८ कम्पनीमाथि छानबिन हुने, कर छली परीक्षण गरिँदै

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुर र बागलुङले गरी ८ जना करदातामाथि पुनः कर परीक्षण गर्ने भएको छ । भद्रपुर झापाका ३ र बागलुङका ५ करदाता गरी कुल ८ करदाताको कारोबारमाथि विस्तृत कर परीक्षण हुने भएको हो । 

भद्रपुरस्थित आन्तरिक राजस्व कार्यालयले रोहन निर्माण सेवा, ओम शिवम् ट्रेडर्स र ए.एस.एम. इन्टरनेशनललाई १५ दिनभित्र आवश्यक कागजात तथा विवरण पेश गर्न निर्देशन दिएको छ । कार्यालयका अनुसार मूल्य अभिवृद्धि करमा दर्ता रहेका करदाताको खरिद-बिक्री, आयात-निर्यात, डेबिट-क्रेडिट समायोजन, आय विवरण, खर्च, सम्पत्ति तथा दायित्वसँग सम्बन्धित सम्पूर्ण कागजात प्रमाणित गर्नुपर्नेछ ।

त्यस्तै, आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा देखिएको मिसम्याच विवरण, अग्रिम कर कट्टी तथा आशिकुडा अनुसारका आयात-निर्यात विवरण पनि प्रमाणित गर्नुपर्ने छ । तोकिएको समयभित्र कागजात पेश नगरेमा आयकर ऐन, २०५८ तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसार कर निर्धारण गरिने चेतावनी समेत दिइएको छ ।

यस्तै, बागलुङस्थित आन्तरिक राजस्व कार्यालयले १. धौलागिरी हार्डवेयर्स एण्ड सप्लायर्स, म्याग्दी रारा हार्डवेयर एण्ड कन्स्ट्रक्सन सप्लायर्स, कालिका भगवती सप्लायर्स, शान्ति सप्लायर्स र न्यु मुक्तिनाथ डार्डवेयर एण्ड सप्लायर्सको कारोबारमाथि पूर्ण कर परीक्षण गर्ने भएको हो । कार्यालयले पटक-पटक सम्पर्क प्रयास र पत्राचार गर्दा पनि आवश्यक कागजात तथा जवाफ प्राप्त नभएपछि पुनः कर परीक्षणको प्रक्रिया अघि बढाएको हो ।

कार्यालयका अनुसार सम्बन्धित करदाताले पहिले नै आयकर ऐन, २०५८ बमोजिमको पत्र बुझिसके पनि आवश्यक कागजात पेश नगरेको पाइएको छ । करदातालाई १५ दिनभित्र स्वयं वा अधिकार प्राप्त प्रतिनिधिमार्फत कार्यालयमा उपस्थित भई कागजात पेश गर्न निर्देशन दिइएको छ ।

Share News