डेंगुको लक्षण र उपचार विधि
डेंगु इजिप्टी प्रजातीको पोथी लामखुट्टे एडिसको टोकाइबाट लाग्ने रोग हो । उक्त लामखुट्टेले टोकेको ४ देखि ७ दिनभित्र डेंगुको लक्षण देखा पर्दछ । डेंगु भएपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने तथा जोर्नी दुख्ने गर्छ । डेंगु भएपछि शरीरको प्लेटलेट्स द्रुत गतिमा घट्न थाल्छ । मानिसले प्लेटलेट्स बढ्छ भनेर विभिन्न चिजहरु खाने गरेका छन् । तर त्यसको प्रयोग गर्नुहुँदैन । प्लेट्सलेट २० हजारभन्दा कम भएमा तुरुन्त भर्ना भएर प्लेटलेट्स चढाउने पनि हुनसक्छ । यसमा बिरामीलाई तुरुन्तै अस्पतालमा भर्ना गर्नुपर्छ अन्यथा समयमै उपचार नपाउँदा बिरामीको ज्यान समेत जान सक्छ । डेंगुको लक्षण पहिचान गरेर मात्रै यसको उपचार गर्न सकिन्छ । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको पाईन्छ । डेंगुको लक्षणहरू १. उच्च ज्वरो आउनु २. टाउको दुख्नु ३. आँखा दुख्नु ४. मांसपेशी र जोर्नी दुख्नु ५. थकाई लग्नु ६. वाकवाकी लाग्नु वा वान्ता हुनु ७. छालामा रातो दागहरू देखा पर्नु ८. पेट दुख्ने ९. गिजा वा नाकबाट रगत बग्ने १०. सास फेर्न गाह्रो हुनु ११. चिडचिडापन हुनु यद्यपि, गम्भीर अवस्थामा (डेंगु हेमोरेजिक ज्वरो) को जोखिम बढ्ने गर्दछ । यस्तो अवस्थामा रक्तनलीमा क्षति पुग्ने र शरिरबाट प्लेटलेट्स कम हुँदै जान्छ । डेंगु पत्ता लगाउनका लागि रगत जाँच गर्नुपर्छ । रातो रगत सेतो रगतको मात्रा हेर्ने गर्नुपर्छ । कलेजो (लिभल र किड्नीको फंसन) डेगेँको एन्टीजेन र एन्टीवडी चेक गर्नुपर्ने हुन्छ । डेंगुको उपचार डेंगुको कुनै खास औषधि वा सही उपचार उपलब्ध छैन । यस्तो अवस्थामा बढीभन्दा बढी पानी पिउनुपर्छ । अत्यन्तै गम्भीर अवस्थामा, रोगीलाई इलेक्ट्रोलाइट सप्लीमेंट दिनुपर्छ । केही अवस्थामा, ब्लड प्रेसर मोनिटरिंग र ब्लड ट्रांस्फ्यूजनमार्फत पनि उपचार गरिन्छ । डेँगु लामखुटेले टोकेर लाग्ने रोग भएको हुनाले लामखुटेलाई नै टोक्न नदिनु यसको प्रमुख रोकथाम हो । तसर्थ, झुल लगाएर सुत्ने, पुरा व्लाउज भएको कपडा लगाउने, धुप वाल्ने, पानी जम्ने खाडललाई नष्ट गर्नुपर्छ । डेंगुको रोकथाम १.जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने २.पूरै शरिर ढाक्ने लुगा लगाउने ३.साँझ हुनुभन्दा पहिले घरको झ्याल र ढोका बन्द गर्ने ४.पानी जम्मा गरेर नराख्ने ६.घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने उपचार डेंगु आँफै निको हुने रोग हो । यसको कुनै स्पेशल उपचार छैन । डेंगुमा देखिएको लक्षणको उपचार गर्ने हो । डेँगुमा विशेष गरी प्रशस्त मात्रामा पानी खानुपर्छ । ब्लडप्रेसर ध्यान दिएर जाँच गर्नुपर्छ । (डा. विनयकुमार रेग्मी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका जनरल फिजिसियन एवं वरिष्ठ वाथरोग विशेषज्ञ हुन् )
कोभिडका लागि बनेका बहुउद्देश्यीय भवन अब अस्पताल र विपद् उत्थानमा प्रयोग गरिँदै
काठमाडौं । सन् २०१९ अन्तिम ताका चीनको वुहान सहरमा पहिलोपटक देखा परेको कोरोना भाइरसले छोटो समयमै विश्वभर महामारीको रूप लिएको थियो । कोरोना महामारीसँगै यसको सङ्क्रमण रोक्न थुप्रै पूर्वाधारसँगै क्वारेन्टिनका लागि विभिन्न भवनहरू निर्माण गरिएका थिए । वैश्विक कोरोना महामारी सकिएपछि त्यस्ता बहुउद्देश्यीय क्वारेन्टिन भवनहरूलाई अस्पताल तथा विपद् उत्थानमा उपयोग गर्न थालनी गरिएको छ । नेपालमा सङ्घीय सरकारअन्तर्गतको ‘मझौला तथा साना सहरमा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य