका थिए । नेपालले सन २००४ देखि नै रुबेला रोकथामका लागि काम गरेको थियो । नेपालले कार्यक्रम सुरु गरेको २१ वर्षपछि सफलता हात पारेको छ । के हो रुबेला ? रुबेला संक्रामक रोग हो । यसलाई जर्मन मिजल्स पनि भनिन्छ । चाँडै महामारीको रूपमा फैलने यो रोग पहिले पहिले नेपालमा डरलाग्दो रोगका रूपमा देखिने गर्थ्यो । विशेषगरी यो रोग पाँच वर्षमुनिका बालबालिकामा देखा पर्छ । भाइरस शरीरमा गएको छोटो समयमा छालामा रातो बिबिरा देखिने ज्वरो आउने हुन्छ । एक पटक दादुरा संक्रमण भएको व्यक्तिमा अर्को पटक यो रोग लाग्दैन । धेरै वर्ष पहिले महामारीको रुपमा देखिने यो रोग पछिल्ला केही समयमा निकै कम हुँदै गएको छ । यो रोग बिरामीले खोक्दा हाच्छयुँ गर्दा श्वासप्रश्वासबाट सर्ने गर्छ । यो रोग लाग्दा आँखा रातो हुने, शरीरमा बिमीरा आउने,हल्का ज्वरो आउने, आँसु बग्ने हुन्छ । यो रोग गर्भवती महिलाका लागि निकै गम्भीर मानिन्छ । किनकि यसले गर्भपतन, मृत शिशु जन्म वा जीवनभर असर गर्ने गम्भीर जन्मजात विकृति ल्याउन सक्छ।