प्रधानमन्त्री कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल गएकी छन् ।   प्रधानमन्त्री कार्कीले मंगलबार तिलगङ्गा पुगी आँखाको नियमित जाँच गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । वरिष्ठ नेत्रविशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री कार्कीको आँखा जाँच गरेको अस्पताल व्यवस्थापनले जनाएको छ ।   आँखाको उपचारका क्रममा तीन महिनाअघि उनको मोतिबिन्दु (आँखाको नानीमा जालो पर्ने एक रोग) को शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री कार्कीको आँखाको शल्यक्रिया गरेपछि नियमित जाँचका क्रममा यहाँ आएको तिलगङ्गा अस्पताल व्यवस्थापनले स्पष्ट गरेको छ ।  

निजामती कर्मचारी अस्पतालमा घाइतेको उपचार हुँदै

काठमाडौं । नेपाल निजामती अस्पताल मीनभवनमा ‘जेनजी पुस्ता’ले गरेको आन्दोलनका क्रममा घाइतेको उपचार भइरहेको छ । हालसम्म यहाँ ४६१ जना उपचारका लागि पुगेका थिए । अस्पतालले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा घाइते भइ पुगेकामध्ये ४४ जनालाई उपचारका लागि अन्य अस्पताल ‘रिफर’ गरिएको र ३६६ जना सामान्य उपचारपछि घर फर्किका जनाएको छ । हाल अस्पतालमा नौ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । उपचारका क्रममा उक्त अस्पतालमा ६ जनाको ज्यान गएको थियो ।  

बीमा रकम दुरुपयोग गर्ने ३ कर्मचारी बर्खास्त, नाम गोप्य

काठमाडौं । कोशी अस्पतालको औषधि पसल (फार्मेसी)का कार्यरत ३ जना कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ । करार सेवाका ती कर्मचारीले स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको खुलेपछि सेवाबाट बर्खास्त गरिएको हो ।  बर्खास्त गरिएकामध्ये दुई फार्मेसी सहायक र एक जना कार्यालय सहयोगी छन् । अस्पताल प्रशासनले ती कर्मचारीका बारेमा थप अनुसन्धान गरिरहेको जनाउँदै नाम सार्वजनिक भने गरेको छैन । ती कर्मचारीले औषधि कम आपूर्ति गरी बढी रकम कट्टा गर्ने, चिकित्सकले नलेखेका महँगा औषधि देखाएर भुक्तानी गर्ने, बिरामीका नाममा ठूलो मात्रामा औषधि देखाउने जस्ता अनियमिततामा संलग्न भएको पाइएपछि सेवाबाट बर्खास्त गरिएको जनाइएको छ । मोरङका एक क्यान्सर पीडित बिरामीले उजुरी दिएपछि उपचार रकमको दुरुपयोगको घटना बाहिर आएको हो । अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा चिकित्सकले सात दिनका लागि औषधि लेखिदिँदा पनि ती बिरामीको बीमा खाताबाट एक महिनाको औषधि बराबर रकम कटाइएको थाहा पाएपछि ती बिरामीले अस्पताल प्रशासनमा उजुरी दिएका थिए । लिखित उजुरी प्राप्त भएपछि अस्पतालले छानबिन समिति गठन गरी अनुसन्धान गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झाले बताए ।  उनले भने, ‘हामीलाई पहिले पनि कतिपय बिरामीले बीमाको औषधि दुरुपयोगबारे गुनासो गरेका थिए, तर यसपटक लिखित उजुरी नै आयो, उजुरीमा उल्लेखित मात्र होइन, अघिपछि काटिएका बिलसमेत परीक्षण गर्दा अनियमितता पुष्टि भएपछि उनीहरूलाई बर्खास्त गरिएको हो ।’ अस्पताल प्रशासनले बर्खास्त गरिएका कर्मचारीको नाम सार्वजनिक नगरे पनि छानबिन समितिको प्रतिवेदनमा उनीहरूको प्रत्यक्ष संलग्नता प्रमाणित भएको उल्लेख छ । कोशी अस्पतालमा दैनिक करिब एक हजार बिरामी सेवा लिन आउँछन् । ती मध्ये आधाभन्दा बढी स्वास्थ्य बीमा सदस्य हुने गरेका छन् । बीमित बिरामीमध्ये सबैभन्दा धेरै दीर्घरोगका बिरामी छन् । अस्पतालको बीमा शाखाले उपलब्ध गराएको तथ्याङ्कअनुसार बीमित बिरामीमध्ये अधिकांश मेडिकल विभागमा उपचारका लागि पुग्ने गरेका छन् । आर्थिक वर्ष २०८१/८२को तथ्याङ्कका अनुसार अस्पतालमा उपचार सेवा लिन आएका ३ लाख १७ हजार ७१८ बिरामीमध्ये १ लाख २३ हजार ९८३ बिरामी स्वास्थ्य बीमामार्फत उपचार सेवा लिएका छन् । तीमध्ये उच्च रक्तचाप, दम, मधुमेह, ग्यास्ट्राइटिस, तल्लो पेट दुखाइलगायत रोगको उपचार गर्ने बिरामी धेरै छन् । मेडिसिन विभाग प्रमुख डा. दीपक सिग्देलका अनुसार हाल सबैभन्दा बढी देखिने उच्च रक्तचाप, दम, मधुमेह, मुटुरोग र मष्तिष्कसम्बन्धी समस्या रहेका छन् ।  उनले भने, ‘पहिलेको दिनमा पाको उमेरका मानिसलाई मात्र हुने यो रोग अहिले युवापुस्तामा पनि देखिन थालेका छन् । लामो समयसम्म औषधि खानुपर्ने रोग बढ्दै गएकाले बीमा सेवा लिनेको चाप दिनानुदिन बढिरहेको छ ।’