सेवामार्फत कोभिड–१९ रोकथाम तथा नियन्त्रण आयोजना’ले निर्माण गरेका बहुउद्देश्यीय भवनहरूमा सो कार्यको थालनी गरिएको छ । कतिपय भवन विपद् प्रतिकार्य तथा आश्रयस्थल समेत उपयोग हुन थालेका छन् । एसियाली विकास बैंक (एडिबी) र नेपाल सरकारको पहलमा ‘समृद्ध र उत्थानशील एसिया प्यासिफिकका लागि जापान कोष (जेएफपीआर)बाट सञ्चालित उक्त परियोजनाअन्तर्गत मुलुकका विभिन्न १५ पालिकामा २० बहुउद्देश्यीय भवन निर्माण गरिएका थिए । स्थानीय तहलाई हस्तान्तरण गरिएका अधिकांश भवन स्वास्थ्य केन्द्रका रूपमा र विपद् आश्रयस्थलका रूपमा उपयोग गर्ने कार्यको सुरुआत भएको आयोजना उपप्रमुख मनिना वैद्यले जानकारी गराए । भरतपुर र वीरगञ्ज महानगरपालिका तथा बुटवल, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाका साथै भीमदत्त, टीकापुर, गुर्भाकोट, विदुर, सूर्यविनायक, लालबन्दी, बराहक्षेत्र र मेची नगरपालिका एवं राप्ती गाउँपालिकामा ती भवनहरू निर्माण गरिएका छन् । कोभिड–१९ को महामारीका बेला क्वारेन्टिनको अभाव पूर्ति गर्न निर्माण गरिएका त्यस्ता भवन हाल कतिपय पालिकाले खोप केन्द्र, स्वास्थ्य ल्याब, उपचार आकस्मिक कक्ष तथा अन्य विपद्उत्थानलगायत कार्यमा उपयोग गर्न थालनी गरिएको उपप्रमुख वैद्यले बताए । सबै बहुउद्देश्यीय भवनमा अक्सिजनको सुविधासहित कुल ३२० श्यया छन् भने महिला र पुरुष छुट्टाछुट्टै वार्ड तथा अपाङ्गतामैत्री रहेका उनले बताए । भवनमा प्रशासनिक, चिकित्सकीय, नर्सिङ कक्ष तथा स्टोर रुम समेत रहेका छन् । उनका अनुसार बहुउद्देश्यीय भवनबाहेक महिला र पुरुष तथा तथा अपाङ्गमैत्री सुविधासहितका ३० घुम्ती शौचालयसमेतको व्यवस्था गरिएको छ । साथै १२८ ‘ह्याण्ड वासिङ स्टेसन’, १३० स्थानमा स्वास्थ्य केन्द्रमा हेल्थ डेस्कसम्बन्धी मेडिकल सामग्रीलगायतका पूर्वाधार निर्माण गरिएको छ । टीकापुर नगरपालिकाले त्यहाँस्थित बहुउद्देश्यीय भवनमा सिकलसेल रोगको उपचार र तथा रोकथाम केन्द्र स्थापना गरी सेवा थालनी अघि बढाएको छ । टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौंरा थारुले आवश्यक पूर्वाधारसहित तयारी अवस्थामा प्राप्त सो भवनमा जनशक्ति राखेर सेवा सुचारु गर्ने काम अन्तिम चरणमा पुगेको बताए । विशेषतः थारु जतिमा मात्र लाग्ने सिकलसेल रोग दाङदेखि कञ्चनपुरसम्मका थारु जातिमा देखिएको छ । स्वास्थ्य प्रयोजनका लागि बनेको भवन भएकाले उपचार केन्द्र बनाउन सहज भएको जानकारी दिँदै उनले भने, 'हामीलाई हस्तान्तरण भएपछि जनशक्ति र व्यवस्थापन गरेर सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा अघि बढाएका छौँ, हामीले उपचारका साथै यो रोग किन र कसरी लाग्छ, तथा लाग्नै नदिले सचेतना गतिविधि पनि गर्ने योजनाका साथ काम अघि बढाएका छौँ ।' यो रोग नियन्त्रणमा सङ्घीय सरकारको खास ध्यान जान नसकेको गुनासो गर्दै नगर प्रमुख थारुले हाल टीकापुर क्षेत्रका लागि मात्रै यो उपचार केन्द्र भए पनि आगामी दिनमा विस्तार गर्दै लैजाने योजना रहेको सुनाए । यस रोगमा खासगरी रगतको अभाव हुने समस्या बढी देखिएको छ । कोरोना महामारीको सिकाइले १५ सहरका निर्माण गरिएका २० बहुउद्देश्यीय भवनमा ३२० श्ययाका अस्पताल तयार गरिएका हुन् । सङ्घीय सरकारअन्तर्गत सन् १८ अगष्ट २०२१ बाट सुरु भएको उक्त परियोनजामा आगामी सेप्टेम्बरमा सम्पन्न हुन लागेको छ । आयोजनाको यो कार्यले पूर्वाधारको कमी भएका सहरमा व्यवस्था गरिएका यी पूर्वाधारले सहरको परिचय दिने मापदण्ड पूरा गर्नसमेत योगदान दिएको आयोजनाको भनाइ छ । कोभिडसँगै भविष्यमा आइपर्ने सङ्क्रमक रोगसँग लड्न तथा विपद् उत्थानशीलरप्रतिरोधी संरचना र सरसफाइ स्वच्छता र स्वास्थ्य संरचनाको प्रवर्द्धन गरी समुदायलाई उत्थानशील बनाउन पहल गर्ने आयोजनाको उद्देश्य रहेको छ । त्यस्तै खानेपानी संस्था र पालिकाको उत्थानशील क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने तथा सङ्क्रामक रोगहरूसँग लड्न जनचेतना अभिवृद्धि गर्ने समेत आयोजनाको उद्देश्य रहेको छ । उक्त संस्थाबाट करिब रु ६५ करोड अनुदान र नेपाल सरकारका तर्फबाट उक्त रकमको करिब १० प्रतिशत रकम समेतबाट परियोजनाले सो कार्य गरेको हो । मेची नगरपालिकाले आफ्नो क्षेत्रमा रहेको बहुउद्देश्यीय भवनलाई विभिन्न समयमा देखिने कालाजारलगायत अन्य सङ्क्रामक रोगको उपचार तथा विपद्मा प्रयोग गर्न सुरु गरेको नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । आवश्यक पूर्वाधारसहितको उक्त भवनमा नगरपालिकाले हाल जनशक्ति व्यवस्थापन गरी प्रयोगमा ल्याएको उनले बताए । ती बहुउदेश्यीय भवनसँगै सहरी सरसफाइको अभिन्न अङ्गको रूपमा थप शौचालयको पनि विकास गर्ने कार्य भइरहेको जनाएको छ । आयोजनाले ती सहरमा हुने विभिन्न प्रकारका प्रकोपका बेला प्रयोग हुनसक्ने प्रकारका ३० वटा घुम्ती शौचालय पनि ती नगरहरूमा उपलब्ध गराएको छ । ट्याक्टरको सहायताले एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने, महिला तथा पुरूष लागि छुट्टाछुट्टै भाग रहेको, हात धुने सुविधायुक्त ती शौचालयहरू अहिले नगरहरूले विभिन्न मेला तथा भीडभाड हुने क्षेत्रहरूमा प्रयोग गरिरहेका छन् । सहरी सफाइका लागि सरकारले भरतपुर, मेचीनगर, टीकापुर र धनगढीका थप पाँच वटा जीर्ण शौचालयहरू मर्मत सुधार गरी अत्याधुनिक बनाएको छ । त्यसैगरी हाल बागलुङ, लमजुङ, बराहक्षेत्र (सुनसरी), सिराहा, पर्सा, कपिलवस्तु र काठमाडौँमा गरी थप १० अपाङ्गतामैत्री सुविधायुक्त सार्वजनिक शौचालयहरू पनि निर्माणको अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ । रासस
भरतपुर अस्पतालले बिमाको एक अर्ब प्राप्त गर्न बाँकी
चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत् प्राप्त गर्नुपर्ने रकम एक अर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्षको साउनदेखि हालसम्मको भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमै समस्या हुन थालेको हो । सङ्घीय सरकार मातहतको यस अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामी उपचार गराउन आउनेको सङ्ख्या उल्लेख्य हुने गर्दछ । अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम इञ्चार्ज लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षको ९० करोड रुपैयाँ भुक्तानी हुन बाँकी थियो । यस आर्थिक वर्षको साउनको मात्रै १० करोड रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ । गत आर्थिक वर्षमा चार लाख ४१ हजार ३०८ वटा फाइल दाबीका लागि पेस गरिएको छ । अस्पतालमा आउने ७० प्रतिशत बिरामी बिमाका हुने गर्दछन् । गत आर्थिक वर्षमा अस्पतालले अघिल्लो आर्थिक वर्षको ५५ करोड ५१ लाख ४४ हजार रुपैयाँ प्राप्त गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले बिमामार्फत् पाउनु पर्ने रकम निकासा नहुँदा कर्मचारीलाई तलब दिन कठिन भएको बताए । उनले भने, 'साउनको तलब बल्ल खुवाइयो, भदौको तलब खुवाउन सक्ने अवस्था छैन ।' अस्पतालका नियमित कामसमेत प्रभावित भएको भन्दै उहाँले बन्दै गरेको ट्रमा सेन्टर बजेटकै अभावमा रोकिएको बताए ।