काठमाडौं । जलवायु परिवर्तनका कारण प्रजनन स्वास्थ्यमा गम्भीर असर देखिन थालेको प्रजनन तथा आईभीएफ विशेषज्ञ डा. रश्मी श्रीशले बताएकी छन् । उनका अनुसार निःसन्तानपनका समस्यामध्ये करिब २० प्रतिशत केसमा जलवायु परिवर्तन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएको पाइएको छ ।
चीनमा गरिएको पछिल्लो अध्ययनलाई उद्धृत गर्दै उनले निःसन्तानपनमा जलवायु परिवर्तनको भूमिका उल्लेख्य रहेको बताइन् । उनका अनुसार विश्वका विभिन्न अनुसन्धानहरूले बढ्दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थको प्रभाव र प्लास्टिकजन्य सामग्रीको प्रयोगले महिला तथा पुरुष दुवैको प्रजनन क्षमतामा असर पारिरहेको देखाएका छन् ।
डा. श्रीशका अनुसार जलवायु परिवर्तनका कारण हुने मौसमी उतारचढावले मानिसमा तनाव, थकान र जीवनशैली परिवर्तन बढाउँदा यौन स्वास्थ्य र प्रजनन क्षमतामा समेत नकारात्मक असर पर्छ । साथै विपद्को समयमा समयमै स्वास्थ्य सेवा नपाउने अवस्थाले पनि समस्या झन् जटिल बनाउने उनको भनाइ छ ।
उनले महिलामा महिनावारी अनियमितता र छिटो मेनोपज हुने समस्या देखिन थालेको बताइन् भने पुरुषमा शुक्रकीटको संख्या र गुणस्तर घट्ने तथा डीएनए क्षति हुने जोखिम बढिरहेको उल्लेख गरिन् । उनका अनुसार विश्व तथ्यांकअनुसार प्रत्येक ६ दम्पतीमध्ये १ दम्पती निःसन्तानपनबाट प्रभावित छन्, र नेपालमा पनि सोही अनुपातमा समस्या देखिन थालेको अनुमान छ ।
डा. श्रीशले निःसन्तानपनलाई व्यक्तिगत समस्या मात्र नभई सार्वजनिक स्वास्थ्य (पब्लिक हेल्थ) को मुद्दाका रूपमा लिनुपर्नेमा जोड दिइन् । साथै जलवायु परिवर्तन र प्रजनन स्वास्थ्यबारे एकीकृत अध्ययन र नीति निर्माण आवश्यक रहेको उनको सुझाव छ ।