आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले बिहीबार स्वास्थ्य सचिव डा विकास देवकोटालाई बोलाएर तत्काल आन्दोलनरत नर्सहरूको समस्या समाधान गर्न निर्देशन दिएकी हुन् ।  स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारीमा रहेकी उनले आन्दोलनको विषय बुझेर तत्काल सम्बोधन हुने गरी कदम चाल्न र प्रगतिबारे जानकारी गराउन निर्देशन दिइन् ।      देशमा रहेका दक्ष जनशक्तिलाई अत्यन्तै न्यून पारिश्रमिक दिएर राखिनु उचित नभएकाले उनीहरुको समस्या समाधान नभए ठूलो जनशक्ति विदेश पलायन हुने जोखिम बढ्ने प्रधानमन्त्री कार्कीले बताइन् ।       स्वास्थ्य मन्त्रालयको निर्णय बमोजिम पाँचौँ तह बराबरको पारिश्रमिक पाउनु पर्ने माग राख्दै कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू आन्दोलनमा छन् । मन्त्रालयले गत मङ्सिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको पारिश्रमिक ३४ हजार ७३० रुपैयाँ हुनुपर्ने निर्णय गरेको थियो ।

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बीमामा सूचीकृत, सरकारी अस्पताल जाने बढ्दै

काठमाडौं । बागलुङ जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत भएका छन् । ती परिवारका १ लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष १ लाख २६ हजार बीमामा आबद्ध भएकामा हाल १५ हजार बढेर १ लाख ४१ हजार ५०९ जना पुगेका छन् । ९ वर्षअघि सुरु भएको स्वास्थ्य बीमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ ।  जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बीमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बीमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवाविन्दुमा थएिको स्वास्थ्य बीमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए ।  उनका अनुसार यसमा १ लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् ।  ‘स्वास्थ्य बीमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन् । क्रमशः स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढिरहेको छ,’ पौडेलले भने, ‘यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बीमा गर्न थालेका हुन् ।’ २ लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बीमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बीमा गर्न थालेको पौडेलको भनाइ छ । स्वास्थ्य बीमा कार्यक्रमअनुसार ५ जनासम्मको परिवारका सदस्यले वार्षिक ३ हजार ५०० रुपैयाँ तिर्नुपर्ने र ५ जनाभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रति सदस्य ७ सय रुपैयाँका दरले शुल्क बुझाइ एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यको वार्षिक १ लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बीमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बीमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताए । 

गुल्मीका ५१ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा

तम्घास । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमप्रति गुल्मीका नागरिकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रमको सुरुवात गरिएको थियो ।  जिल्लाका ५१.६५ प्रतिशत नागरिकमा स्वास्थ्य बिमा पहुँचमा पुगेको छ । २०७८ सालको जनगणनाअनुसार जिल्लामा कूल दुई लाख ४६ हजार आठ सय ३६ जनसङ्ख्या रहेकोमा एक लाख २७ हजार तीन सय ५५ जनाले स्वास्थ्य बिमा गराएका छन् । जसमा महिला ६५ हजार छ सय ६६ र पुरुष ६१ हजार छ सय ८९ जना रहेका छन् ।  सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका २४ हजार पाँच सय ४१ जनाले स्वास्थ्य बिमा गराएका छन् । त्यसैगरी चन्द्रकोटका छ हजार चार सय, छत्रकोटका १२ हजार दुई सय ६३, धुर्कोटका १० हजार तीन सय पाँच, गुल्मी दरबारका १० हजार दुई सय १०, इस्माका सात हजार तीन सय ५० नागरिकले स्वास्थ्य बीमा गराएका छन् ।  त्यसैगरी, कालीगण्डकीका छ हजार सात सय तीन, मदानेका तीन हजार छ सय ७६, मालिकाका आठ हजार एक सय ९९, मुसीकोटका सात हजार आठ सय ४१, रुरुक्षेत्रका १४ हजार ८५ तथा सत्यवतीका १५ हजार सात सय ८२ नागरिकले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्ड गुल्मीका प्रमुख सुवास घिमिरेले जानकारी दिए ।  जिल्लामा हालसम्म शुल्क लाग्ने साधारण समूहतर्फ २१ हजार ३३ परिवारका एक हजार पाँच सय २४ परिवार र ५० प्रतिशत छुटमा आठ सय ८३ महिला स्वास्थ्य स्वयंसेविकाका परिवारका चार हजार छ सय दुई जनाले स्वास्थ्य बीमा गराएका छन्।  सरकारले ज्येष्ठ नागरिक, अपाङ्ग एवं विभिन्न रोग लागेकाहरूको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा पनि गराइदिएको छ । जसमा १७ हजार सात सय १२ ज्येष्ठ नागरिक निःशुल्क बीमाको पहुँचमा आएका छन् ।  ‘क’ वर्गका अपाङ्गतर्फ सात सय ९३ परिवारका तीन हजार नौ सय ९९ जना, एचआइभी एड्स सङ्क्रमित एक सय ६६ परिवारका चार सय ८२ जना, कुष्ठरोगीका तीन परिवारका १२ जना तथा एमडीआर टिबीका छ परिवारका २५ जनाको पनि निःशुल्क स्वास्थ्य बीमा गराइएको स्वास्थ्य बीमा बोर्ड गुल्मीका प्रमुख घिमिरेले बताए। गुल्मीमा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको थियो । सरकारले तीन हजार पाँच सयमा एक परिवारका पाँच सदस्यसम्मको बीमा गर्दछ । जसमा एक लाख बराबरको औषधि–उपचार निःशुल्क प्राप्त गर्दछन् ।  त्यसैगरी, परिवार सङ्ख्या पाँचभन्दा बढी भएमा प्रतिव्यक्ति ७ सयका दरले प्रथम बीमा शुल्कमा थपिँदै जाने र सो रकमले २० हजार उपचार खर्च प्राप्त हुने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।