काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नारायण बाबुलोहोनीले संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
बालबालिकालाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको केआईओसीएच हाल नेपालमै आधुनिक बहुविशेषज्ञ (मल्टी–स्पेसियालिटी) बाल अस्पताल निर्माणको प्रक्रियामा रहेको छ । अस्पतालले बाल हृदयरोग, क्यान्सर उपचार, मानसिक स्वास्थ्य तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको जनाएको छ ।
रिलायबल नेपाल लाइफले उक्त सहयोगबाट बाल स्वास्थ्य सेवाको पहुँच विस्तार, आवश्यक पूर्वाधार विकास तथा भविष्यमा हजारौं बालबालिका र उनीहरूका परिवारलाई लाभ पुग्ने विश्वास व्यक्त गरेको छ ।
कम्पनीले स्वास्थ्य, शिक्षा तथा सामाजिक क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।